साम्राज्ञीलाई प्रश्न, ‘फेरि अनमोल नै चाहिएको हो ?’

विदुर खबर २०७५ भदौ २९ गते १:५८

गीतसंगीत र ट्रेलरबाट फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ यतिबेला सर्वाधिक चर्चामा छ । असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्ममा डेब्यु ब्वाई धिरज मगर र अहिलेकी ‘हटकेक’ साम्राज्ञी राज्यलक्ष्मी शाह लिड रोलमा छन् ।
एक दशकदेखि कोरियोग्राफरको रुपमा काम गर्दै आइरहेकी रेनाशा वान्तवा राईले उक्त फिल्मबाट फिचर फिल्म निर्देशनमा हात हालेकी छिन् । इन्टु र मिन्टु पात्रको प्रेम जीवनमा आउने उतारचढावको कथा फिल्मले भन्छ । रिलिज डेट नजिकिँदै गर्दा अहिले फिल्मको जम्बो टिम मोफसल प्रचारमा व्यस्त छ । पूर्वका विभिन्न सहरमा पत्रकार सम्मेलन र दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै मंगलवार निर्देशक राईसँगै साम्राज्ञी, धिरज र अर्का लिड कलाकार सारुक ताम्राकार पोखरा पुगे । दर्शकसँग साक्षात्कार गर्नु अगाडि आयोजना गरिएको पत्रकार भेटघाटमा निर्देशक राईले बाल्यकालमा खेलिने खेललाई ‘इन्टु मिन्टु लण्डनमा’ ले पूर्नजागरण र स्मरण गराउने बताइन् । बाल्यकालको खेललाई फिल्मी शैलीमा ढालेको उनको भनाई छ ।
‘२ वर्षको मिहिनेत हो ‘इन्टु मिन्टु लण्डनमा’ । कथा र मेकिङमा बढी मिहिनेत गरेका छौं । लभस्टोरी जनरा लभर्सका लागि यो फिल्मले निराश बनाउँदैन’, उनले भनिन् । रेनाशा यसलाई फेमिली फिल्म भन्न रुचाउँछिन् । अभिनेता धिरज मगरले उक्त फिल्मले नेपाली फिल्म इन्डष्ट्रीमा एउटा परिवर्तन ल्याउने दाबी गरे । उनी कडा मिहिनेत गरेका कारण फल मिठो पाउनेमा आशावादी देखिए । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘इन्टु मिन्टु लण्डनमा’ आफ्नो लागि मात्र नभएर इन्डष्ट्रीको लागि पनि राम्रो हुने बताइन् । ‘मैले गरेका यसअघिका फिल्मभन्दा यसमा सबै कुरामा चित्त बुझेको छ । मेकिङदेखि सबै कुरामा फिल्म अब्बल छ’, उनले भनिन् ।
हलिउड र बलिउड जस्तो मेकिङ नेपाली फिल्मको नहुने गरेको दर्शकको गुनासोलाई ‘इन्टु मिन्टु लण्डनमा’ ले पूरा गर्ने उनको ठोकुवा छ । उनी भन्छिन्, ‘फिल्ममा मैले ड्रिम रोल गर्न पाएको छु । मैले सोचेको र खोजेको फिल्म हो यो ।’ हरेक फिल्ममा नयाँ हिरोसँग रोमान्स गर्नुको पछाडि आफ्नो हात नभएको उनले फेरि स्पष्ट पारिन् । पत्रकारको प्रश्नको उत्तर दिँदै उनी भन्छिन्, ‘नयाँ हिरो मेरो माग होइन । कथा र निर्माता-निर्देशकको हो ।’
‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ पछि उनी अभिनीत फिल्म घरेलू बजारमा गर्व गर्न लायक गरि चलेका छैनन् । के तपाईलाई फेरि अनमोल केसी नै चाहिएको हो ? पत्रकारको प्रश्नमा उनी हाँसिन् । ‘जति पनि निर्माता र हिरोहरु हुनुहुन्छ उहाँहरुलाई चाहिँ म चाहिने हो’, उनले जवाफ फर्काइन् । लगातार पर्दामा आइरहनु र एकपछि अर्को फिल्म बक्सअफिसमा असफल हुँदै जाँदा उनको स्टारडम खतरामा पर्दै गएको चर्चा हुन थालेको छ । तर, उनी यो कुरा मान्न तयार छैनन् । उनी स्टारडममा असर पुगेको भए दिनहुँ फिल्मको अफर नआउनु पर्ने बताउँछिन् ।
अभिनेता सारुक ताम्राकारले ‘इन्टु मिन्टु लण्डनमा’ हरेक कोणबाट उत्कृष्ट बनेको बताए । फिल्मलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।
तश्बिर : जक्सन डटकम
Advertisement

प्रतिक्रिया