अब जनताले छाप लगाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

विदुर खबर २०८२ माघ २२ गते २१:४७

नुवाकोट ।प्रधानमन्त्री सुशीला कार्कीले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमीटेड सानोठिमीमा भइरहेको मतपत्र छपाइको स्थलगत निरीक्षण गर्नुभएको छ ।

Advertisement

निरीक्षण पछि पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचन तोकिएको मितिमा फागुन २१ गते नै एकै चारणमा हुने बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले दुई चरणमा चुनाव नहुने स्पष्ट पार्दै सबैलाई निश्चिन्त रहन आग्रह गर्दै चुनाव एकैदिन हुने बताउनुभयो ।उहाँले भन्नुभयो ,‘दुई चोटि कहीँ हुनेवाला छैन,तोकिएकै मितिमा चुनाव हुन्छ,’ ।उहाँले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको दिन मौसम पनि राम्रो हुने दाबी गर्नुभयो ।उहाँले भन्नुभयो ,त्यो दिन मौसम पनि राम्रो हुने र मौसम पुर्वानुमान गर्दा हिउँ पर्दैन कि भन्ने जानकारी प्राप्त गरेको बताउनुभयो ।

Advertisement

मैले जे–जे गर्दै गइरहेको छु, सबै राम्रो हुँदै गएको बताउँदै मतदान गरेर परिणाम आउने र त्यसैबाट बन्ने नयाँ सरकारलाई हस्तान्तरण गरेर घर फर्कने बताउनुभयो।छपाई कार्य हेर्दा उत्साह लागेर आएको बताउँदै प्रम कार्कीले केन्द्रका कर्मचारीले राम्रो काम गरेको बताउनुभयो ।
मतपत्र हेरेपछि लाग्यो अब निर्वाचन आयो भन्दै उहाँले अब जनताले छाप लगाउन मात्रै बाँकी रहेको बताउनुभयो ।

निर्वाचनका क्रममा अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ :गृहमन्त्री अर्याल

Advertisement

सो क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका क्रममा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको बताउनुभएको छ ।
पत्रकारसँग कुरा गर्दै गृहमन्त्री अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतको भन्दा थप सुदृढ सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो ।
मन्त्री अर्यालले जनताले निर्धक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित गरिने दाबी गर्दै अति संवेदनशील र संवेदनशील मानिएका क्षेत्रहरूमा पूर्वतयारीसहित विशेष सुरक्षा प्रबन्ध लागु गरिने बताउनुभयो । गृहमन्त्री अर्यालले मुलुकमा राजनीतिक हिंसा र द्वन्द्घ बिस्तारै कम हुँदै गएकाले चुनावी वातावरण बन्दै गएको बताउनुभयो ।

तोकिएकै मितिमा निर्वाचन हुनेमा सबैलाई ढुक्क हुन आग्रह गर्दै प्रधानमन्त्रीले चुनावका क्रममा एक थोपा पनि रगत बग्न नदिने भनी गरेको प्रतिबद्धतालाई नै मूलमन्त्र बनाएर गृह मन्त्रालयले सुरक्षा योजना तयार पारेको गृहमन्त्री अर्यालले उल्लेख गर्नुभयो ।गृहमन्त्री अर्यालले भदौ २३ र २४ गते मुलुक गम्भीर संकटमा पुगेको क्षणलाई स्मरण गर्दै सरकार नागरिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीमाथि अनुसन्धान भइरहेको छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीमाथि अनुसन्धान भइरहेको बताउनुभएको छ ।संचारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त भण्डारीले आचार संहिता उल्लंघन गर्नेलाई कारबाही गरिने बताउनुभयो ।

आचारसंहिता उल्लंघन गर्ने केही उम्मेदवारलाई स्पष्टीकरण सोधिएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त भण्डारीले केहीले स्पष्टीकरण बुझाइसकेको र यसबारे अध्ययन गरेर आवश्यक निर्णय लिइने बताउनुभयो ।उहाँले आचारसंहिता कडाईका साथ लागु गरेको बताउँदै त्यसको पालना भयो कि भएन भनेर अनुगमन पनि गरिरहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त भण्डारीले केही उम्मेदवारहरूविरुद्ध उजुरी आएको र उहाँहरूलाई स्पष्टीकरण समेत सोधेकोमा केहीले स्पष्टीकरण पठाउनुभएको र केही आउने क्रममा रहेको जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन र मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको बताउँदै सञ्चारमाध्यमहरूले समेत पक्ष र विपक्षभन्दा पनि निष्पक्ष सामग्री बनाइदिनु पर्ने बताउनुभयो ।

निरीक्षणमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, निर्वाचन आयुक्त सगुनसमशेर जबरासहित निर्वाचन आयोगका पदाधिकारी लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया