सान्जेनका लगानीकर्ताको यस वर्ष पनि हात खाली

विदुर खबर २०८० मंसिर २७ गते १४:०७

नुवाकोट । सान्जेन जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताको यस वर्ष पनि खाली हात भएको छ । मङ्सिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो ।

Advertisement

यससँगै दोस्रो बजार मार्फत सेयर खरिद गरेका तथा कम्पनीको आईपीओ हालेका लगानीकर्ताले साढे चार वर्षसम्म लाभांशबिहीन बनेका हुन् । कम्पनीले २०७६ बैशाख ६ देखि १० गतेसम्म सर्वसाधारणमा ५४ लाख ७५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो ।

सोभन्दा अघि २०७४ चैतमा नै संस्थापक लगानीकर्ताहरु नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्यूत कम्पनी र रसुवाका स्थानीय तहका कर्मचारी तथा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि १६ लाख ४२ हजार ५०० कित्ता सेयर जारी गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ३६ लाख ५० हजार कित्ता सेयर भने कम्पनीले २०७९ भदौमा आईपीओ खुला गरेको थियो ।

Advertisement

विद्युत उत्पादनमा ढिलाई हुँदा कम्पनीका लगानीकर्ताले समेत लाभांश पाउन ढिलाई भएको हो । कम्पनीले निर्माण गरेको १४.८० मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजना निर्माण सम्पन्न भई गत साउन २० गते राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत जोडिएको छ ।

४२.५० मेगावाटको सान्जेन जलविद्युत आयोजनाको बिजुली पुसभित्र राष्ट्रिय प्रसारण ग्रिडमा जोडिने अवस्थामा छ । आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि २०७२ सालको विनासकारी भुकम्प, नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा आएको बाढी, पहुँचमार्गमा निरन्तर गएको पहिरो, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका लम्बिदै गएको कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीको पछिल्लो तालिका अनुसार आयोजनाबाट २०७८ असारभित्र सम्पन्न गर्ने लक्ष्य थियो तर, २०७७ सालको वर्षायाममा प्रक्षेपण गरिए भन्दा अघि आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलीब्रिजमा क्षति पुर्याई आवतरजावतमा कठिनाई र पहुँचमार्ग पूर्ण रुपमा क्षति पुगेकोले सम्पन्न गर्न नसकिएको कम्पनीले जनाएको छ । आयोजना निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तर निर्माणमा ढिलाइ, डलरको मूल्यवृद्धि र मुद्रास्फीति र अन्य कारणले गर्दा आयोजनाको लागत बढ्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले पुस २९ गते १२ औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो ।  सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा पुस १८ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

 

प्रतिक्रिया