प्रसिद्ध दुप्चेश्वर महादेवको मेला शुरु,दर्शनार्थीको बाक्लो भिड

विदुर खबर २०७५ पुष ५ गते १३:३४

दुप्चेश्वर÷दुप्चेश्वर गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर मन्दिरमा प्रत्येक बर्ष मङ्सिर पूर्णिमामा लाग्ने मेला सुरु भएको छ ।
दुप्चेश्वर महादेव नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा न। २ मा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल समेत रहेको छ । मन्दिरमा धान्य पूर्णिमाको अघिल्लो दिन चतुर्दशी देखि पूर्णिमाको दिनसम्म मेला लाग्ने गर्दछ । भगवान पशुपतिनाथको दोस्रो रुप भएकोले दोस्रो पशुपतिनाथ पनि भन्ने गरिन्छ ।सन्तान प्राप्तिको लागि बर माग्दा पाउने भएकोले संतानेस्वर महादेवको नामले पनि पुकार्ने गरिएको छ ।

Advertisement

मेलाको दर्शन गर्न काठमाण्डौं, धादिङ, रसुवा सिन्धुपाल्चोक लगायत देशका विभिन्न ठाउँहरुबाट वर्षेनी लाखौ भक्तजनहरु महादेवसँग वरदान माग्न आउने गरेका छन् । यहाँ मागेको पाउने आटेको पुग्ने बिश्वास गरिन्छ । दुप्चेश्वर महादेवलाई पशुपतिनाथको दोश्रो रुप मानिन्छ । मेलामा तामाङ, शेर्पा, गुरुङ जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री वितरण समेत हुने गरेको छ । जात्रा हेर्ने र दर्शन गर्ने दर्शनार्थीहरुको यो बेला ठुलो भिड समेत लाग्ने गरेको छ ।
किमदन्ति अनुसार समुन्द्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटीएका महादेव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा वास बसेर रसुवाको गोसाइँकुण्ड गएको उल्लेख छ ।
भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास गरिँदै आएको छ । अविवाहितलाई जोडी प्रदान, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने किंम्बदन्तीमा उल्लेख छ ।

प्रतिक्रिया