हेल्थ टिप्स- घुँडा दुखाइ र यसको सही उपचार

विदुर खबर २०८० साउन २ गते १०:३०

घँुडा दुखेर हिँड्न अति गाह्रो भएपछि ६० वर्षीया एक महिलाले सोचिन्, ‘मेरो त घुँडाको हाड नै खिइएजस्तो छ, अब त जीवनभर खोच्याएर हिँड्न पर्ने भयो ।’ उनले साथीभाइसँग पनि सलाह गरिन् । प्रायः सबैले घुँडाको हाड खिइयो, आराम गर, युरिक एसिड भयो, अब प्रोटिन नखाऊ भन्नेजस्ता सल्लाह दिए । यस्ता सल्लाहले मात्र काम दिएन । त्यसपछि उनी हड्डी विशेषज्ञलाई देखाउन गइन् ।

Advertisement

चिकित्सकले जाँच गरेर भने, ‘तपाईंको हड्डी खिइएको पनि होइन, युरिक एसिड बढेको पनि होइन । घुँडाको तल र माथिका मांसपेशीहरु कमजोर भएकोले दुखेको हो ।’ उनको घुँडाको एक्सरे देखाउँदै पुनः भने, ‘खोइ तपाईं के खानुहुन्छ ? तपाईंको घुँडा त ४० वर्षको महिलाको जस्तो छ, हाड खिइएको छैन । तपाईंले विशेषज्ञबाट सिकेर घरमा हरेक दिन व्यायाम गर्नुपर्छ । जुत्ता पनि विशेष किसिमको लगाउनुपर्छ । साथै तौल घटाए झन् राम्रो ।’

आफ्नो घुँडा नखिइएको सुनेर ती महिला दङ्ग परिन् । त्यही दिनदेखि उनले फिजियोथेरापी केन्द्रमा गएर केही व्यायाम सिकिन् । घरमा आएर पनि प्रत्येक दिन व्यायाम गरिन् । पहिलो दिन केही गाह्रो भयो । घुँडा बढी दुखे चिसो पानीले सेक्नु भन्ने उनले सल्लाह पाएकी थिइन् । त्यही अनुसार घुँडा बढी दुख्दा बरफको टुक्रालाई कपडामा राखेर सेकिन् । ५–६ दिनपछि उनलाई घुँडाको दुखाइमा केही कमी आयो । घुँडा दुखेर चल्न पनि गाह्रो पर्ने उनलाई भ¥याङ माथि–तल गर्दा पनि सहज लाग्न थाल्यो । तर पूर्णरुपमा ठीक हुन त झन्डै ३ हप्ता लाग्यो ।

Advertisement

उनले आफ्नो भोजनमा आलस, तिल, मुगरेलो, मेथी, फर्सीको दाना पनि दिनदिनै खान्थिन् । २ हप्तापछि उनको दुखाइमा ७० प्रतिशत कमी आयो । उनी पुनः फिजियोथेरापी केन्द्रमा गएर खुट्टाको केही नयाँ व्यायाम पनि सिकिन् । उनले हिलवाला जुत्ता चटक्कै छोडिन् । तौल पनि २ किलो जति घटाइन् । अहिले उनले व्यायामलाई दैनिक जीवनको अङ्ग नै बनाइएकी छिन् । यस्ता धेरै महिला र पुरुषहरु छन् जो हाड–जोर्नीको दुखाइले हैरान हुन्छन् । तर के गरेर दुखाइ कम गर्ने भन्ने थाहा हुँदैन ।

चिकित्सकको परामर्श लिएर उपचार गर्नु त पर्छ नै, उमेरसँगै हुने हड्डीको क्षय र घुँडा दुख्ने समस्यालाई पूर्णरुपले निराकरण गर्न नसकिए पनि स्वस्थ जीवनशैली, व्यायाम, सजिलो जुत्ता आदिले दुखाइ कम गर्न सकिन्छ । हरेकचोटि घुँडा दुख्नेबित्तिकै घुँडाको हड्डी नै खिइएको भन्ने आम विश्वास सधैँ सत्य हुँदो रहेनछ । घुँडाको मांसपेशीको कमजोरीको कारणले घुँडा दुख्न सक्छ । शारीरिक तौल ठिक्क भएको मानिसको तुलनामा मोटो मानिसको घुँडा दुख्ने समस्या ४ गुणा बढी हुन्छ । त्यसैले तौललाई बढ्न नदिन युवाहरु पनि जागरुक हुनुपर्छ ।

Advertisement

५ फिट उचाइ र ८० किलो तौल भएकी मिनालाई घुँडा दुख्ने समस्या भएको थियो । स्वास्थ्यकर्मीले उनलाई स्वस्थकर खाना खाएर र व्यायाम गरेर शरीरको तौल घटाउन सल्लाह दिए । मिनाले १२ महिनामा २५ किलो तौल घटाइन् । उनले खानामा भात र रोटी कम गरिन् । दाल र तरकारी बढी खाइन् । अहिले उनको घुँडा दुखाइ हराएको छ । मिना अहिले पनि याद गर्छिन् । ‘१० वर्षअघि मेरो घुँडा नदुखेको भए मैले तौल घटाउन प्रयत्न गर्दैनथेँ । अनि अहिलेसम्म मलाई कति किसिमका रोग लागिसक्थे होलान् ।’

ढाड र घुँडा कहिल्यै पनि नदुखेको मानिस शायदै होलान् । यी दुवै दुखाइले दैनिक जीवनमा असर पर्न थालेपछि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ गइहाल्नुपर्छ । घुँडाको दुखाइ कम होस् भनेर युवावस्थादेखि नै शरीरको तौलमा ध्यान दिनुपर्छ । व्यायाम दिनदिनै गर्नुपर्छ । घुँडाले शरीरको भार उठाउने भएकाले घुँडालाई धेरै भार नपर्ने किसिमले शरीरको तौल सन्तुलित तथा ठिक्क राख्नुपर्छ ।

घुँडाको हड्डी जोड्ने कोषहरुको समूह रबरजस्तै नरम र चिल्लो ‘कार्टिलेज’ हुन्छ । यही कार्टिलेजले गर्दा हामी सजिलैसँग घुँडा मारेर, टुक्रुक्क परेर, घँुडा खुम्च्याएर बस्न सक्छौं । घुँडालाई जताततै घुमाउन सक्छौं । मोटोपन भए, धेरै चोटपटक लागे यही कार्टिलेजलमा चोट पर्छ । अनि घुँडा सुन्निने, दुख्ने, रातो हुने हुन्छ । हिँड्न र बसेर काम गर्नुपर्दा पनि गाह्रो हुने हुन्छ । घुँडा मारेर लामो समय बस्दा पनि घुँडा दुखाइको समस्या आउँछ । त्यसैले यसरी काम गर्नेहरुले पनि समय–समयमा बसाइ फेर्नुपर्छ । कम्प्युटरमा काम गर्नेहरुले त एक–एक घन्टामा केहीबेर उठेर हिँड्नुपर्छ ।

केही मानिस जिम गर्दा आफ्नो क्षमताभन्दा बढीको व्यायाम एकैचोटि शुरु गर्छन् । कतिपय खेलकुद गर्दा धेरै लड्छन् । यसले गर्दा कार्टिलेजमा पनि चोट लाग्न सक्छ । विभिन्न संक्रमणले पनि घुँडा दुख्छ । यस्तो बेला घुँडा रातो र सुन्निएको देखिन्छ । संक्रमणको उपचारपछि यो दुखाइ कम हुुन्छ ।

घुँडा अनेक कारणले दुख्ने हुन्छ । अस्वस्थ जीवनशैली र हड्डी क्षयको कारणले पनि घुँडा दुख्न सक्छ । घुँडाको समस्या आउन नदिन क्याल्सियमले भरिपूर्ण भोजनहरुको साथै दैनिक घाममा पनि बस्ने गर्नुपर्छ । हिँडेर व्यायाम गर्दा कडा पिच भएको बाटोमा छिटो–छिटो हिँड्ने वा दौडिने गर्नुहुँदैन । घाँसको मैदान, बालुवा भएको ठाउँमा हिँड्ने गर्नुपर्छ । हड्डी रोग विज्ञले घुँडाको दुखाइ कम गर्न विशेष किसिमको जुत्ता लगाउने सल्लाह दिन्छन् । घुँडाको दुखाइ शुरु हुनुभन्दा अघि नै लगाए झन् बेस ।

घुँडाको दुखाइको समस्या आउन नदिनका लागि व्यायाम गर्न सकिन्छ । घुँडामा रक्तसञ्चार राम्रोसँग गर्न तथा घुँडाको वरिपरिका मांसपेशीहरु बलियो बनाउनका लागि तल भनिएबमोजिम व्यायाम गर्न सकिन्छ ।

एक खुट्टामा १० सेकेन्ड जति उभिने र अर्को घुँडा सीधा राख्ने । १० सेकेन्ड सकिन्न भने भित्ताको सहारा लिन सकिन्छ । यो दुवै खुट्टाले १०–१० चोटि गर्नुपर्छ । एक दिनमा ३–४ चोटि यो व्यायाम गर्नुपर्छ ।

यस्ता किसिमका थुप्रै व्यायमले घुँडा र जोर्नीको दुखाइ कम गर्न मद्दत गर्छन् । तर यो जानकार व्यक्तिसँग सिकेर मात्र गर्नुपर्छ । कतिपय आयुर्वेदिक एवं प्राकृतिक चिकित्सकले पनि यो विषयमा सल्लाह दिने गर्छन् । साथै जीवनशैली परिवर्तनसम्बन्धी सुझावहरु पनि उपयोगी हुन्छन् ।

घुँडाको दुखाइले सुत्न नै गाह्रो हुन्छ भने केवल व्यायामले मात्र पुग्दैन, विज्ञहरुको सल्लाह लिनै पर्छ । घुडाँको दुखाइ कम गर्न स्वस्थ जीवनशैलीमध्ये हाई हिल भएको जुत्ता नलगाउनु पनि एक हो । यदि कतै जाँदा काम विशेषले ठूलो हिलको जुत्ता लगाउनुपर्ने भएमा काम सकिनेबित्तिकै त्यो जुत्ता फुकालिहाल्नु उचित हुन्छ ।

महिलाहरुले दिनभरि हाई हिल भएको जुत्ता लगाउँदा उनको पुठ्ठा, कम्मर र घुँडा तीनवटै दुख्न सक्छ । त्यसैले महिलाहरुले विचार गर्नुपर्छ । सुन्दरताको लागि स्वास्थ्य किन बिगार्ने ?

घुडाँ दुखेको मानिसलाई व्यायाम गर्दा शुरुमा केही दिन दुखेको जस्तो हुन्छ । तर चिसो पानीले सेकेर, दुख्न कम हुने औषधि खाएर भए पनि व्यायाम छोड्नुहुँदैन । दुखेको बेलामा भ¥याङ ओर्लिने, उक्लनेचाहिँ सकेसम्म कम गर्नुपर्छ ।

शरीरका विभिन्न दुखाइको समस्या कम गर्न दूध र बेसार पिउने पुरानो राम्रो चलन छ । घुँडाको दुखाइका साथै कतिपयलाई खुट्टाका कुर्कुच्चा दुखेर पनि हिँड्न गाह्रो हुन्छ । शारीरिक तौल बढ्नु र नमिलेको जुत्ता लगाउँदा पनि कुर्कुच्चाको दुखाइ बढ्न सक्छ । कुर्कुच्चाको हड्डीभित्र बोसोको एक पत्र हुन्छ । विभिन्न कारणवश जब यो पत्र तन्किन्छ वा खिइन थाल्छ अनि कुर्कुच्चाको हड्डीको दुखाइ शुरु हुन्छ । विभिन्न अफिसमा काम गर्ने महिलाहरुले लामो समयसम्म ठूलो हिल भएको जुत्ता लगाउँदा पनि कुर्कुच्चाको दुखाइ बढ्न सक्छ । सौन्दर्य बढाउन लगाउने जुत्ताले अस्वस्थ नपरोस् भनेर विचार गर्नुपर्छ ।

कुर्कुच्चाको दुखाइ कम गर्न लामो समयसम्म नउभिने, टाढा–टाढा एकैचोटि वा लगातार नहिँड्ने, तौल घटाउने गर्नुपर्छ । गिलोे तलुवा भएको जुत्ता लगाउनुपर्छ । खुट्टाको व्यायाम दिनदिनै गर्नुपर्छ । धेरै दुख्दा दुखेको पैतालामा बरफ कपडामा बेरेर राख्नुपर्छ । साथै तातो नुन–पानी बाल्टिनमा राखेर खुट्टा डुबाउने गर्नुपर्छ ।

(डा. अरुणा उप्रेती, साधना हेल्थ मासिक, वि.सं. २०८० जेठबाट साभार)

प्रतिक्रिया