वडा कार्यालयको भवन बनाउँदै बेलकोटगढी नगरपालिका

विदुर खबर २०७६ जेठ ५ गते ४:१४

नुवाकोट जेठ ५, नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालू आर्थिक वर्षमा चार स्थानमा नयाँ वडा कार्यालयको पक्की भवन निर्माण शुरु गरेको छ । नयाँ निर्माण गरिने वडा कार्यालयमध्ये दुई स्थानको भवनको निर्माण अघि बढाइएको छ ।

Advertisement

सङ्घीयता कार्यान्वयनअन्तर्गत राज्य पुनःसंरचनाको क्रममा जिल्लाका विभिन्न छ साविकका गाउँ विकास समितिलाई समावेश गरेर निर्माण भएको नगरपालिका भएकाले भौतिक संरचना अभावमा गुज्रिएको छ । संरचना अभाव भोग्दै आएको नपाले नगरकार्यपालिकाको सभाबाट विनियोजित पूरक बजेटमार्फत यो आवको बाँकी दुई महीनाको अवधिमा चार स्थानमा वडा कार्यालय भवन निर्माण गर्न लागिएको नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बनाइने भवनमध्ये वडा नं ९ को नलगाउँ र वडा नं ११ को फूलबारीमा कार्य शुरु भएको छ ।

नगरमा रहेका १३ मध्ये आठ वडामा भवन अभाव छ । चालू आवमा वडा नं ४, ५, ९ र ११ का लागि नयाँ कार्यालय बनाउन बजेट तर्जुमा गरिएको छ । उक्त चार स्थानमा भवन निर्माणका लागि रु दुई करोड बजेट चैतमा सम्पन्न नगरसभाले विनियोजित गरेको थियो । वडा नं ९ को भवन निर्माणका लागि पिएन निर्माण सेवा प्रालिलाई रु ३५ लाखमा र वडा नं ११ मा भवन बनाउन श्रवशक्ति महामाया प्रालिलाई रु ४२ लाखमा जिम्मेवारी दिइएको छ । नगरपालिका सञ्चालन हुँदै आएको भवनसमेत विपत्बाट जोखिममा परेका समुदायका लागि राख्न बनाइएको अस्थायी संरचनामा सञ्चालन हुँदै आएको छ । वडा कार्यालयको भवन निर्माण सम्पन्नपश्चात नगरपालिकाको लागि भवन बनाउने योजना बनाइएको छ ।

Advertisement

रासस

प्रतिक्रिया