मौन अवधि सुरु, सबैखाले प्रचार बन्द

विदुर खबर २०८२ फागुन १९ गते ९:०३

नुवाकोट । प्रतिनिधिसभा सदस्य छान्न बिहीबार हुने निर्वाचनका लागि सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ ।

Advertisement

निर्वाचन आचारसंहिताअनुसार मतदानको दिन सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म कायम हुने मौन अवधिमा प्रचार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन ।

मौन अवधिमा मत माग्न, सामाजिक सञ्जालमा पोस्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी क्रियाकलाप गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । यस अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरेको भेटिए उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने गरी कारबाही हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । ‘निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ,’ उनले भने ।

Advertisement

मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।

मतदानको समयमा प्रतिस्पर्धीबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोऊन् भनेर मतदानको ४८ घण्टाअघिदेखि मौन अवधि लागू गरिएको हो । मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्रीसमेत हटाउन लगाउनेछ । आयोगले तोकेको कार्यतालिकाअनुसार ६ माघमा उम्मेदवारी दर्ता गराएका दलहरूले ४ फागुनदेखि प्रचारप्रसार गरी मत माग्दै आएका थिए ।

Advertisement

मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।

निर्वाचन आचारसंहिताको दफा १७ मा ‘मतदान हुने दिनको अघिल्ला अठचालीस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण’ भन्दै मौन अवधिबारे उल्लेख गरिएको छ । यसमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले तोकिएका आचरण पालन गर्नुपर्ने भनिएको छ । उक्त दफामा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने, मतदान हुने दिनको ४८ घण्टाअघि नै मतदानस्थलको तीन सय मिटर वरपर राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने भनिएको छ ।

त्यस्तै कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने उल्लेख छ । नेपालमा मतदानको दिन सुरु हुनुअघिका ४८ घण्टा मौन अवधि लागू गर्ने गरिए पनि कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्ने अभ्यास छ । मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तिपूर्ण वातावरणमा निर्वाचन व्यवस्थापन गर्न सहज बनाउँछ ।

यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाताका लागि लाइनको व्यवस्थापन गर्ने, शान्ति सुरक्षाको अवस्था मूल्यांकन गर्ने गरिन्छ ।

प्रतिक्रिया