नुवाकोटे खेलकुद, ईच्छाशक्तिले भरिपूर्ण नेतृत्व र खेल पर्यटनका कुरा

विदुर खबर २०७६ असार ७ गते १४:०४
शिव देबकोटा

                                      शिव देबकोटा

नुवाकोट असार ७, पछिल्लो समय नुवाकोटमा एकपछि अर्को गर्दे राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता भईरहेका छन् भने नुवाकोटका खेलाडीहरुको सहभागिताको क्रम समेत बढिरहेको छ ।

सबै प्रतियोगिताहरुको सफल आयोजना गरेर नुवाकोटले उत्कृष्ट खेल गन्तब्यका रुपमा समेत आफूलाई उभ्याएको छ । दोस्रो नुवाकोट गोल्डकपको सफल आयोजना संगै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले केही अन्तराष्ट्रिय प्रतियोगिताहरुको प्रशिक्षण बट्टारको खेल मैदानमा हुने घोषणा गरेसंगै यहाँको खेल क्षेत्र उत्साहित बनेको छ । नुवाकोटमा तेक्वान्दोको सुबिधासम्पन्न कभर्डहल संचालनमा छ भने अव कोलोनीमा अर्को ब्यवस्थित कभर्डहल निर्माण हुने चरणमा छ । बट्टारको खेलमैदानले राष्ट्रिय रुपमै अब्बल रहेको चर्चा पाईरहँदा पिपलटारमा रंगशाला निर्माणको प्रकृया सुरु गरिएको छ । यस्तै त्रिशूली स्कूलको मैदानलाई ब्यवस्थित बनाईदैछ भने बट्टार क्षेत्रमा क्रिकेट खेल मैदानको संभाब्यता हेरिएको छ । यसैगरी नुवाकोट गोल्डकप र उपमेयरकप राष्ट्रिय भलिवलको निरन्तरता त छँदैछ साथसाथै मेयरकप फुटबल मार्फत आगामी दिनमा बिदुर नगरका सबै वडाबाट उत्कृष्ट खेल प्रतिभाहरु पहिचान गर्ने महत्वपूर्ण कार्यको थालनी गरिँदैछ । नुवाकोटमा ०७५ र ०७६ को सुरुवातसम्म आईपुग्दा तेक्वान्दो, कराँते र पुरुष फुटबलका प्रदेशस्तरीय प्रतिस्पर्धाहरु सफलतासाथ सम्पन्न भएसंगै राष्ट्रिय खेलकुद परिषद्को नजर समेत यहाँ परिसकेको छ । समग्र खेल गतिबिधिहरुको यथार्थ बिश्लेषण गर्दा लाग्छ यो ५ बर्षमा अरु बिषयमा खासै केही नभएपनि खेलकुद क्षेत्रमा भने ऐतिहासिक उपलब्धिहरु हासिल हुने निश्चित छ ।

नुवाकोटले छोटो समयमै खेल क्षेत्रमा यसरी प्रगति गर्नुका पछाडि धेरै कारणहरु छन् र ती कारणहरु मध्येको प्रमुख हो जिल्ला खेलकुद बिकास समितिको नेतृत्व र सहयोगी खेलसंघहरु । जव खेलकुद बिकास समितिको नेतृत्वमा बट्टारका बुद्धिबहादुर प्रधान आए त्यसपछि खेल गतिबिधिहरुले ब्यापकता पाउन थाले भन्न हिच्किचाउनुपर्ने अवस्था छैन । नेतृत्वमा रहँदा समेत यहाँको खेल क्षेत्रलाई औधी माया गर्ने ब्यक्तित्व बनाएका प्रधानले आफ्नो राजनीतिक आस्थालाई एकातिर पन्छाएर सबैलाई साथमा लिएर खेल क्षेत्रको बिकासमा आफूलाई समर्पित गराए । यसकै उपजस्वरुप जिल्ला लिगमा मात्र सीमित देखिएको नुवाकोट जिल्ला फुटबल संघ पहिलो नुवाकोट गोल्डकप आयोजना गर्न अग्रसर भयो भने प्रधानको राजनीतिक उचाई र समन्वयकारी भूमिकाले काम गर्दा बिदुर नगरपालिका र अन्य स्थानीय तहहरु गोल्डकपसंग जोडिन पुगे । साथसाथै जिल्लामा क्रियाशिल कराँते, भलिवल, क्रिकेट र तेक्वान्दो संघका नेतृत्वमा रहेकाहरुबिचको निरन्तरको सहकार्यले नुवाकोट आज सबै खेल र खेलाडीहरुका लागि उत्कृष्ट खेल गन्तब्य बन्ने अवस्थामा पुगेको छ ।

राजधानी संग नजिक रहेको जिल्ला उत्कृष्ट खेल गन्तब्यका रुपमा बिकसित हुन सक्यो भने त्यसबाट समग्र जिल्लाको धेरै पक्षमा प्रभाव पर्ने निश्चित छ । राजधानीको कोलाहलबाट टाढा खेलाडीहरुलाई प्रशिक्षण गर्ने उपयुक्त अवसर प्रदान गर्ने देखि यहाँको वातावरणले नतिजा प्राप्तिका लागि समेत भूमिका खेल्छ भन्ने बनाउन सकियो भने त्यसबाट यहाँको समग्र पक्षमा सकारात्मक प्रभाव पर्ने निश्चित छ । एउटा राष्ट्रिय खेल संचालन गर्दा यहाँ हुने आर्थिक गतिबिधिहरुले समग्र जिल्लाकै आर्थिक बिकासमा महत्वपूर्ण योगदान पुग्ने निश्चित देखिएको छ भने त्यस्ता खेल गतिबिधिहरुबाट स्थानीयस्तरमा रहेका खेल प्रतिभाहरुले प्रष्फुटित हुने अवसर समेत पाउने निश्चित छ । तसर्थ अव नुवाकोटमा देखिएको खेल पर्यटनको संभावनालाई सार्थकतामा परिणत गर्न स्थानीय बिकासको जिम्मा लिएर बसेका स्थानीय तहहरुको सबैभन्दा बढी भूमिका अपेक्षित छ भने सरोकारवाला सबै पक्षले यसमा आफ्नो ऐक्यबद्धता प्रदर्शन गर्दे खेल पर्यटन प्रबद्र्धन मार्फत जिल्लाको समग्र बिकासमा योगदान पु¥याउने ईच्छाशक्ति प्रदर्शन गर्नु जरुरी छ ।

अन्त्यमा , सबै सकारात्मक कुराहरु भित्र केही नकारात्मकता पनि छिपेको हुनसक्छ भन्नेमा खेल नेतृत्वको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ । जसरी उत्कृष्ट खेलहरुको भब्य र सफल आयोजनाबाट खेल नेतृत्वले वाहवाही पाईरहेको छ त्यसैगरी कुनै पनि खेल संचालनभित्रका आर्थिक पाटोहरु पारदर्शी नहुँदा आलोचित हुने अवस्था पनि त्यत्तिकै छ । तसर्थ अव ब्यवस्थित र पारदर्शी रुपमा खेल गतिबिधी संचालन गर्ने ईच्छाशक्ति पनि खेल नेतृत्वबाट प्रदर्शित हुन सक्यो भने त्यो अझै ‘सुन मा सुगन्ध’ हुने बिश्वास गर्न सकिन्छ ।

लेखक देवकोटा उत्तरगया दैनिक र नुवाकोट जागरण साप्ताहिकका प्रकाशक तथा सम्पादक हुन ।

Advertisement

प्रतिक्रिया