जलविद्युत्‌को बजार सुनिश्चित

विदुर खबर २०८० पुष २२ गते १०:४७

नुवाकोट । नेपालमा जलविद्युत्‌को पर्याप्त सम्भावना रहेको तर क्षमताअनुसार उत्पादन गर्न नसकिएको कुरा धेरैलाई विदित नै छ। तथापि, नेपालको जलविद्युत् उत्पादन क्षमता कति हो भन्ने यकिन तथ्यांक छैन।

Advertisement

६ दशकअघि गरिएको शोधलाई आधार बनाएर अहिले पनि बहस र तर्क गर्ने गरिन्छ। तर, सरकारीस्तरबाट यस विषयमा पर्याप्त अध्ययन र तथ्यांक संकलन गर्ने कार्य भएको छैन।

जलविद्युत् उत्पादन गर्ने क्षमताको वास्तविक तथ्यांक नभए पनि नेपालमा जलविद्युत्को पर्याप्त सम्भावना रहेको कुरा भने यथार्थ हो। यही यथार्थका बीच नेपालमा जलविद्युत्का क्षेत्रमा आन्तरिक र बाह्य लगानी हुँदै आएको छ।

Advertisement

नेपालमा जलविद्युत् उत्पादन शुरु भएको करिब ११२ वर्ष भयो। तथापि, आन्तरिक मागलाई व्यवस्थापन गर्न सक्ने गरी अझै उत्पादन हुन सकेको छैन।

बर्खाका केही महिनाबाहेक हिउँदमा अझै पनि भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ। यद्यपि, वर्षाको मौसममा नेपालबाट विद्युत् भारत निर्यातसमेत हुने गरेको छ।

Advertisement

आगामी दिनमा नेपालमा ठूलो परिमाणमा जलविद्युत् उत्पादन हुने क्रममा रहेको छ । तर, बजारको सुनिश्चितता नहुँदा निर्माणको तयारीमा रहे पनि उत्पादन अनुमति र विद्युत् खरिद सम्झौता हुन सकेको छैन।

वर्षामा खेर जाने तर हिउँदमा नपुग्ने अवस्था नेपालको रहेको पृष्ठभूमिमा नेपाल–भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले केही आशाको दियो देखाएको छ।

उक्त सम्झौतापश्चात् भारतले नेपालबाट आगामी दिनमा १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्नेछ। गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने प्रारम्भिक हस्ताक्षर भएको थियो।

सोही आधारमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रणका क्रममा सो सम्झौता गरिएको हो। सम्झौतापश्चात् भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा विद्युत् खरिद–बिक्री सम्झौता गरी बिजुली लिनेछन्। नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात–निर्यात गर्न सक्नेछन् ।

हाल नेपालले भारतीय बजारमा ६ सय ३२ मेगावाट बिजुली बिक्री गर्न अनुमति पाएको छ। पछिल्लो एक वर्षमा नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली बेचेर १५ अर्ब २७ करोड रुपियाँसमेत आम्दानी गरेको छ।

सरकारले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने रणनीतिक लक्ष्य लिएको छ। जसमध्ये १३ हजार मेगावाट आन्तरिक खपतका लागि र बाँकी १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखको छ । भारतसँगको यस सम्झौताले नेपालमा उत्पादित विद्युत्को बजारलाई थप सुनिश्चित गरेको छ । यससँगै आगामी वर्षदेखि नेपालले भारतमा विद्युत् निर्यात गर्नेछ।

त्यस्तै तीनवटा अन्तर्देशीय प्रसारण लाइन कुशाहा (नेपाल)–कटैया (विहार, भारत) १३२ केभीको सेकेन्ड सर्किट, परवानीपुर (नेपाल)–रक्सौल (विहार, भारत) १३२ केभी सेकेन्ड सर्किट र मैनहिया (नेपाल)–न्यू नौतनवा (सम्पतिया) १३२ केभी प्रसारण लाइनको उद्घाटन भएको छ।

यसअघि रक्सौल–परवानीपुर, कुशाहा–कटैया प्रसारण लाइनको एक–एकवटा सर्किट सञ्चालनमा थिए । ती प्रसारण लाइनमा अर्को सर्किट थप गरी डबल सर्किटमा निर्माणाधीन छन्।

यी लाइनबाट हाल ८० मेगावाट बराबरको बिजुली आदानप्रदान हुँदै आएकोमा दोस्रो सर्किट सञ्चालनमा आएपछि थप ८० मेगावाट बिजुली आदानप्रदान गर्न सकिन्छ।

यसबाट नेपालको जलविद्युत्को व्यापारमा नयाँ आयाम थपिनुका साथै व्यापार घाटा न्यूनीकरण गर्दै नेपालको आर्थिक एवम् सामाजिक विकासमा नयाँ फड्को मार्ने अपेक्षा गर्न सकिन्छ।

प्रतिक्रिया