जेन–जी आन्दोलनपछिको चौतर्फी अस्तव्यस्तता

नुवाकोट । जेन–जी आन्दोलनको नाममा भएको हिंसा, आगजनी र लुटपाटपछि मुलुक अस्तव्यस्त अवस्थामा पुगेको छ ।

सरकार परिवर्तनसँगै आमनागरिकले शान्ति र स्थायित्वको अपेक्षा राखेका थिए तर त्यो अपेक्षा पूरा हुने संकेत देखिएको छैन । बरु जेनजी पुस्तालाई प्रयोग गरेर मुलुकलाई झनै अराजकतातर्फ धकेलिएको र यसले मुलुकलाई कयौं वर्षपछि लगेको गुनासो समाजका विभिन्न वर्गले गरिरहेका छन् ।
अहिले राजधानी उपत्यकासहित मुलुकका मुख्य सहरमा सुरक्षाको अभाव, कानुनको शिथिलता र नागरिकमा बढ्दो भय मनोविज्ञान स्पष्ट देखिन्छ । समाजशास्त्रीदेखि राजनीतिक शास्त्री र सुरक्षाविद्हरूसम्मले मुलुकको भविष्यलाई गम्भीर संकटमा पार्ने खतराको चेतावनी दिइरहेका छन् ।
जेन–जी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र राज्य संरचनामाथि आक्रमणले नेपाली समाजलाई गहिरो घाउ दिएको छ । समाजशास्त्री डा. रमेश गौतम भन्नुहुन्छ– ‘नेपाली समाजमा अहिले असुरक्षा र निराशाको वातावरण छ । युवा पुस्ता रोजगारी, अवसर र भविष्य खोज्दै गर्दा उनीहरूकै नाम प्रयोग गरेर हिंसा गरिनु, त्यो पुस्ताको मनोबललाई तोड्ने काम हो ।
यस्तो अवस्थामा मुलुकले पचास वर्षअघिको कठिनाइ पुनः झेल्नुपर्ने खतरा बढेको छ । उहाँका अनुसार जेन–जी पुस्ताको निराशा र असुरक्षाले सामाजिक विखण्डनलाई बढाउनेछ । ग्रामीण भेगमा नयाँ पुस्ता सहरतर्फ पलायन हुने, सहरका शिक्षित युवा विदेश पलायन हुने क्रम अझै बढ्ने देखिन्छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकलाई उद्धृत गर्दै विज्ञहरूले चेतावनी दिएका छन् कि हालैका अशान्ति र अराजकतालाई देखेर कम्तीमा ३ हजार ५ सय युवा हरेक दिन विदेशिएका थिए भने अब यो संख्या अझै बढ्ने देखिन्छ । यो प्रवृत्ति बढ्दै गयो भने देशको उत्पादनशक्ति मात्र होइन, भविष्यको नेतृत्व पनि शून्य हुन सक्छ ।
अशान्तिपछि राजधानी उपत्यका सुरक्षाका दृष्टिले संवेदनशील बन्दै गएको छ । प्रहरी चौकीहरू जलेका छन्, सुरक्षाकर्मीको मनोबल खस्किएको छ र कानुन कार्यान्वयन गर्ने निकाय निरीहजस्तै बनेको छ । सुरक्षाविद् राजेन्द्र थापा क्षेत्री भन्नुहुन्छ– ‘देश अहिले कानुनविहीनताको चपेटामा छ । कुनै स्थानमा सानो घटना भयो भने पनि त्यसले ठूलो रूप लिन सक्छ र नियन्त्रण गर्न सक्ने संयन्त्र छैन ।

यो अवस्था लामो समय रह्यो भने नागरिकले राज्यप्रति विश्वास गुमाउँछन् र समाजमा अराजक तत्वको हात बलियो हुन्छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया