उत्तरगया धाममा श्राद्ध गर्नेको घुइँचो

विदुर खबर २०७५ पुष २१ गते ९:५३

बेत्रावती।रसुवा र नुवकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगया धाममा श्राद्ध गर्नेको घुइँचो लागेको छ। त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको यस क्षेत्रमा पौष कृष्ण औँसी (गया औसीँ) को दिन शनिबार बिहानैदेखि श्राद्ध गर्ने भक्तजनको घुइँचो लागेको हो।

परलोक भएका आफ्ना बाबु–आमा तथा आफन्तको नाममा शनिबार बिहानैदेखि हजाराैं भक्तजनले नदी किनारमा श्राद्ध गरिरहेका छन्। वर्षेनी हजारौं भक्तजनले मृत्यु भएका आफ्ना बाबु–आमा तथा आफन्तको नाममा श्राद्ध, दान, तर्पण गर्दछन्। पितृको नाममा श्राद्ध गर्ने भक्तजनहरू वर्षेनी बढ्दै गएको बेत्रावतीका स्थानीय गणेश श्रेष्ठले बताए। ‘पौषे औँसीमा यहाँ आउने भक्तजन बढ्दै गएका छन्, उनले भने, विशेषगरी तीनवटा जिल्लाका भक्तजन बढी आउँछन्।

पछिल्लो समय उत्तरगया धाममा जलविद्युत आयोजना बन्ने भएपछि समस्या आएको उनले बताए। पितृको उद्धारको लागि यस क्षेत्रमा पाँचौ पटक श्राद्ध गर्न आएको धादिङ्का शंकर प्रसाद रुपाखेतीले बताए। भारतको गया जान नसकेका श्रद्धालुहरू नेपालको उत्तरगया धाममा आउँछन्, उनले थपे। दक्षिणगयामा श्राद्ध गर्न जाँदा उत्तरगयामा गरे वा नगरेको भन्ने सोध्ने मुक्ति नाथ भट्टराईले जानकारी दिए।

यस स्थानमा आइ परलोक भएका आफ्ना बाबु आमाको नाममा श्राद्ध गरेमा २० पुस्ता अघिका पितृ मोक्ष्यप्राप्ति गरी स्वर्गजाने जनविश्वास रही आएको छ। पितृको नाममा हिन्दु धर्मावलम्बीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमाग्रीहरूले मृत्यु भएका आफन्तका नाममा लामाहरूले मन्त्र पढ्ने र बत्ति बाल्ने गर्छन्।

स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भए अनुसार उत्तर गया क्षेत्रमा त्रिशुली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनेर मानिएको छ। उक्त नदीमा श्राद्ध गरेमा पितृहरू उद्धार भई स्वर्ग जाने विश्वासले धेरै भक्तजनहरू यस स्थानमा श्राद्ध गर्न आएका हुन्।

प्रतिक्रिया