लगातार घटेको बजारलाई अनलाइनले जगायो आशा, दोहोरो अंकले बढ्यो

विदुर खबर २०७५ कार्तिक १९ गते १०:५२

Advertisement

नुवाकोट कार्तिक १९, लगातार तीन दिन घटेको शेयर बजारमा चौथो दिन दोहोरो अंकको सुधार आएको छ । नेप्सेले भोलि मंगलबारदेखि पूर्णरुपमा स्वचालित अनलाइन प्रणालीबाट शेयर कारोबार सुरु गर्ने घोषणा गरेपछि त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको हो ।

सोमबार नेप्से ११.९२ अंकले बढेर १२१९.२० अंकमा पुगेको छ । यसदिन १५५ कम्पनीको २४ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका सबै समूहका उपसूचक बढेपछि नेप्से झण्डै एक प्रतिशतले उकालो लाग्यो । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ८७.४५ अंकले बढेको छ । त्यस्तै वाणिज्य बैंक समूहमा पनि ११.५२ अंकको सुधार आएको छ

Advertisement

लगातार तीन दिन गिरावट आएको बजारमा लगानीकर्ताहरुले शेयर खरिदको क्रम बढाउँदा चौथो दिनमा आएर बजार दोहोरो अंकले बढेको हो । तीन दिनको बीचमा नेप्से १७ अंक बढीले ओरालो लागिसकेको थियो।अर्कातर्फ अनलाइन कारोबार प्रणालीको सुरुवात हुने खबरले बजारलाई थप उत्साहित बनाएको छ । नेप्सेले भोलि मंगलबारदेखि पूर्णरुपमा स्वचालित अनलाइन प्रणालीको औपचारिक सुरुवात गर्ने भएको छ ।

अनलाइन शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोवार गर्न सक्नेछन् । स्टकले गत साउन १ गतेदेखि परिक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरुले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । नेप्सेका अनुसार शेयर कारोवारलाई अन्तराष्ट्रिय स्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको हो ।

Advertisement

यसअघि शेयर कारोवार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रुपमा नै जानुपर्ने वाध्यता रहेको थियो । नयाँ प्रणालीको जडानसँगै कारोवार गर्दै आएकाले दलाल मार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्ने छन् । त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ ।

व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ । पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र सो प्रणाली नेपालको पूँजी बजारको कोशेढुंगा सावित हुने विश्वास स्टकले लिएको छ । सोमबार सबै भन्दा धेरै प्रभु बैंकको शेयर ४ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबै भन्दा धेरै ६ प्रतिशतले कमाएका छन् भने सिर्जना फाइनान्सका शेयरधनीले १.८६ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया