बढी भाडा लिने सवारी साधन कारबाहीमा

विदुर खबर २०७५ असोज २९ गते ८:०३

काठमाडौँ,  बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

Advertisement

दशैँको ‘अग्रिम टिक बुकिङ’देखि नै यातायात व्यवस्था विभागले चार वटा अनुगमन समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेको थियो । त्यसक्रममा हालसम्म ५०० सवारीलाई कारबाहीको दायरामा ल्याइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो ।

उपत्यका बाहिर जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको उहाँले बताउनुभयो । बढी भाडा लिने सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको छ । विशेषगरी साना माइक्रो, हायस र टाटा सुमोले तोकेभन्दा बढी भाडा लिएको विभागले जनाएको छ ।

Advertisement

बढी भाडा लिने सवारीको जानकारी विभागको हटलाइन नं. ९८५१२७३२२२ र नेपाल प्रहरीको निःशुल्क नं. १०१ एवं १०३ मा फोन गरेर उजुरी गर्न सकिने प्रवक्ता उपाध्यायले बताउनुभयो । दशैँका जुनसुकै दिन सवारी चलाउनेले पनि विभागले तोकेभन्दा बढी भाडा लिन नपाउने उहाँले बताउनुभयो । लिएमा माथि उल्लेखित नं वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न विभागले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई कारबाहीको दायरामा ल्याउन देशभरका प्रहरी कार्यालयलाई अनुरोध गरिएको जनाइएको छ ।

उपत्यका बाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्रु ठग्ने क्रम बढेको यात्रुको गुनासो छ । दशैँका अवसरमा २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असोज २४ गते घटस्थापनादेखि शनिबारसम्म ६० हजार १६८ सवारीमा पाँच लाख ७१ हजार ९८७ यात्रु दशैँ मान्न उपत्यका बाहिर गएको महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक दामोदर सिलवालले बताउनुभयो । यस अवधिमा ५० हजार ७२९ सवारीमा तीन लाख १९ हजार ६०९ यात्रु उपत्यका भित्रिएका छन् ।

Advertisement

प्रतिक्रिया