गुटको अन्त्य नभएसम्म कम्युनिस्टसँग लड्न सकिँदैन : केसी

विदुर खबर २०७५ पुष ३ गते ४:०२

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महासमिति बैठकले पार्टीलाई गुट/उपगुटबाटमाथि उठाउन सक्नुपर्ने बताएका छन्।

Advertisement

शनिबारदेखि राजधानी काठमाडौंमा सुरू महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केसीले गुट/उपगुटको अन्त्य नभएसम्म कम्युनिस्टसँग लड्न नसकिने भन्दै उनले विगतमा भएका गल्तीबारे विनापूर्वाग्रह समिक्षा गरिनुपर्ने बताए।

गुट/उपगुटभन्दा पनि विधि, नीति र संस्थागत निर्णय गर्ने आधारशिला तयार हुनुपर्नेमा उनले जोड दिए। विवेक बन्दकी नराखी लोकतान्त्रिक पद्धतिबाट साझा निर्णयमा पार्टीको नेतृत्व जानुपर्ने उल्लेख गर्दै उनले महासमितिका सदस्यहरूबाट नेता होइन नीति, व्यक्ति होइन विचार र शक्ति होइन सत्यको पछाडि लाग्छु भन्ने संकल्पसहितको प्रतिवद्धता आउनुपर्ने बताए।

Advertisement

उनले लोकतन्त्रको संरक्षण लोकतन्त्रवादी नेपाली कांग्रेसबाट मात्रै हुन सक्ने भएकाले त्यसका लागि पार्टी एकता अत्यावश्यक रहेको औंल्याए। स्वच्छाचारी ढंगले पार्टी चल्न नसक्ने भन्दै उनले हरेक पदाधिकारीहरू महाधिवेशनबाटै निर्वाचित हुनुपर्ने पद्धति बसाल्नुपर्ने बताए।

गुट/उपगुटकै कारण ३३ केजी सुन काण्ड र वाइडवडी खरिद लगायतका भ्रष्टाचारविरूद्ध प्रतिपक्षी दलको आवाज बुलन्द हुन नसकेको भन्दै उनले एकताको सवाललाई महासमिति बैठकले निर्णायक विन्दुमा पुर्याउनुपर्ने उल्लेख गरे।

Advertisement

महासमिति बैठकले कम्युनिस्ट सत्तासँगको संघर्षको रणनीति बनाउनुपर्नेमा पनि उनले जोड दिए।

प्रतिक्रिया