मुखमा घाउ आयो? के गर्ने?

विदुर खबर २०७६ असार १२ गते १:४२

प्रश्न: मेरो मुखमा घाउ आएको करिब २ वर्ष हुन लाग्यो। कुखुराके मासु खाँदा घाउ एकदमै बढ्छ र मुखको वरिपरि रगत जम्छ। मैले काठमाडौंमा सिभिल अस्पतालमा देखाएको थिएँ र मुसा भएको शंका लागेर बायोप्सी पनि गराएको थिएँ। रिपोर्टबाट मुसा नभएको पुष्टि भयो। तर  यही कारणले मुखमा घाउ भएको हो भन्ने पत्ता लगाउन नसकेपछि मलाई औषधि दिएर पठाइयो। औषधि खाए पनि घाउ निको हुनुको साटो झन् बल्झिँदै गएको छ।

Advertisement

सिभिल अस्पतालपछि मैले काठमाडौं मेडिकल कलेज सिनामंगलमा पनि देखाएँ। त्यहा पनि सामान्य घाउ भएको बताइयो र औषधि दिएर पठाइयो। मैले ओरोहिल र डेल्टाजेल मुखमा धेरै लगाएँ। यी दुई अस्पतालसँगै प्राइभेट अस्पतालको पनि औषधि प्रयोग गरें। एक प्राइभेट अस्पतालको औषधिले घाउलाई सुकाएको थियो। तर औषधि सकिएपछि फेरि देखिन थाल्यो। हाल म रोजगारीको सिलसिलामा युएईमा छु र पुनः समस्या दोहोरिएको छ। के गर्दा ठिक होला?

डा प्रकाश बुढाथोकीको उत्तर:
प्रश्नका लागि धन्यवाद,
हजुर कामका सिलसिलामा विदेशमा रहनुभएको रहेछ। मुखमा घाउखटिरा पुनः बल्झेकोमा सचेत हुनु भएकोमा धन्यवाद। प्रश्नमा घाउको चित्र, पूर्जा, समय, घाउको प्रकार, बढाउने र घटाउने तत्वहरुका बारेमा प्रष्ट नभएकाले समष्टिगत रुपमा संक्षेपमा समाधान गर्दैछु । विस्तृत लेखका रुपमा पछि यही पत्रिकामा प्रकाशित गर्नेछु।

Advertisement

तपाईंको मुखमा आएको वा आउनेजाने गरिरहेको कुन प्रकारको घाउ हो स्पष्ट भएन। तपाईंको मुखमा आएको घाउ कारण पत्ता नलागेको र लाक्षणिक रुपमा मात्र उपचार भएको देखिन्छ। तसर्थ सबै सेवा र विशेषज्ञ उपलब्ध भएको स्वास्थ्य संस्थामा गएर कारण पत्ता लगाई उपचार लिन सुझाव दिन चाहन्छु।

मुखमा प्रायः दोहोरिएर आउने घाउ केही संक्रमण जस्तै विषाणु, किटाणु, जिवाणुको संक्रमण, केही भिटामिनको कमी, केही पोषक तत्वको कमीले हुन्छ भने प्राय कामको धपेडी,पानीको कमी,ज्वरो,भाडापखाला,परीक्षाको समय जस्ता स्ट्रेस र स्ट्रेनले भएको पाइन्छ।

Advertisement

पटकपटक देखिने अप्थस अल्सर आधाजसो वंशाणुगत कारण तर खानपान र जीवनशैलीले उत्पन्न गराउने गर्छ। तर कुखुराको मासु खाँदा रगत आउने र आकार बढ्ने भनेकाले कही यो म्युकोसिल हो कि भन्ने शंका लाग्यो। यदि फोकाको रुपमा बढ्ने, रगत आउने र फुटेर घाउ बन्ने गरेको हो भन्ने उक्त फोका जरैदेखि काटेर फ्याँक्नुपर्छ। अर्काे केही खाना चपाउँदा बढ्ने र दुख्ने हो भने स्टोन पनि हुनसक्छ, जसका लागि समेत शल्यक्रिया जरुरी पर्नसक्छ।

यदि घाउ पटकपटक आउने तर एकदुई हप्तामा आफैं जाने गरेको छ भने एप्थस अल्सर हुनसक्छ। तथापि एकपटक आएर लामो समय रहने गरेको छ र उपचार गर्दागर्दै पनि रहिरहेको छ भने मुखको क्यान्सर हो कि भनेर विशेषज्ञसँग सरसल्लाह लिन जरुरी हुन्छ।

खतराका चिह्नमा निम्न पर्छन्, जसमा क्यान्सरको शंका गरी निदानका लागि बायोप्सी नै गर्न जरुरी रहन्छ।
– म्युकोसामा रंङ परिवर्तन, दाग, धब्बा, पत्र हुनु
– २ हप्ता बढीसम्म घाउ निको नहुनु
– घाउमा रेशादार रौंहरु देखिनु
– सुपारी सेवनबाट म्युकोसा पूरै सेतो हुने
– घाउमा देखिनेगरी मासु बढेको देखिनु
– लगातार रगत बगिरहनु
– बिना कारण स्वाद र स्पर्शमा परिवर्तन

व्यवस्थापन 
– अल्सर भएका बेला मसालेदार, तातो, चिसो र पिरो खाना खानुहुँदैन।
– पानी तथा झोलीय पदार्थ जतिसक्दो धेरै पिउनुपर्छ।
– नियमित रुपमा मनतातो नुनपानीले पटकपटक कुल्ला गर्नुपर्छ।
– दैनिक दुई पटक दाँत तथा मुखको नरम ब्रस र फ्लोरिडेटेड दन्तमन्जनले सरसफाई गर्नुपर्छ र अन्य समयमा केही खानासाथ सफा पानीले कुल्ला गर्नुपर्छ।
– दुखाइ कम गर्नका लागि बेन्जोकेन, क्लोरोहेक्जिडिन जस्ता एन्टिसेप्टिक जेल विशेषत केही खानु पाँच मिनेटअघि लगाई खाना खाँदा दुखाइ नभई खान सजिलो हुने तथा घाउ निको हुन्छ।
– दुखाइ बढी भए कम गर्ने औषधि खान सकिन्छ।

प्रतिक्रिया