पुनर्निर्माण कोष स्थापना

नुवाकोट । आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट भौतिक संरचनामा परेको क्षति पुनर्निर्माणका लागि सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ सञ्चालनमा ल्याएको छ ।

उक्त कोषको खाता राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा खोलिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२’ मार्फत कोष स्थापना गरिएको हो । कोष सञ्चालनको जिम्मेवारी सहरी विकास मन्त्रालयका सचिव र सोही मन्त्रालयको आर्थिक प्रशासन शाखा प्रमुखलाई दिइएको छ । कोषमा रकम भुक्तानी गर्न दुवैको हस्ताक्षर आवश्यक हुने व्यवस्था गरिएको छ ।
अर्थ मन्त्रालयका अनुसार आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी सम्पत्तिमा ठूलो मात्रामा क्षति पुगेकाले तत्काल पुनर्निर्माण, मर्मत, राहत र पुनस्र्थापनाका लागि पर्याप्त स्रोत जुटाउन कोष स्थापना गरिएको हो । यस अभियानमा संघीय, प्रदेश तथा स्थानीय सरकार, निजी क्षेत्र, स्वदेशी–विदेशी नागरिक, गैरआवासीय नेपाली, मित्र राष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट योगदान गर्न सकिने व्यवस्था गरिएको छ ।
सहयोग रकम करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न सकिने सुविधा रहेको मन्त्रालयले जनाएको छ । कोषमा आर्थिक सहयोग नगद मात्र नभई क्यूआर कोड, फोनपे लगायत डिजिटल माध्यममार्फत पनि गर्न सकिने व्यवस्था गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा रहेको खाताको नम्बर १९६०१००१०२०७०००४ र SWIFT CODE RBBANPKA निर्धारण गरिएको छ ।

त्यस्तै पुनर्निर्माण अभियानका लागि मन्त्रिपरिषदले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ समेत जारी गरेको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरूत्थान, राहत तत्काल व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
सदस्यमा गृहमन्त्री, सहरी विकासमन्त्री, मुख्य सचिव र सदस्य सचिवमा सहरी विकास मन्त्रालयको सचिव रहने व्यवस्था छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया