रसुवागढी र सान्जेनको साधारण सेयर आवेदन वैशाख पहिलो साताबाट खुल्ने

विदुर खबर २०७५ चैत १२ गते १४:२८

नुवाकोट, रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत कम्पनीले २०७६ वैशाख पहिलो साताबाट सर्वसाधारणका लागि सेयर आवेदन खुला गर्ने भएका छन् ।

Advertisement

सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि दुवै कम्पनीको सेयर एकै पटक आउन लागेको हो । बाेर्डले आइतबार सेयर निष्कासनकाे अनुमति दिएकाे छ । अबको २ सातामा आह्वानपत्र तयार गरेर सेयर आवेदन खुला गरिने सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । उनका अनुसार सान्जेनले रसुवामा निर्माणाधीन सान्जेन र माथिल्लो सान्जेन (५७ मेगावाट) आयोजनाको प्रतिकित्ता सय रुपैयाँ अंकित ५४ करोड ७५ लाख मूल्यको ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । यस्तै, रसुवागढीले निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको १ अर्ब २ करोड ६३ लाख १५ हजार मूल्यको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गर्नेछ । निष्कासन हुने साधारण सेयर स्वपुँजी लगानीको १५ प्रतिशत हो ।

साधारण सेयर निष्कासन गरी बाँडफाँड गरेपछि रसुवागढीले स्थानीयका लागि छुट्याइएको ६८ करोड ४२ लाख १० हजार मूल्यको ६८ लाख ४२ हजार १ सय कित्ता सेयर निष्कासन गर्नेछ । सान्जेनले पनि स्थानीयका लागि ३६ करोड ५० लाख रुपैयाँ मूल्यको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । दोस्रो चणरणमा आयोजना प्रभावित स्थानीयको सेयर निष्कासन गर्ने तय भए पनि जिल्ला समन्वय समिति रसुवाले सम्बन्धित सरोकारवालासँगको छलफलपछि अवधि सार्न आग्रह गरेपछि दुवै कम्पनीले स्थानीयभन्दा अघि साधारण सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएका थिए । गत असार २२ गते बोर्डमा आवेदन दर्ता भएको थियो । २०७२ को विनासकारी भूकम्पले क्षति पुर्याएकाको घर पुनर्निर्माण गर्नु परेकाले तत्काल सेयर खरिद गर्न नसक्ने जनाएपछि स्थानीयले पाउने सेयर तेस्रो चरणका निष्कासन हुनेछ । दुवै कम्पनीले यसअघि कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने संचयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारीका लागि छुट्याइएको सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेका छन् ।

Advertisement

प्रतिक्रिया