साउन १५ भित्रै रसुवागढी नाका सुचारु हुने

नुवाकोट । नेपाल–चीन सीमामा अवस्थित ल्हेन्देखोलामा अकस्मात् आएको बाढीले पुल बगाउँदा बन्द भएको रसुवागढी–केरुङ नाका साउन १५ भित्रै संचालनमा आउने भएको छ ।

दीर्घकालिन रुपमा स्थायी पुल बनाउन केही वर्ष लाग्ने भएपछि सरकारले अल्पकालिन विकल्पको रुपमा तत्कालै बेलिब्रिज निर्माण गरेर नाका सुचारु गर्ने तयारी गरेको हो ।
सडक विभागका अधिकारीहरुका अनुसार उच्च भारवाहन क्षमताका सवारी साधान गुड्ने गरि पक्की पुल बनाउनको लागि लामो समय लाग्ने भएपछि साउनको ८-१० गते भित्रै बेलिब्रिज निर्माण गरिसक्ने गरि अहिले काम भइरहेको छ । सुरुमा साना गाडीहरूको आवागमन सुरु गरिहाल्ने र भदौ भित्रै कन्टेनरलगायतका ठूला गाडीको आवतजावत हुने गरी संचालन गर्ने तयारी गरिएको छ ।
‘ढिलोमा पनि साउन १५ भित्र बेलिब्रिजमा सवारी गुड्न थाल्छन् र नाका सुचारु हुन्छ । ठूला कण्टेनरको लागि भने अरु एक, डेढ महिना लाग्न सक्छ’ विभागका एक अधिकारीले भने ।
त्यहीअनुसार अहिले बेलिब्रिज जडानको लागि आवश्यक तयारी भइरहेको छ भने क्षतिग्रस्त अन्य संरचनाहरुको पुननिर्माण पनि शुरु गरिएको छ ।
गत साताको बाढीले स्याफ्रुबेँसिदेखि रसुवागढीसम्मको १७ किलोमिटर सडकखण्डमध्ये एक दर्जन ठाउँमा बाढीका कारण क्षति पुगेको थियो । ती सबै स्थानको पुननिर्माणको कार्य यसै साता सम्पन्न हुने विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
विभाग स्रोतकाअनुसार बेलिब्रिज निर्माणलगायतका कामहरुमा स्थानीय चिनियाँ प्रशासनसँग पनि कुराकानी भइरहेको छ भने नाका सुचारु र अन्य पुननिर्माणका कामहरुको लागि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थमन्त्रालय लगायतका निकायहरुले पनि तत्परता देखाइरहेका छन् ।
बाढीपछि क्षतिको अवलोकन गरेका प्रधानमन्त्री केपी ओलीले समेत जतिसक्दो छिटो नाका संचालनको लागि चासो देखाइरहेको विभागका अधिकारीहरुको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया