सांस्कृतिक पुनरुत्थानको नमुना : ३५ वर्षपछि ब्युँतिएको तारकेश्वरको लाखे जात्रा

विदुर खबर २०८२ भदौ १२ गते ७:१०

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर २ तारुका सातदोबाटोमा पोहोर साल पुनरुत्थान भएको लाखे जात्रा यसपटक पनि भव्य रूपमा सम्पन्न भएको छ ।

Advertisement

३५ वर्षअघि लोप भएको लाखे जात्रा गाउँपालिका अध्यक्ष शिव अधिकारी ’अविरल’को निर्देशनमा ब्युँतिएसँगै तारूकाको तिज मेलाले नयाँ रौनक पाएको छ ।

जात्रामा नेवार समुदायको विशिष्ट सांस्कृतिक झाँकी ’लाखे नाच’ देखाइयो । लाखे नाच हेर्न सबै समुदायका बालकदेखि वृद्धसम्म उपस्थित थिए । जात्रामा युवा पुस्ताको आकर्षण भव्य देखियो ।

Advertisement

तारुकामा सदिऔंदेखि चलिआएको लाखे जात्रा साढे तीन दशकदेखि बन्द थियो । अध्यक्ष अधिकारीले संस्कृति संरक्षणसँगै सांस्कृतिक पुनरुत्थानको अभियान स्वरूप यो जात्रा पुनः सञ्चालन गर्न पहल गरेका थिए ।

नयाँ पुस्तामा सांस्कृतिक पुनर्जागरण सुरु भइसकेको छ,’ जात्रा पुनरुत्थानका सूत्रधार अध्यक्ष अधिकारी भने, ’पुराना मेला, पर्व, संस्कृति र सम्पदाको पुनरुत्थानमा युवा पुस्ताको रुचि बढ्दै गएको मेलामा सहभागीहरूको भिडले नै देखाएको छ ।’

Advertisement

आफू अध्यक्षमा निर्वाचित भएदेखि नै विभिन्न जाति समुदायका संस्कृति र सभ्यताको संरक्षण र पुनरुत्थानका लागि काम गरिरहेको अध्यक्ष अधिकारी बताउँछन् ।

पुरानो संस्कृति ब्युँतिएकोमा तारुकावासी खुसी छन् । ’आफूले आफ्नो संस्कृति धान्न नसकेकोमा पछुतो लागिरहन्थ्यो,’ मेलामा सहभागी एक प्रौढ पुरुषले भने, ’ जात्रा ब्युँतिएसँगै बालापनको सम्झना फर्केर आयो । आउने पुस्ताले हामीले जस्तो गल्ती नगरुन्, यो जात्रालाई जुग–जुगसम्म चलाइरहुन् ।’

महिलाहरूको महान् पर्व तिजका दिन चल्ने यो जात्राले महिलाको पर्वमा पुरुषहरूको पनि सहभागिता गराउने र महिला पुरुष दुवै मिलेर उत्सव मनाउने संस्कृति बसाएको छ । त्यसैले यो जात्रा अन्य जात्राभन्दा भिन्न र विशिष्ट रहेको स्थानीयहरूको भनाई रहेको छ ।

प्रतिक्रिया