तरकारी बारीकाे थाक्रो नलडाएको हुरीले नुवाकोटमा निर्माणधीन पक्की पुल उडायो

विदुर खबर २०७५ चैत १२ गते १४:१६

नुवाकोट,निलकण्ठ नगरपालिका ५ धादिङका सुवास खतिवडाले मंगलबार फेसबुकमा स्ट्याटस लेखे “बुबाले सीमी जातको तरकारीमा हालेको सिटा (थाक्रो) केही भएन तर ५ वर्षदेखि निमार्णधीन पक्की पुल हावाले उडायो ।”

Advertisement

खतिवडाका अनुसार सोमबार साँझ साढे ५ बजे तिर आएको हुरी बतासले नुवाकोट र धादिङ जोड्ने त्रिशुली नदीमा निमार्णाधीन पक्की पुलको एउटा स्पान उडाएको हो । एउटा स्पान पुरै ढलान भई सकेको पुलको दोस्रो स्पान ढलान गर्नका लागि तयारी अवस्थामा थियो तर सोमबारको हावा हुरीले त्यो भत्काई दिएको स्थानीयबासी खतिवडाले बताए ।

तरकारी बारीको थाक्रो केही नभएको हुरीले पक्की पुलको स्पान उडाएको भन्दै खतिवडाले पुल निर्माण ठेक्का पाएको ठेकदारको काम गराइलाई ब्यङ्ग्य गरे ।

Advertisement

कामचोर ठेकदार
नुवाकोटको बेलकोटगढी नगरपालिकाको केउरेनीबाट धादिङको गल्छी गाउँपालिका फोस्रेटार जोड्ने त्रिशूली नदी माथि निर्माणधीन उक्त पक्की पुल १९२ मिटर लम्बाइको हुनेछ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी-कोशीखोला-फोस्रेटार कृषि सडकमा पर्ने उक्त पक्की पुलले त्यस क्षेत्रका ग्रामिण भेगलाई गल्छी-रसुवागढी राजमार्ग हुँदै काठमाडौंसंग जोड्छ ।

पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालय,डिभिजन सडक कार्यालय भरतपुरले २०७१ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । कुल १५ करोड ११ लाख ३५ हजार ५६४ रुपैयाँ ४२ पैसामा पुल निमार्ण सक्ने गरी सपना÷हिम्डुङ एण्ड थोकर÷नार्गाजुन कन्स्ट्रक्सन जे.भि ले आयोजनाको ठेक्का पाएको थियो ।

Advertisement

ठेक्का सम्झौता अनुसार (३ कार्य वर्ष दिन) २०७४ असार ३० गते पुल बनि सक्नु पर्ने थियो तर सम्झौता सकिएको एक वर्ष ९ महिना पछि बल्ल तल्ल बनेको निर्माणधीन पुलको दोस्रो स्पान हुरीले उडाएको छ ।                                                                                                                              

पुलको ठेक्का पाउनेमा ३ वटा कम्पनीको नाम लेखिए पनि नुवाकोटबाट २०७० सालमा प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट निर्बाचित सांसद बहादुर सिंह लामा (तामाङ्ग) को निमार्ण कम्पनी हिम्डुङ एण्ड थोकर पुल निमार्णको काम गर्ने मुख्य ठेकदार हो ।

पुल निमार्ण हेर्ने तालुकदार सरकारी निकाय के भन्छ ?
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालय, डिभिजन सडक कार्यालय भरतपुर यो पुल निमार्णको अवस्था हेर्ने तालुकदार सरकारी निकाय हो ।

घटनाको २३ घण्टा पछि उक्त पुलमा के भएको हो भन्ने जिज्ञासा राख्दा डिभिजन सडक कार्यालय भरतपुरकी निमित्त प्रमुख गिताञ्जली कोइरालाले अनविज्ञता प्रकट गरिन । निमार्णाधीन पुल हावाले उडायो रे नि ? भन्दा उनले उक्त पुल हेर्ने इन्जिनियर हरि ठकुरीले घटनाबारे आफुलाई कुनै जानकारी नगराएको बताइन् ।                                              

भर्खरै निमित्त प्रमुख भएका कारण सबै जानकारी आफूलाई नभएको भन्दै कोइरालाले ढलान गर्न तयारी अवस्थाको दोस्रो स्पानको फर्मा हावाले उडाएको बताईन । ढलान गर्न ठिक्क पारेको फर्मा हावाले उडाउन सम्भव हुन्छ भन्ने मेरोलगानीको प्रश्नमा कोइरालाले यस्तो हुने बताईन ।

घटनास्थलका इन्जिनियर के भन्छन् ?

