निर्वाचन प्रहरीको हतियार,बेतको लौरो

विदुर खबर २०८२ फागुन २ गते ७:१५

नुवाकोट । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ले प्रयोग गर्ने हतियारका रुपमा बेतको लौरो उपलब्ध गराइएको छ ।

Advertisement

४० दिन कार्यावधि तोकेर भर्ना गरिएका डेढ लाख निर्वाचन प्रहरी हरेकलाई एक–एक वटा बेतको लौरो व्यवस्था गरिएको हो । बेत लहरो प्रजातिको वनस्पति हो । काठ प्रजातिमा बेतलाई ‘मुलायम’ र लचकदार वनस्पतिका रूपमा लिइन्छ ।

२०७९ का स्थानीय तह एवं प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा भर्ना गरिएका म्यादी प्रहरीलाई लौरोबापतको बजेट नहुँदा प्रहरीले ‘बाँस र अन्य वनस्पति’बाट लौरो बनाएर काम चलाएका थिए । तर, यस पटकको चुनावमा भर्ना भएका निर्वाचन प्रहरीलाई भने बेतको लौरोबापत बजेट छुट्याइएपछि त्यहीअनुसार व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

एउटा बेतको लौरोलाई सरदर २ सय रुपैयाँ पर्छ । निर्वाचन प्रहरीलाई खातामै लौरोबापतको बजेट दिइएको र तोकिएको मापदण्डअनुसार किनेर प्रयोग गर्न भनिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बेतको लौरोका लागि मात्रै सरकारले ३ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ । पोसाककै एउटा अंगका रूपमा लौरोलाई समेटेर निर्वाचन प्रहरीको पारिश्रमिक तथा भत्ता व्यवस्थापन गरिएको छ ।


नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ)बाट १५ हजार १ सय १० गरी भर्ना भएका कूल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरीलाई निर्वाचन सुरक्षार्थ प्रयोग गर्ने हतियारस्वरुप बेतबाट बनेका लौरोको व्यवस्था गरिएको हो । प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार ७७ वटै जिल्ला प्रहरीलाई भर्ना भएका निर्वाचन प्रहरीका लागि आवश्यक पर्ने लौरो त्यहीँबाट व्यवस्थापन गर्न भनिएको जानकारी दिए ।

Advertisement

‘यसअघिको निर्वाचनमा म्यादी प्रहरीका लागि लौरो खरिदका लागि बजेटको जोहो गरिएको थिएन, त्यसको व्यवस्थापन बाँसलगायतका अरु बनस्पितिबाट लौरो बनाएर काम चलाइएको थियो, यो पटक सरकारले निर्वाचन प्रहरीले बोक्ने लौरोलाई आवश्यक बजेट छुट्याएको छ,’ प्रवक्ता काफ्लेले भने, ‘लौरो पोसाककै एउटा अंग हो, यसपटक एक निर्वाचन प्रहरीले एउटा बेतको लौरो पाएका छन्, बेतको लौरो भनेर कसैले अरु नै प्रयोग गरेको पाइए यसको अनुगमन हुन्छ ।’

उनका अनुसार केही जिल्लामा तोकिएअनुसार पोशाक र लौरोसहितका बन्दोबस्ती पुगिसकेको र कतिपय जिल्लामा पुग्ने क्रममा रहेको बताए । निर्वाचन प्रहरीलाई मतदानका दिन मतदान स्थल र त्यसअघि ट्राफिक प्रहरीको सपोर्टिङ, प्रहरीको मोबाइल टोली, पिकेट, रिजर्भलगायतमा मिसाएर खटाउन लागिएको छ ।

प्रतिक्रिया