‘अब हामीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिएको छ’

विदुर खबर २०८२ भदौ २५ गते १४:०२

नुवाकोट । सोमबारबाट सुरु भएको जेन–जी आन्दोलनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन बाध्य भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले युवाहरूलाई वार्ताका लागि आह्वान गरे ।

Advertisement

तर जेन–जीहरूले भने आफ्ना माग पूरा नभएसम्म सडकमा नआई भर्चुअल माध्यमबाट आन्दोलन जारी राख्ने तयारी गरेका छन् । मंगलबार राष्ट्रपति र प्रधानसेनापति अशोकराज सिग्देलका तर्फबाट वार्ताका लागि आह्वान भएसँगै उनीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी, सक्षम र युवा नेतृत्वको माग अगाडि सार्ने बताएका छन् । सोमबारको आन्दोलनमा १९ जना किशोरकिशोरीले ज्यान गुमाएपछि मंगलबार देशभर आगजनी र विध्वंश मच्चियो ।

यसैबीच, प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि विषम परिस्थितिमा राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलले जेन–जीलाई वार्ताका लागि आह्वान गरेका हुन् । यस आन्दोलनको केन्द्रमा भने अब देशको नेतृत्व कसरी गर्ने र कस्तो सरकार बनाउने भन्ने विषयमा जेन–जीका प्रतिनिधिहरूमाझ बहस सुरु भएको छ । उनीहरूको साझा धारणामध्ये तत्कालका लागि अन्तरिम सरकार र त्यसपछि चुनाव र चुनावमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने माग बलियो देखिएको छ ।

Advertisement

जेन जीका सक्रिय अभियन्ता २१ वर्षीय विकास यावदले अहिलेका युवा पुस्ताको निराशा र परिवर्तनको चाहनालाई यो आन्दोलनले प्रतिबिम्बित गरेको बताए । प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि अब आन्दोलनका मागहरूलाई संस्थागत गर्नेतर्फ लाग्नुपर्नेमा उनको जोड छ । ‘विश्वभरमा कुनै पनि व्यवस्था आफैंमा उत्तम हुँदैन, व्यवस्थाले मान्छेको अवस्था परिवर्तन गरिदिने होइन, त्यो व्यवस्थाभित्र भएका विकृति हटाउने हो,’ यादवले भने, ‘हामीलाई यो व्यवस्था नराम्रो लागेको होइन, यसका विकृति नराम्रो लागेका हुन् ।’ वार्ताका लागि आफ्ना माग बुँदागत रूपमा प्रस्तुत गर्दै उनले अहिलेका घटनाहरूको समीक्षा गरी क्षतिपूर्ति र सहिद घोषणाको मागलाई प्राथमिकतामा राखेका छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग अगाडि सारे ।
‘अब सबैभन्दा पहिला संसद विघटन हुनुपर्छ,’ उनले भने, ‘राष्ट्रपतिले निकालेको विज्ञप्ति र आह्वान गरेको वार्तामा चाहिँ हामी सहभागी हुन्नौं । देशमा विकृति ल्याउन राष्ट्रपतिको पनि भूमिका छ, उहाँले राजीनामा नै दिनुपर्छ । त्यसपछि अन्तरिम सरकारले नेतृत्व गर्नुपर्छ ।’ कर्मचारीतन्त्रमाथि भने आफूहरूको आक्रोश बाकी रहेको उनले बताए ।

Advertisement

जेन जी मुभमेन्ट नेपालकी अगुवा सपना गौतमले आफू तोडफोड र आगजनीको विरोधमा रहेको स्पष्ट पार्न चाहिन् । ‘अब हामी डिजिटल प्रदर्शनमा मात्र सहभागी हुन्छौं,’ उनले भनिन्, ‘मंगलबार पनि हामी सडकमा थिएनौं, भर्चुअल्ली विद्रोह गरेका थियौं ।’ हिंसात्मक गतिविधिमा जेन जीको संलग्नता नरहेको उनको भनाइ छ । ‘हाम्रो माग प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ,’ उनले भनिन्, ‘अहिलेलाई बालेन शाहले सम्हाल्नुपर्छ ।’ मंगलबार सिर्जना भएको अवस्था आफूहरूले कल्पनासमेत नगरेको उनको भनाइ छ ।

संसद् विघटन गरी नयाँ पुस्ता र नयाँ अनुहारहरूलाई संसदमा ल्याउन मध्यावधि चुनाव हुनुपर्ने उनको विचार छ ।
आन्दोलनमा प्रत्यक्ष रूपमा सहभागी नभए पनि भ्रष्टाचार हुनुहुँदैन भन्ने कुरामा आफ्नो पूर्ण समर्थन रहेको बताउने दिविशा आचार्य आन्दोलनले हिंसात्मक रूप लिएकोमा दुःखी छन् ।

आन्दोलनमा भर्चुअल्ली सहभागी भएको बताउने एलिसा बेलबासेले पनि मंगलबारको घटनाक्रमले आफूलाई निराश बनाएको बताइन् । आन्दोलनका क्रममा सांस्कृतिक सम्पदा तथा सर्वोच्च अदालत, पुरातत्व विभागजस्ता महत्वपूर्ण संरचनाहरू ध्वस्त हुनु राम्रो नभएको उनको भनाइ छ ।

कान्तिपुर दैनिक

प्रतिक्रिया