पुल निमार्णस्थलमा सरकारी इन्जिनियर हरि ठकुरी खटिएका छन् । उनले सोमबार साँझको हावाले पुल निमार्णमा पछिल्लो ४ महिना देखि जारी काम ध्वस्त भएको बताए । उनका अनुसार निर्माणधीन पुलमा ४० मिटर लामो ४ वटा स्पान (खण्ड) र बाँकी भूभाग (पुलको लम्बाई १९२ मिटर) प्लास्टरसहितको ढलान गरिने छ । सवारी गुड्ने ११ मिटर चौडा रहेको यो पुललाई प्रिस्ट्रेस पुल भनिन्छ ।

जस मध्ये गत असार अघि एउटा ४० मिटर लामो स्पान खण्ड ढलान भएको छ । दोस्रो खण्डको काम अन्र्तगत केही दिनमा ढलान गर्न तयारी अवस्थामा रहेको ४० मिटर लामो फार्मा सहितको संरचना हावाले उडाएको ठकुरीले बताए ।                                                    

गाडी गुड्ने पुल ढलान गर्न तयार अवस्थामा रहेको फर्मासहितको संरचना हावाले उडाउने गरि कसरी बनेको थियो ? उक्त संरचनाले ढलान थेग्न सक्थ्यो त ? भन्ने प्रश्नमा इन्जिनियर ठकुरीले निमार्णस्थलमा गाडी नै उडाउने गरी हावा चलेको स्पष्टीकरण दिए ।

ढलानसहितको उक्त पुलको एक खण्ड निमार्ण गर्न १ करोड बढी खर्च लाग्ने इन्जिनियर ठकुरीले बताए । सोमबारको हावाले गरेको क्षतिको विवरण संकलन भई रहेको भन्दै उनले घटना पछि पुल निमार्णको समय लम्बिने बताए ।

ठेकदारको यस्तो स्पष्टीकरण

पुल निमार्णकर्ता ठेकदार कम्पनी हिम्डुङ एण्ड थोकरका निर्देशक शिवहरि घिमिरेलाई पुल त हावाले उडाए छ नि ? भन्ने प्रश्न गर्दा उनले घटनाले आफूहरु दुखी भएको प्रतिक्रिया दिए । निर्देशक घिमिरेले घटना विवरण यसरी सुनाए ।

”आगामी असोजसम्म सम्पन्न गर्ने गरी पुल निमार्ण भई रहेको थियो, सोमबार साँझ एक्कासी निमार्णस्थलमा हावाहुरी चल्यो । हावाहुरी मात्रैले स्पानको फर्मासहितको संरचना ढल्ने थिएन तर त्यहाँ एक्कासी भूमरी नै पर्यो ।                                                          

जसले गर्दा ४० मिटर लम्बाईको ढलान मात्रै गर्न बाँकी स्पान क्षतिग्रस्त भयो । निमार्णस्थलमा परेको भूमरीले केही रुखहरु पनि ढलेको छ । फर्मा, प्लाई, रड, लगायतका निमार्णस्थलमा प्रयोग भएका वस्तुहरु नष्ट भएका छन् । करिब १ करोड बराबरको क्षति भएको छ ।

झण्डै २ महिना लगाएर गरिएको काम ध्वस्त बनेको छ । २०७६ को असोजमा हस्तान्तरण गर्ने भनिएको पुल निमार्ण सम्पन्न हुन अब २०७६ चैत्रसम्म लागने छ । सरकारले विपत्तिको क्षति    नब्यहोर्ला अब हामी इन्सुरेन्स मार्फत अगाडि बढ्छौं । ”

प्रतिक्रिया