मेयर कप क्रिकेटको उपाधि वडा नं ३ ले उचाल्यो

नुवाकोट । नुवाकोटको विदुर ५ पिपलटारमा जारी प्रथम विदुर मेयर कप वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले हात पारेको छ ।

शनिवार सम्पन्न भएको फाईनलमा वडा नम्बर ४ लाई १०४ रनको भारी अन्तरले पराजित गरि वडा नम्बर ३ ले उपाधिमाथि कब्जा जमाएको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विदुर ३ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । उसका लागि मन्जित थपलियाले ९४ रनको योगदान गरे । उनले ५५ वलमा ७ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै राजेश रिमालले नटआउट रहँदै ४७ रन थपे ।
बलिङतर्फ विदुर ४ का किशोर अर्याल र संजित तिवारीले समान दुई विकेट लिए ।
जवाफमा १८९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको ४ नम्बर वडा १८.४ ओभरमा ८३ रनमा समेटियो । विदुर ४ लाई सस्तोमा समेट्न विदुर ३ का सुरज ओझाले तीन विकेट लिए । यस्तै विधान खतिवडा र निराजन थापाले दुई विकेट हात पारे ।
विदुर ४ को लागि किशोर अर्यालले २५ र विकास लामिछानेले १८ रन बनाउनु वाहेक अन्यले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।
प्रतियोगिताको उपाधि विजेता विदुर ३ ले ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता रहेको विदुर ४ ले २५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।
प्रतियोगिताको विजेता तथा उपविजेताहरुलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जित, वडा नम्बर ३ का वडाध्यक्ष बद्री रिमाल, वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल र वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने लगायतले पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष विजय गुरुङ, नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठक, विदुर नगरपालिकाका नगर खेलकुद समितिका अध्यक्ष अच्युत गिरी लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया