नुवाकोटमा महिला आत्मरक्षा तालिम शुरु

नुवाकोट । महिला तथा किशोरीहरुका लागि दुई दिने आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम नुवाकोटमा शनिवारदेखि शुरु भएको छ ।
बढ्दो महिला तथा बालिका हिंसालाई मध्यनजर गर्दै विदुर नगरपालिकाका महिलाहरुका लागि दुई दिने तालिम सुरु गरिएको हो । तालिममा ४० किशोरी तथा महिला सहभागी छन् ।
जिल्ला युवा समिति नुवाकोटको आयोजनामा शुरु भएको तालिम विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको फुटसलमा शुरु भएको हो ।
किशोरी र महिलालाई आत्मरक्षा गर्न सक्षम बनाउने उद्देश्यले तालिम सुरु गरिएको जिल्ला युवा समिति नुवाकोटका अध्यक्ष उद्धव पनेरुले बताए ।
प्रशिक्षणमा आफूलाई कसैले समात्न खोजे कसरी ‘डिफेन्स गर्ने, आत्मबल कसरी बढाउने, समात्ने मान्छेको कुन–कुन ठाउँमा हान्यो वा टोक्यो भने फुत्किन सकिन्छ, कसैले समात्यो वा समात्न खोजे कसरी चिच्याउने, चिच्याउँदै भीड वा मानिस भएको स्थानतिर जानेजस्ता कौशल सिकाइनेछ ।
तालिम आईतबारसम्म संचालन हुने छ ।
प्रतिक्रिया