द्वन्द्व रुपान्तरण केन्द्रमार्फत नुवाकोटमा १८ सय मुद्धाको किनारा

विदुर खबर २०७६ असार २ गते १५:०९
फाईल फोटो

                                     फाईल फोटो

नुवाकोट असार २, नुवाकोटको १२ स्थानीय तहमा सञ्चालित प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले १८ सय विवाद मिलाएको छ ।  भूकम्पपछि सञ्चालनमा आएको सो केन्द्रले जिल्लाका १२ वटै स्थानीय निकायमा मेलमिलाप केन्द्र सञ्चालनमा ल्याएको छ । जिल्लाका ८८ वडामा मेलमिलाप कर्ता र संयोजक राखी नागरिकका आपसी मनमुटाव, साँध सदियार मापन, जग्गा जमीन, कुलो पानी, धारा, बाटो, घरायसी समस्या, घरेलु हिसांलगायतका निवेदनलाई सहजीकरण गर्दै आइरहेको छ ।

Advertisement

हालसम्म एक हजार नौ सय निवेदन परेको सो केन्द्र नुवाकोटका संयोजक सीताराम पौडेलले बताउनुभयो । संयोजक पौडेल भन्नुहुन्छ, “ साँध, कुलो,जग्गा जमीन, बाटो, घरायसी समस्यालगायतका विषयमा बढी निवेदन आइरहेका छन्” । उहाँ भन्नुहुन्छ, “ भूकम्पपछि १९ सय निवेदन आएकोमा एक हजार ८०० वटा हामीहरुले मिलाएर पठाएका छौ” ।

केन्द्र सञ्चालनमा आएपछि नुवाकोटका नागरिकलाई अदालत र प्रहरी धाउनुपर्ने समस्या न्यूनीकरण भएको संयोजक पौडेलले बताउनुभयो । चालु आर्थिक वर्षको वैशाखसम्म पाँच सय ८ निवेदन आएकोमा ४८५ वटा मिलाएर पठाइएको छ भने २३ वटा निवेदनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला अदालत पठाइएको केन्द्रले जानकारी दिएको छ ।

Advertisement

केन्द्रले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को ‘ख’ मा उल्लेख भए अनुसार ११ प्रकारका विवादलाई मिलाउन र हेर्न पाउने प्रावधान रहेको छ ।

(रासस)    

Advertisement

प्रतिक्रिया