गेर्खु चोगते सडकखण्डको निर्माण शुरु,सडक निर्माणको लागत साढे २६ करोड रुपैयाँ

विदुर खबर २०७५ मंसिर ९ गते १२:१८

गेर्खु। विदुर नगरपालिकाको वडा नं १० फुलबारीदेखि वडा नं ११ को गेर्खु हुँदै सुर्यगढी गाउँपालिकाको बागेश्वरीसम्म जोड्न लागेको बहुप्रतिक्षित गेर्खु चोगते सडकखण्डको निर्माण शुरु भएको छ ।

Advertisement

१३ किलोमिटर ७ सय ६० मिटर कुल लम्बाई भएको सो सडकको ठेक्का संघिय सांसद वहादुरसिंह लामको हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिलाई परेको अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार जिल्ला कार्यान्वयन एकाईका निमित्त प्रमुख उशेष श्रेष्ठले बताउनुभयो । २४ महिनाको अवधिमा निर्माण सम्पन्न सक्नुपर्ने सो सडकको लागत २६ करोड ४५ लाख २ हजार २ सय ५३ रुपैयाँ ८९ पैसा रहेको छ ।

सडकको गत असार २२ गते सम्झौता भएको श्रेष्ठले बताउनुभयो । सडक निर्माण समयमै भएमा विदुर नगरपालिका वडा नं १० र ११ का जनताहरु लाभान्वित हुनेछन । सदरमुकाम विदुरबाट मात्र ५÷६ किलोमिटरको दुरीमा रहेको सावकको गेर्खु गाविस सडक संजाल राम्रो नभएकै कारणले विकट मानिएको छ ।

Advertisement

लामोसमयसम्म सडक निर्माण हुन नसक्दा त्यहाँका स्थानियले ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य भएका छन । स्थानियबासीले सडक निर्माण भएसँगै खुसी व्यत्त गरेका छन । स्थानिय राजकुमार केशीले सडक निर्माण मात्र नभइ गुणस्तरीय र भरपर्दाे हुनुपर्ने बताए । सडकको चौडाईतर्फ सात मिटर पिच हुने बताइएको छ ।

प्रतिक्रिया