सुन तस्करीका नाइकेलाई तत्काल पक्राउ गर

विदुर खबर २०८० चैत ५ गते ८:४०

नुवाकोट । गृह मन्त्रालयले पछिल्लो समय सुन तस्करीका नाइकेहरुलाई कानुनी दायरामा ल्याउन गरेको पहल निकै सकारात्मक छ। सरकारले केही समयअघि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठन गरेको सुन तस्करी छानबिन आयोगले प्रतिवेदन बुझाएसँगै तरंग सिर्जना भएको छ ।

Advertisement

यसअघि ६० किलो सुन तस्करीलगायत अन्य सुन तस्करी प्रकरणमा सीआईबीले गरेको छानबिनमा ठूलो त्रुटि भएको र सुन तस्करीका मुख्य नाइकेहरुलाई बचाउने काम गरेको भन्दै आयोगले सीआईबीका तत्कालीन प्रमुखलगायतका अधिकारीमाथि नै कारबाही गर्न सिफारिस गरेपछि सीआईबीको बद्मासी सतहमा आएको छ।

सीआईबीले कानुनी शासनको उपहास गर्दै ठूलालाई जोगाउने र सानालाई कारबाही गर्ने रणनीति लिएको विषय त्यतिखेर पनि खुलासा भएको थियो तर तत्कालीन समयमा सरकारमा रहनेहरुले बेवास्ता गरेकाले भीआईपीहरु उम्किएका थिए । तर अहिले भने सरकारले सुन तस्करीमा जोसुकै देखिए पनि कारबाही हुने प्रतिबद्धता जनाएकाले पनि यसका मुख्य नाइकेहरु ढिलो–चाँडो कानुनको दायरामा आउने सहजै विश्वास गर्न सकिन्छ।

Advertisement

विशेष गरी पछिल्लो समय उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी गर्ने जतिसुकै ठूला व्यक्तिहरु भए पनि तिनलाई नछोड्ने प्रतिबद्धता जनाउँदै आउनुभएको छ । गृहमन्त्रीले आफ्नो प्रतिबद्धतालाई पूर्णरुपमा व्यवहारमा उतार्न खोजिरहनुभएको छ।

त्यतिखेर सीआईबीको नेतृत्वले त्रुटि गरेको भन्दै सीआईबीमा हाल नयाँ नेतृत्व ल्याइएको छ। यसले अगामी दिनमा सीआईबीले निष्पक्षतापूर्वक काम गर्न सक्ने आशा पलाएको छ । यद्यपि विगतमा हुने विभिन्न खाले राजनीतिक दबाबका कारण प्रहरी प्रशासनले पनि निष्पक्षपूर्वक काम गर्न नसकेको यथार्थ छ।

Advertisement

अहिले पनि प्रधानमन्त्री तथा अन्य उच्च तहको राजनीतिक नेतृत्वबाट फेरि पहिलेकै जस्तो दबाब परेमा प्रहरी प्रशासन सुन तस्करीका मुख्य नाइकेलाई खोज्न असफल हुनेछ । त्यसैले अब प्रहरी प्रशासनलाई स्वतन्त्रपूर्वक काम गर्न दिने वातावरण सिर्जना गर्नुपर्छ।

सुन तस्करीलगायतका बद्मासी गर्नेलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन सकिएमा मुलुकमा सुशासनको अनुभूति गर्न सकिने र त्यसले विकास र समृद्धिको ढोकासमेत सहजै खुल्न सक्छ। त्यसैले अब सरकारले हरेक प्रकारका तस्करी र बद्मासीलाई समयमा नै पूर्णरुपमा नियन्त्रण गर्न सक्नुपर्छ।

आचार्य आयोगले औँल्याएका मुख्य दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन गृह मन्त्रालय चुक्नुहुँदैन। कुनै प्रकारको सोर्सफोर्स, दबाब र भनसुनको प्रभावमा अब गृह मन्त्रालय र सीआईबी पर्नुहुँदैन । वर्तमान गृहमन्त्रीबाट जनताले ठूलो आशा र विश्वास गरिरहेका छन्। त्यसैले गृहमन्त्री आफ्नो प्रतिबद्धताबाट कुनै हालतमा ब्याक हुनुहुँदैन ।

मुलुकमा चारैतिर कुशासन मौलाइरहेको र आम जनतामा निराशा छाइरहेको अवस्थामा अहिले गृह मन्त्रालयले थालेको अभियान सफल भएमा पक्कै पनि जनतामा उत्साह थपिनेछ । मुलुकमा सुशासन कायम हुने जगसमेत बिस्तारै बस्दै जानेछ।

गृहमन्त्रीको एक्सनसँगै त्यससको सिको अन्य मन्त्रालयका मन्त्रीहरुले पनि गर्नुपर्ने आवश्यकता बढेर गएको छ। गृह मन्त्रालयलगायत सबै क्षेत्रमा एकैपटक सुधारको थालनी गर्न अब एक मिनेट पनि ढिलाइ गर्नुहुँदैन । गृह प्रशासनले पनि छिटोभन्दा छिटो सुन तस्करीका मुख्य नाइकेलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउनुपर्छ।

प्रतिक्रिया