नुवाकोटमा छोरीलाई शिक्षक बनाउन प्रअद्वारा प्रतिस्पर्धीको दरखास्त अस्वीकार
नुवाकोट । नुवाकोट सूर्यगढी गाउँपालिका–१ स्थित मंगलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक दत्तप्रसाद न्यौपानेले आफ्नै छोरीलाई राहत शिक्षकमा नियुक्ति गर्न अन्य प्रतिस्पर्धीको दरखास्त लिन अस्वीकार गरेको पाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटको स्वीकृतिमा दुई जना राहत अनुदान दरबन्दीमा शिक्षक नियुक्ति गर्न भदौ १२ गते विद्यालयले विज्ञापन गरेको थियो । गोप्य रूपमा गरिएको विज्ञापनको सूचना बाहिरिएपछि दरखास्त दिन पुगेका अन्य प्रतिस्पर्धीको निवेदन दर्ता गर्न रोकिएको विद्यालय स्रोतले जनाएको छ ।
राहत दरबन्दी शिक्षा मन्त्रालयले तलबसुविधा अनुदान दिने कोटा हो । उक्त पदमा निवेदन दिन जाँदा प्रअ न्यौपानेले दर्ता गर्न अस्वीकार गरेको विदुर नगरपालिका–४ की नानुमैया नेपालले बताइन् । उनी शिक्षक सेवा आयोगको खुल्ला प्रतिस्पर्धामा गत चैतमा वैकल्पिकमा परेर करार सूचीमा सूचीकृत भएकी थिइन् । यस्ता उम्मेदवारलाई स्वतः राहत दरबन्दीमा नियुक्ति दिनुपर्ने व्यवस्था छ । उक्त कुरा विज्ञापनमा पनि उल्लेख छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आयोगका करार सूचीमा परेकालाई प्राथमिकता दिएर शिक्षक नियुक्ति गर्न देशभर सर्कुलरसमेत गरेको छ । नेपाललाई नियुक्ति गर्दा छोरी अञ्जु न्यौपाने प्रतिस्पर्धाबाट स्वतः बाहिरिने भएपछि दरखास्त नै दर्ता नगरिएको विद्यालयका एक शिक्षकले बताए ।
नेपाल आइतबार दरखास्तसहित विद्यालय पुगेकी थिइन् । ‘प्रअले अहिले दरखास्त दिन मिल्दैन, दर्ता पनि हुँदैन भन्नुभयो, दर्ता गर्नैपर्ने भए २६ गते आउनु भन्नुभयो,’ उनले भनिन्, ‘त्यसपछि हामीले गाउँपालिका कार्यालय र शिक्षा इकाइमा उजुरी दिएका छौं ।’ सोमबार उजुरी दिइएको हो । मंगलबार आवेदन दिने अन्तिम दिन थियो । दुई पदका लागि अन्तिम दिनसम्म तीन जनाको मात्रै दरखास्त परेको प्रअ न्यौपानेले बताए । ‘सकभर विद्यालयमा कार्यरत र स्थानीयलाई नियुक्ति दिने हाम्रो कुरा भएको थियो,’ उनले भने, ‘त्यही भएर अरू दरखास्त दर्ता नगरिएको हो ।’ उनले विद्यालयको आन्तरिक कारण बाहिरको दरखास्त लिन नसकिएको स्वीकार गरे । ‘१५/१६ वर्षदेखि करारमा काम गर्दै आएका शिक्षक छन्, उहाँहरूको व्यवस्थापन गर्नुपर्नेछ,’ उनले भने । विद्यालयका एक शिक्षकका अनुसार प्रअकी छोरी एक महिनाअघि मात्र करारमा नियुक्त भएकी थिइन् । उनलाई राहत दरबन्दीमा राख्न चलखेल गरिएको हो ।
प्रअ न्यौपानेले भने कागजात अपुरो भएका कारण अञ्जुको दरखास्त नपरेको जनाए । करारमा कार्यरत शिक्षक सरस्वती श्रेष्ठ, स्थानीय अप्सरा अधिकारी र कुमारी तामाङको मात्र आवेदन दर्ता भएको उनको भनाइ छ । ‘पहिले करारका सरस्वती र अञ्जुले आवेदन दिने कुरा थियो, पछि अञ्जुको प्रक्रिया पुगेन,’ उनले भने । प्रस्तावित शिक्षा विधेयकमा राहत शिक्षकलाई स्वतः स्थायी दरबन्दीमा परिणत गर्ने र स्थायी हुन निश्चित प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ । सोही कारण छोरीलाई जसरी पनि नियुक्ति दिन जिल्लाभित्रै र बाहिरबाट आएका थुप्रै निवेदन अस्वीकार भएको एक शिक्षकले बताए ।
गाउँपालिकाका अध्यक्ष घलेले प्राविको दरखास्त आह्वान गरे पनि माविसम्म पढाउन सक्ने शिक्षक चाहिएकाले निवेदन दर्ता नभएको हुन सक्ने प्रतिक्रिया दिए । ‘प्राविको शिक्षक भए पनि माविमा अंग्रेजी, गणित पढाउनुपर्छ, विषय नमिलेर दर्ता नभएको हुन सक्छ, सबै दरखास्त दर्ता नभएको होइन, करार सूचीको मात्र दर्ता नभएको होला,’ उनले भने । दरखास्त दर्ता नभएको विषयमा गाउँपालिकामा कुनै पनि उजुरी नआएको समेत उनले दाबी गरेको समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया