नुवाकोट प्रहरी १९ दिनदेखि प्रमुखबिहीन

विदुर खबर २०८० चैत २१ गते १९:१६

नुवाकोट । नुवाकोट १९ दिनदेखि जिल्ला प्रहरी प्रमुखविहीन बनेको छ ।

Advertisement

सुन तस्करी जाँचबुझ आयोगको कारबाही सिफारिसपछि नुवाकोटका एसपी सञ्जयसिंह थापा प्रहरी प्रधान कार्यालय तानिएका थिए । त्यसयता नुवाकोट प्रहरी प्रमुखबिहीन बनेको छ ।

२ चैतमा जिम्मेवारी खोस्दै एसपी थापालाई प्रहरी हेडक्वाटर तानिएको थियो । एसपी थापा प्रहरी हेडक्वाटर तानिएको १९ दिन बितिसकेको छ । तर अहिलेसम्म प्रहरी प्रधान कार्यालयले नुवाकोटको एसपीमा कसैलाई पठाएको छैन ।

Advertisement

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकाल भने जतिसक्दो चाँडो प्रहरी प्रमुख पठाउने तयारीमा प्रहरी प्रधान कार्यालय रहेको दाबी गर्छन् । ‘किन अहिलेसम्म पठाइएन भन्ने भन्दा पनि प्रक्रिया पुर्‍याएर विभागले सरुवा गर्छ । जतिसक्दो चाँडो प्रहरी प्रमुख पठाउने तयारीमा विभाग छ’ ढकालले  भने ।

नुवाकोटबाट तानिएका एसपी थापाले सुन तस्करीका मुख्य अभियुक्त भनिएका जीवन चलाउनको बयान लिएर पनि च्यातेको आरोप लागेको छ ।

Advertisement

पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजक रहेको उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले १ चैतमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आयोगको प्रतिवेदन तत्काल कार्यान्वय गर्ने निर्णय भएको थियो ।

उक्त प्रतिवेदनमा सीआईबीका एआईजी किरण बज्रचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्धय रुगम कुवँर र दुर्गा दाहाललाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको थियो । सुनको अनुसन्धानमा उनहरुले गम्भीर लापरबाही गरेका, मुख्य अभियुक्त भनिएका जीवन चलाउनेलाई सीआईबीमै बयान लिएर समेत छाडेको देखिएको भन्दै चार प्रहरी अधिकृतलाई कारबाहीका लागि सिफारिस गरिएको थियो ।

त्यतिबेला एसपी थापा भने नुवोकाटको प्रहरी प्रमुखको रुपमा कार्यरत थिए । आयोगको सिफारिसपछि २ चैतमा उनी प्रहरी हेडक्वाटर तानिएका थिए । एसपी थापा बाहेक कारबाही सिफारिसमा परेका तीनै जना सीआईबीमै थिए । उनीहरुलाई पनि हेडक्वाटर तानिएको थियो ।

आयोगले विभागीय कारबाहीका लागि सिफारिस गरेपछि कस्तो कारबाही गर्ने भन्ने विषयमा अध्ययन गर्न गृह मन्त्रालयले १० चैतमा अर्को समिति बनाएको थियो ।

गृहको कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही सदस्य रहेको समिति बनाइएको थियो ।

समितिले अहिले कारबाही प्रक्रियाबारे केही टुंगो नलगाएकाले नुवाकोटको एसपीमा कसैलाई पनि नपठाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । ‘कस्तो कारबाही हुने, के कारबाही हुने, क–कसलाई हुने भन्नेबारे अझै अध्ययनकै क्रममा रहेकाले नुवाकोटका एसपीमा अहिले कसैलाई नपठाइएको हो । कारबाहीको टुंगो लागेपछि मात्रै नुवाकोटमा एसपी पठाउने तयारी छ’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

गत २ साउनमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन र विद्युतीय चुरोट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरण अनुसन्धानका लागि छुट्टै स्वतन्त्र आयोग बनाउने माग राख्दै संसद अवरुद्ध भएपछि सरकार आयोग गठनका लागि तयार भएको थियो ।

दलीय सहमतिका आधारमा सरकारले १४ असोजमा आचार्यको अध्यक्षतामा सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी ४ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

समितिमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृहमन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य थिए ।

प्रतिक्रिया