पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक

विदुर खबर २०८२ असोज १२ गते २१:०६

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक लगाइएको छ।

Advertisement

गत भदौ २३ र २४ मा राजधानीमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न घटनाको छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले सो निर्णय गरेको हो।

आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा अनुसन्धानको दायरामा रहेका ओलीसहितका व्यक्तिहरूलाई छानबिन प्रक्रिया सहज बनाउन विदेश जान नपाउने व्यवस्था मिलाइएको जनाएको छ। विदेश भ्रमणमा रोक लगाइने अन्य व्यक्तिहरूमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन्।

Advertisement

आयोगले जनाएको छ, “भाद्र २३ र २४ गतेका घटनासम्बन्धी अनुसन्धानका लागि आवश्यक परेमा तत्काल उपस्थित हुनुपर्ने भएकाले सम्बन्धित व्यक्तिहरूले आयोगको स्वीकृतिबेगर उपत्यका छाड्न पाउने छैनन्।” यसका लागि सम्बन्धित निकायलाई आवश्यक पत्राचार गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, आयोगले छानबिन कार्यलाई प्रभावकारी बनाउन विज्ञसहितको जनशक्ति आवश्यक देखिएको निष्कर्ष निकालेको छ। सो व्यवस्थापनका लागि गृहमन्त्रालयमा औपचारिक पत्राचार गरी जनशक्ति उपलब्ध गराउन आग्रह गरिएको आयोगको भनाइ छ।

Advertisement

यसअघि गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौं उपत्यकामा सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप हुँदा ठूलो राजनीतिक तरंग उत्पन्न भएको थियो। घटनापछि सरकारले अनुसन्धान आयोग गठन गरेको हो।

प्रतिक्रिया