नुवाकोटको बजार क्षेत्रका सीसीटीभी चलेनन,थपियो सुरक्षा चुनौती

विदुर खबर २०७६ जेठ ३० गते १:३३

नुवाकोट जेठ ३०, नुवाकोटको सदरमुकाम विदुर बजार आसपासमा झण्डै ४ वर्षअघि जडान गरिएका सिसी क्यामरा प्रयोगविहीन भएका छन । नुवाकोट उद्योग वाणिज्य संघको पहलमा बजार क्षेत्रमा जडान गरिएका २५ क्यामेरामध्ये अहिले २ ओटाले मात्र काम गरिरहेका छन ।

Advertisement

सीसीटीभी क्यामेराले काम गर्न छाडेसँगै जिल्लाको सदरमुकाम आसपास क्षेत्रमा सुरक्षा चुनौती समेत बढेको सरोकारवालाहरु बताउँछन । शान्तिसुरक्षा कायम गराउन,चोरीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, दुर्घटना न्यूनीकरण गर्न र दुर्घटना भएमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्न सहज बनाउने उदेश्यले क्यामेरा जडान गरिएको थियो । तर सिसी क्यामरा प्रयोगविहीन भएपछि अहिले कुनैपनि र्दुघटना घटेमा संलग्नलाई पक्राउ गर्न कठिनाई भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्णपल्ली मगरले बताए । उनले सदरमुकामका मुख्य बजार मानिने गंगटे, बट्टार, विदुर, ढुङ्गे र त्रिशूलीमा जडान गरिएका २५ थान सिसी क्यामरामध्ये २२ प्रयोगविहीन भएको बताए । सिसिटिभी बिग्रीएको विषयमा वाणिज्य संघलाई पटकपटक जानकारी गराउँदा समेत शुनुवाई नभएको प्रहरी प्रमुख पल्लीमगरले जानकारी दिए ।

नुवाकोट उद्योग वाणिज्य संघको पहलमा ४ वर्षअघि वर्षअघि जडान गरिएका २५ सिसिटिभी क्यामेरामध्ये अहिले २ वटाले मात्र काम गरिरहेको छ । सिसिटिभी जडान गर्न स्थानियको घरबाट पावर सप्लाई गर्नुपर्ने भएकोले त्यहाँबाट पनि समस्या उत्पन्न भएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ । संघकी वरिष्ट उपाध्यक्ष गीता अमात्यले सिसिटिभी निर्माणको काम अन्तिम चरणमा पुगेको बताइन । उनले सडक विस्तार र वाणिज्य संघमा पदाधिकारी परिवर्तन हुनुले सिसिटिभी निर्माणमा ढिलाई भएको बताइन । स्थानीयले विद्युत् जडान गर्न नदिँदा क्यामेरा नबिग्रीए पनि संचालन भने हुन सकेको छैन ।
गत वर्ष पनि बिग्रीएको सिसिटीभीलाई मर्मत तथा आवश्यक व्यवस्थापन गरी विदुर नगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने तयारी नुवाकोट उद्योग वाणिज्य संघले गरेपनि हस्तान्तरण भने हुन सकेको छैन । बिग्रीएको सिसिटिभी मर्मत गर्न ६ लाख रुपैयाँभन्दा लाग्ने बताइएको छ । विदुर नगरपालिका भने बिग्रीएको सिसिटीभीमर्मतको लागि भने त्यति जिम्मेवार देखिएको छैन । नगरपालिका अहिले कार्यलय सरेर डिभीजन सहकारीको भवनमा रहेकोले सिसिटीभी जडानमा नगरपालिकाको कार्यालयले चासो नदिएको हो ।

Advertisement

अहिले पुरानो विदुर नगरपालिकाको कार्यालय र विदुरको चेकपोष्टमा मात्र सिसिटिभी संचालन भइरहेको छ । संचालन भएका यि सिसिटिभिले पनि रातको समयमा प्रकाशको कमिले गर्दा राम्रो नदेख्ने गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको संचार शाखाले जानकारी दिएको छ । करिव ४ वर्षअघि सिसी क्यामरा जडानका लागि एउटा निजी कम्पनीसँग ३२ लाख रुपैैयाँको सम्झौतामा सिसिसटभी जडान भएको थियो । तर त्यस समयमा पनि निर्माणकर्ता कम्पनीलाई समयमा नै पैसा भुत्तानी नगर्दा बारम्बार सिसिटिभी संचालनमा आउन सकेको छैन । जिल्ला समन्वय समिति, विदुर नगरपालिका, बैंक तथा वित्तीय संस्थासँग समन्वय नहुँदा सुरक्षा व्यवस्थापनका लागि भरपर्दो माध्यम बनेका सिसी क्यामरा प्रयोगमा नआएको हो । क्यामरा सञ्चालन गर्न विद्युतको व्यवस्था गर्नुपर्ने, रातका समयमा सडक प्रस्टसँग देखिने गरी थप बत्तीको व्यवस्था गरी नगर क्षेत्रको सुरक्षा व्यवस्था मजबुत बनाउन सबै सरोकार राख्ने पक्ष जिम्मेवार हुनुपर्ने प्रहरी प्रमुख पल्लीमगरको भनाई छ । बजारको मुख्य चोक र बढी संवेदनशील क्षेत्रकै क्यामेरा बिग्रिएपछि प्रहरीलाई आपराधिक गतिविधी नियन्त्रणमा असहज भएको प्रहरीको भनाई छ’ ।

उद्योग वाणिज्य संघको पहलमा क्यामरा जडान भए पनि सबैले अपनत्व नलिँदा सिसिटिभी क्यामरामा गरिएको लागानी खेर जाने संभावना बढेको छ । जडान गरिएको सिसिटीभीको क्यामेराले काम नगर्दा पछिल्लो समय बजार एरियामा विभिन्न किसिमका चोरीमा संलग्न भएका हरुलाई समाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गतवर्ष पनि बिग्रिएर बनाइएको सिसिटिभी दुईचार दिन मात्र चलेको थियो । बजारक्षेत्रमा पछिल्लो समय दुर्घटना चोरीको घटनामा वृद्धि भएको भएपनि सिसिटिभीले काम नगरेपछि समस्या सिर्जना भएको छ ।

Advertisement

प्रतिक्रिया