बागमती सरकारमा एमाले फर्कियो

विदुर खबर २०८० चैत १८ गते १०:४५

नुवाकोट । नेकपा एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको छ ।

Advertisement

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार आर्थिक मामिला मन्त्रीमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई नियुक्त गरेका छन् ।थपलियाले शनिबार साँझ नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । थपलिया यसअघि २६ पुस २०७९ मा जम्कट्टेल मन्त्रिपरिषदमा आर्थिक मामिला मन्त्री थिए ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले छाडेर कांग्रेससँग सहकार्य गरेपछि बागमतीमा पनि एमालेका मन्त्रीहरुले साढे दुई महिनामै राजीनामा दिएका थिए । १० चैत २०७९ मा राजीनामा दिएर सरकारबाट बाहिरिएका थपलियाले गठबन्धन फेरबदलकै कारण फेरि मन्त्री बन्ने अवसर पाए । चितवनका थपलिया बागमती प्रदेशसभाको पहिलो कार्यकालमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार थिए ।

Advertisement

मुख्यमन्त्री जम्कट्टेलले सत्ता समीकरणमा फेरबदल आएपछि दोस्रो पटक सरकार विस्तार गरेका हुन् । यसअघि १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका थिए । अब भने १९ चैतमा विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

नेकपा एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको छ । रिक्त ६ वटा मन्त्रालयमध्ये एउटा हाम्रो नेपाली पार्टीका बज्राचार्यले लिइसकेका छन् । १२ सदस्यीय मन्त्रिपरिषदमा माओवादी केन्द्रले मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूवार्धार विकास मन्त्रालय र सामाजिक विकास गरी ४ वटा मन्त्रालय सम्हालिरहेको छ ।

Advertisement

नेकपा (एकीकृत समाजवादी)ले श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ । अब बाँकी ४ वटा मन्त्रालयमा एमालेले दाबी गरेको एक सांसदले जानकारी दिए ।

कांग्रेसले सरकार छाडेपछि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालय र स्वास्थ्य मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलसँग छ ।

प्रतिक्रिया