नुवाकोट,रसुवा र सिन्धुपाल्चोकमा रहेका कृषिजन्य पेसाकर्मीका लागि चीनले ४४ करोड सहयोग गर्ने

विदुर खबर २०७५ पुष ९ गते ११:१७

नुवाकोट ,रसुवा र सिन्धुपाल्चोकमा आलुबाली, घाँस, ब्रोईलर, लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बो ट्राउट माछा पालनकालागि चीनले ४४ करोड सहयोग गर्ने भएको छ । बुधबार नेपाल र चीनबीचका पदाधिकारीवीच यसबारे सम्झौता भएको छ ।
चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको टिबेट ईन्टरनेशनल ईकोनोमिक एक्चेन्ज सर्भिस सेन्टर (वाणिज्य विभाग) बीच कृषि क्षेत्रमा सहयोग गर्ने गरी सहमती पत्रमा हस्ताक्षर भएको छ ।
बुधबार मन्त्रालयमा एक कार्यक्रम गरी कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, राज्यमन्त्री रामकुमारी चौधरीको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । नेपालको तर्फबाट योजना महाशाखा प्रमखु सहसचिव डा. योगेन्द्रकुमार कार्की र चीनको तर्फबाट विभागका प्रवन्ध निर्देशक बेन जेनले हस्ताक्षर गरेका हुन ।
नेपालको रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा संचालन गरिने परियोजनामा मुख्य गरी आलुबाली, घाँस, ब्रोईलर तथा लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बो ट्राउट माछामा विभिन्न अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विस्तार गरिने मन्त्रालयका उपसचिव शंकर साप्कोटाले जानकारी दिए ।
यो परियोजना १९ डिसेम्बर २०१८ देखि १८ डिसेम्बर २०२१ सम्म संचालन हुनेछ । परियोजना संचालनको लागि चीन सरकारले २७ मिलियन चाईनिज युआन अर्थात ४४ करोड १६ लाख सहयोग गर्ने घोषणा गरेको हो । यो परियोजनामा नेपालका किसान र प्राविधिक कर्मचारीका लागि ६० जनालाई चीन लगेर र अन्य २४० जना कसिानलाई नेपालमै तालिम दिइने बताइएको छ ।

Advertisement

प्रतिक्रिया