बागमती प्रदेशका विभिन्न जिल्लामा एकै दिन ६ जनाको मृत्यु

विदुर खबर २०८३ असार ६ गते १५:२३

नुवाकोट । बागमती प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

Advertisement

काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवनमा भएका घटनामा ६ जनाले ज्यान गुमाएका थिए भने १० जना घाइते भए । करेन्ट लागेर २ जना, भिरबाट लडेर २ जना, सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका–१२ महभीरमा ५ असार दिउँसो आफ्नै काक्रोबारीमा बाँदर धपाउन जडान गरिएको करेन्ट लागेर ६८ वर्षीया कमला मुल्मीको मृत्यु भएको छ । काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मी बारीमै मृत भेटिएको प्रहरीले जनाएको छ ।

Advertisement

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० बगुवामा खेतमा बाँदर धपाउन राखिएको करेन्टको पासोमा परी ६६ वर्षीय भीमप्रसाद दुलाल मृत अवस्थामा फेला परेका छन् । दुलालको घर भन्दा ५ सय मिटर पर रहेको खेतमा धानको बीउ राख्नका लागि जाँदा करेन्टको पासोमा परेर घटनास्थलमै मृत अवस्थामा उनका दाई टोमशंकर दुलालले देखेर मेलम्ची प्रहरीलाई खबर गरेका थिए ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–१ जन्तरे शिरान डाँडामा हिजो शुक्रबार खेतिपातीको कामका लागि गएका ३८ वर्षीय जितबहादुर तामाङ भिरबाट करिब ५० मिटर तल खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । रसुवाको नौकुण्ड गाउँपालिका–५ खाल्चेतका ७० वर्षीय बुदे गलान तामाङ बाख्राका लागि घाँस काट्न जाँदा ३ असारमा भिरबाट करिब १०० मिटर तल खसेर घाइते भएका थिए । उनको काठमाडौंस्थित ग्रिन सिटी अस्पतालमा शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ ।

Advertisement

चितवनको रत्ननगर नगरपालिका–४ देवौलीमा शुक्रबार ट्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ५१ वर्षीय शान्तकुमार चौधरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ नयाँपुलमा गत १ वैशाखमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका बा.प्र.०२–०४९ प ७७६२ नम्बरको मोटरसाइकलमा पछाडि सवार १४ वर्षीय जितबहादुर श्रेष्ठको उपचारका क्रममा काठमाडौंस्थित केएमसी अस्पतालमा हिजो राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अर्का मोटरसाइकल चालक सुनकोशी गाउँपालिका–७ बस्ने २५ वर्षीय जीवन खत्रीको घटनाकै दिन उपचारको मृत्यु भएको थियो ।

यसैगरी विभिन्न घटनामा १० जना घाइते भएका छन् । दोलखाको कालिञ्चोक गाउँपालिका–१ बेगुम्बामा मोटरसाइकलमा मोबिल हाल्ने क्रममा चेनले दाहिने हातका तीन वटा औँला काट्दा २५ वर्षीय दिनेश बुढा घाइते भए । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा ५३ वर्षीया मिरा नेपाली आफ्नै घरको पिँढीमा अचेत अवस्थामा फेला परेकी छन् । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–६, स्थित बिपी राजमार्गमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा १९ वर्षीय बिरमान तामाङ गम्भीर घाइते भएका छन् । उनको थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । नुवाकोटको बिदुर नगरपालिका–५ माझिटारमा अटो ब्रेक फेल भई पल्टिँदा होम घलेसहित शान्तीकुमारी तामाङ, शोकबहादुर तामाङ र टेकबहादुर तामाङ उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । एक जनाको उपचार जारी रहेको छ ।

चितवनको भरतपुर महानगरपालिका–२ लायन्सचोकमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार एक जना र एक पैदलयात्री गरी दुई जना पुरुष गम्भीर घाइते भएका छन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ वनस्पति क्षेत्रमा मोटरसाइकल चित्तलसँग ठोक्किँदा ३५ वर्षीय दीपक सिन्तान गम्भीर घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने चित्तलको घटनास्थलमै मृत्यु भएको छ ।

यसैबीच चितवनको राप्ती नगरपालिका–८ बडहरामा विद्युतीय स्कुटरको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा स्कुटर, सोफा, टेलिभिजन, मोबाइललगायत विभिन्न सामग्रीमा क्षति पुगेको छ । आगो प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया