गजुरी हत्या प्रकरण : संग्लन तीनै जनालाई जन्मकैदको फैसला

नुवाकोट । धादिङ जिल्ला अदालतले व्यक्ति हत्या घटनामा संग्लन तीनैजनालाई जन्मकैदको फैसला गरेको छ ।

२७ चैतको राति प्रहरीले धादिङको गजुरी गाउँपालिका-२ का चूडामणि कँडेललाई घरभित्रै मृत अवस्थामा फेला पारेको थियो ।चूडामणिको हत्यामा संग्लन रहेको भन्दै प्रहरीले वैशाख ३ मा अक्कलबहादुर प्रजालाई र वैशाख १६ मा उनका भान्जा पर्ने २५ वर्षीय पृथलाल थिङ र ज्वाइँ पर्ने सञ्चलाल मुक्तानलाई पक्राउ गरेको थियो ।
जिल्ला अदालत धादिङका सूचना अधिकारी केशवराज अधिकारीले तीनैजनालाई जन्मकैदको फैसला सुनाएको बताए ।प्रहरीका अनुसार चूडामणिले लामो समयदेखि श्रीमतीलाई मार्ने योजना बनाएका थिए । त्यसका लागि उनले आफ्नै जग्गा भाडामा लिई खेतीपाती गरिरहेका अक्कलबहादुरसँग योजना बनाएका थिए । त्यसका लागि उनले ०८१ पुसमा अक्कलसँग चार लाखमा ‘डिल’ गरेका थिए । चूडामणिले सुरुमा १६ हजार ६ सय रुपैयाँ सुरुमै बैनास्वरुप दिएका थिए ।
गत चैतमा काठमाडौंबाट फर्केर चूडामणिले काम छिनोफानो गर्न भन्दै अक्कललाई बाँकी ३ लाख ८२ हजार रुपैयाँ पनि दिएका थिए । तर पैसा बुझे पनि भनेअनुसार काम गर्न नसकेपछि चूडामणिले उनीलाई बारम्बार धम्काउने र दबाब दिन थालेका थिए ।
दुई किस्तामा पैसा बुझेपछि अक्कलले योजनाअनुसार काम फत्ते पार्न भान्जा पर्ने पृथलाल र ज्वाइँ पर्ने सञ्चलालसँग मिलेर योजना बनाएका थिए । तर चार पटकको प्रयासमा पनि उनीहरुले चूडामणिकी श्रीमती मार्न नसकेपछि चूडामणिले कि काम भनेअनुसार गर्न नभए पैसा फिर्ता गर्न दबाब दिन थालेका थिए । त्यसपछि अक्कलले चूडामणिलाई नै मार्ने योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।
अक्कलसहितको टोलीले सुरुमा चूडामणिको ट्वाइलेट हेर्ने बहानामा भित्र लगेर मुक्का हानेको र बेहोस पारेका थिए । त्यसपछि लात्तीले हानेर घाँटीमा डोरी कसी झुन्ड्याएका थिए अनि अन्तिममा कोदालोले प्रहार गरेर हत्या गरेका थिए । घटनाका बेला अक्कलबहादुरले भने घरबाहिर बसेर निगरानी गरेका थिए ।
प्रहरीका अनुसार हत्यापछि तीनैजनाले ३ लाख ८२ हजार रुपैयाँ बाँडेर लिएका थिए । त्यसपछि अक्कलबहादुर गाउँमा गएर लुकेका थिए भने पृथ र सञ्चलाल पूर्वतिर भाग्न बस चढेका थिए । प्रहरीले अक्कलको घरबाट एक लाख रुपैयाँ र चूडामणिको मोबाइल फुटेको अवस्थामा बरामद गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया