रसुवा बाढी : ४ सय ८५ जनालाई सुरक्षित स्थानमा सारियो

रसुवा । रसुवाको भोटेकोशीमा आएको बाढीले विस्थापित भएका ४ सय जना बढीलाई पदमार्ग बनाएर सुरक्षित स्थानमा सारिएको छ ।

२४ असार मध्यराति भोटेकोशीमा आएको विनासकारी बाढीका कारण धुन्चे–टिमुरे खण्डदेखि सीमानाकासम्मै सडक अवरुद्ध छ । शसस्त्र प्रहरी बलका अनुसार हालसम्म त्यसक्षेत्रमा फसेका ४ सय ८५ जनाको उद्धार गरी पदमार्ग बनाएर गन्तब्यतर्फ पठाइएको छ ।
यस्तै रसुवागढी भन्सार कार्यालय यार्डमा फसेको २ वटा कन्टेनर र एउटा ईभी गाडीलाई समेत सुरक्षित ठाउँमा सारिएको छ ।बाढीमा परेर अहिले पनि ३ जना प्रहरीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता छन् ।
हालसम्म ४ जनाको शव र ५ वटा मानव अंग फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । फेला परेका शवमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ । अन्य शव र मानव अंग परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।
शव तथा मानवअंग धादिङ्गको गजुरी गाउँपालिका–६ बेल्खु, गल्छी गाउँपालिका–२ केउरेनिटार, बेनिघाट रोराङ गाउँपालिका–३ लामाबगर र चरौदी, गजुरी गाउँपालिका–२ मलेखु, नुवाकोट जिल्लाको विदुर–३ शिरखाली र मरनपाटी, रसुवाको उत्तरगया गाउँपालिका–५ उत्तरगयाधाम खोलाको किनारा तथा त्रिशुली नदीको किनारामा फेला परेको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधारणहरु समेत उद्धारमा खटिएका छन् ।
मंगलबारयता बाढीको चपेटमा परेका ५० जना नेपाली, ४ जना भारतीय र एक चिनियाँ नागरिकको सकुशल उद्धार भएको छ ।
बाढीले जोखिममा परेका १६५ घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
बाढीले ४२ वटा ईभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा ट्रक लगायत लोेडर, एक्साभेटर, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसीन र २० वटा ग्राण्डिङ मेसिन बगाएको छ ।
भन्सार क्षेत्रमा रहेको ईभी गाडीका चार्जिङ्ग स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडवर्क्स र लेवर क्याम्प, चिलिमे जलविद्युत आयोजनाको सुरुङ्गमार्गमा समेत क्षती पुर्याएको छ ।
भोटेकोशी खोला (तिब्बततर्फ ल्हेन्दे खोला भनिने) मा आएको लेदोसहितको बाढीले उग्ररुप लिँदा रसुवा गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल समेत बगाएको छ ।
सीमाको पुल नै बाढीले बगाएपछि चीनसँगको व्यापार र आवतजावत पूर्ण ठप्प छ ।विद्युतसमेत अवरुद्ध रहेकाले हाल त्यस क्षेत्रमा मोबाइल टावरले समेत काम गर्न छाडेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया