बालाजु-ककनी-पिपलटार सडक आठ वर्षदेखि अलपत्र
नुवाकोट । नुवाकोट राजधानी काठमाडौंको नजिक र पटक–पटक अर्थमन्त्री भएको जिल्ला हुँदा पनि सुविधायुक्त र भरपर्दो सडक पूर्वाधार निर्माण हुन सकेको छैन ।
सरकारले सडक पूर्वाधारका लागि सुरु गरेको योजनाको काम समयमा नहुँदा जिल्लावासीले विकास निर्माणको नाममा वर्षौँदेखि सास्ती भोगिरहेका छन् । बालाजु–ककनी–पिपलटार–गँगटे–छहरे सडक आयोजना सुरु भएको आठ वर्ष बितिसकेको छ । बालाजु–ककनी–पिपलटार खण्डको सडक विस्तार र स्तरोन्नतिको काम आठ वर्षदेखि अलपत्र परेको छ ।
आयोजनाअन्तर्गत गँगटे–छहरे सडकको पनि केही भाग विस्तार र पिच गर्न विगत दुई वर्षदेखि यथास्थितिमा छोडिएको छ । सडक डिभिजन कार्यालय नुवाकोटअन्तर्गत काम भइरहेको छहरे–टोखा सडकखण्डको पनि कालोपत्रे र ढलान कार्य कछुवाको गतिमा विगत तीन वर्षदेखि भइरहेको छ । बर्सेनि बजेट छुट्याइने गरिएको यो खण्डको सडक निर्माण भएको एक महिनामै भत्किँदा पनि सम्बन्धित निकायले खासै चासो राखेका छैनन् ।
यो खण्डमा बिग्रिएको ढलान मर्मत नहुँदा बनाउँदै जाने, बिगिँ्रदै जाने क्रम छ । गत जेठमा भएको पिच असारमा भत्कँदासमेत सम्बन्धित निकायलाई पूर्वमन्त्रीसहित सङ्घीय र प्रदेश सांसदको टोलीले स्थलगत अनुगमन गरेर आग्रह र निर्देशन दिँदा पनि ती निकायले टेरेका छैनन् ।
राष्ट्रिय गौरवको रूपान्तरणकारी योजनाको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको पनि केही भाग निर्माण सम्पन्न भए पनि आधाभन्दा बढी खण्डको निर्माण अनिश्चित बनिरहेको छ । योजनाको गल्छी–देवीघाट खण्ड सडकको ठाउँठाउँमा बर्खा लागेसँगै जिल्लावासीले आवत–जावतमा कठिनाइ भोगिरहेका छन् ।
बालाजु–ककनी–पिपलटार–गँगटे–छहरे सडक विस्तार थालेको नौ वर्ष बित्यो । तर, निर्माण अलपत्र छ । बर्खामा हिलो र हिउँदमा उड्ने धुलोले वर्षौँदेखि स्थानीयले विकासको नाममा सास्ती भोगिरहेका छन् । निर्माणको नाममा भइरहेको हुँदाखाँदाको सडक भत्काएर लथालिङ्ग छाडेको कारण स्थानीयले ओहोर–दोहोरमा आठ वर्षदेखि कष्ट व्यहोरिरहेका छन् । काठमाडौंको बालाजुदेखि मुड्खुसम्म काठमाडौंको फोहोरको गाडी ओहोर–दोहोर गर्ने भएकाले स्थानीयको दबाबपछि दुईपटक कालोपत्रे भइसकेको छ ।
तिनपिप्लेबाट दाहिनेतर्फ ककनी लागेपछि जोडिन्छ पासाङल्हामु राजमार्गको दुर्दशायुक्त सडक । यस मार्गको अधिकांश सडक खाल्डा–खुल्डी त कतै–कतै ग्राभेल गरेको पनि देखिन्छ । सडकछेउमै घर हुनेलाई बर्खा लागेपछि ठूलै सास्ती दिइरहेको छ । हावा लाग्दा माटो–धुलो मात्र होइन, पानी पर्दा हिलो नै घरभित्र पस्ने स्थानीयको गुनासो रहेको छ । दिनमा तीन–चारपटक सफा गर्नुपर्छ । हुँदाछँदाको सडक भत्काए पनि त्यसमा कालोपत्र नगरिएको कारण सडक उपभोक्तादेखि सडक आसपासका नागरिकले सास्ती पाइरहेका छन् ।
सडक भत्काउनुभन्दा अघि काठमाडौंबाट नुवाकोट र रसुवाको सडक पुगेको गाउँ–गाउँसम्म गुड्ने बस, माइक्रो र सामान ढुवानी गर्ने ट्रक, मिनीट्रक, निजी सवारीसाधन मुड्खु, तिनपिप्ले, काउलेथान, रानीपौवा हुँदै चल्थे । अहिले भने यो बाटो ककनी, रानीपौवासम्म जेनतेन केही सवारीसाधन र ३५ किलोबजार, मदानपुर र बाघखोर धमले क्षेत्रमा दुई–तीनवटा बसबाहेक अरू यातायातका साधन गुड्दैनन् ।
गल्छी–त्रिशूली–स्याफ्रुबेँसी सडक स्तरोन्नति सुरु भएपछि यो सडक ओझेलमा परेको पासाङल्हामु राजमार्गका उपभोक्ता एवम् रानीपौवाका व्यवसायी मदन लामाले बताए । स्थानीयले विगतदेखि सडक बनाउन दबाब सिर्जना गर्न सडकमा यातायात रोकेर आन्दोलन गरे पनि सरकारले खासै चासो नदिएको उनले बताए । गत हप्तादेखि ककनी, रानीपौवा र ३५ किलोबीचको निगालेमा सडक भासिएको छ । सडकको ५०–६० मिटरमाथिबाट आएको पहिरोले २० मिटर सडक पूरै भासिँदा सवारीसाधन पूर्ण रूपमा आवत–जावत बन्द भएको छ । स्थानीयवासी भने जोखिम मोलेर आवत–जावत गरिरहेका छन् ।
भारतको आरामाली इन्फ्रा पावर लिमिटेड (एआइपिएल) र नुवाकोटको सूर्यगढी गाउँपालिका चोगदे निवासी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले संयुक्त रूपमा ०७३ असार ३ मा सक्ने गरी ०७१ जेठ २२ मा यो सडकको ठेक्का लिएको थियो । ३१ करोड चार लाख ६४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकामा अहिलेसम्म निर्माण कम्पनीलाई १९ करोड २२ लाख रुपैयाँ भुक्तानी भइसकेको बालाजु–त्रिशूली–छहरे–विदुर सडक विस्तार आयोजनाले जानकारी दिएको छ ।
अहिलेसम्म यो सडक निर्माणका लागि आठपटक म्याद थपिइसकेको छ । विगतमै भौतिक प्रगति ५४ प्रतिशत पुगेको यो सडक अहिले अलपत्र परिरहेको छ । भारतीय कम्पनीसँग संयुक्त रूपमा ठेक्का लिए पनि यसको मुख्य काम शैलुङले गरिरहेको छ । शैलुङले बालाजु–रानीपौवासम्म १७ किलोमिटर सडकको ठेक्का लिएको हो ।
रानीपौवा–पिपलटारसम्म ३४ किलोमिटर सडकको ठेक्का भने दिनेशचन्द्र नागार्जुन कोसी एन्ड न्यौपानेले लिएको थियो । तर, निर्माण कम्पनीले समयमै काम नगरेको भन्दै यो ठेक्का ०७७ असारमै तोडिइसकेको छ । निर्माण कम्पनी दिनेशचन्द्र नागार्जुन कोसी एन्ड न्यौपानेले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेपछि अदालतले गत असारमै निर्माणको थप काम अघि नबढाउन र कम्पनीलाई कालोसूचीमा नराख्न आयोजनालाई अन्तरिम आदेश दिएको थियो ।
गत पुसमा उक्त सडकखण्डको अन्तरिम आदेश अदालतले खारेज गरेपछि नयाँ ठेक्का लगाउने भनेर सडक विभागले तयारी थालेको भए पनि आजसम्म नयाँ ठेक्का लागेको छैन । काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने पुरानो मुख्य सडक पासाङल्हामुमार्ग निर्माण गराउने प्रतिबद्धता र वाचा गर्दै स्थानीय निकायदेखि प्रदेश र सङ्घमा दुईपटक जनप्रतिनिधिले ०७४ र ०७९ मा निर्वाचित भए पनि सडकको अवस्था भने यथावत् नै रहिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया