कांग्रेसले खाणलाई अझै निलम्बन गरेन, लहरो तानिन सक्ने भयमा देउवा
नुवाकोट । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेको ९ दिन बितिसक्दा पनि पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
खाणलाई निलम्बन गर्नुपर्ने महामन्त्रीहरूको प्रस्तावलाई पनि उनले वास्ता गरेका छैनन् । यो प्रकरण उठ्ने अड्कलमा देउवाले पार्टी बैठक पनि टार्दै आएका छन् । कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका बेला गृहमन्त्री रहेका खाण वैशाख २७ मा पक्राउ परेका हुन् । पक्राउ परेकै दिन र भोलिपल्ट पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई तत्काल पार्टीको जिम्मेवारीबाट अलग गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
खाण स्वयंले अलग भएको घोषणा गर्दा उपयुक्त हुने, त्यसो नगरे पार्टीले निलम्बन गर्नुपर्ने उनीहरूको धारणा थियो । थापा र शर्माको प्रस्तावमा उपसभापति धनराज गुरुङले पनि साथ दिएका थिए । सहमहामन्त्री महेन्द्र यादव भने खाणको बचाउमा उत्रिएका थिए ।
पदाधिकारी बैठकलाई पार्टी विधानले नचिन्ने हुनाले खाणका विषयमा निर्णय गर्न केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समिति बैठक बोलाउनुपर्ने थियो । दुवैमा देउवा बलियो बहुमतमा छन् । तर उनलाई निर्णय गराउन जति सहज छ, इतरपक्षले फरक मतका साथ बनाउन सक्ने मुद्दा सामना गर्न उत्तिकै चुनौतीपूर्ण छ । त्यही कारण देउवाले बैठक बोलाउन चाहेको देखिँदैन । भुटानी शरणार्थी प्रकरणको मुद्दामा आफ्नो राजनीतिक भविष्य र पारिवारिक स्वार्थलाई केन्द्रमा राखेर देउवा मौन रहेको कांग्रेसका एक नेताले टिप्पणी गरे ।
सार्वजनिक भएको अडियोको वास्तविकता अझै नखुलेका कारण यस प्रकरणमा आरजु राणा पनि जोडिने हो कि भन्ने चिन्तामा देउवा रहेको उनीनिकट एक केन्द्रीय सदस्यले बताए । देउवापत्नी आरजुले साढे २ करोड र खाणपत्नी मञ्जुले ६ करोड गिरोहबाट रकम बुझेको भनिएको अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । अडियो छानबिनका लागि आरजु आफैंले उजुरी दिएकी हुन् । आरजु र मञ्जु दुवै पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन् । मञ्जु पछिल्लो समय ‘सम्पर्कविहीन’ छिन् ।
खाणलाई पार्टीबाटै निलम्बन गर्दा शरणार्थी प्रकरणको लहरो अझै तानिन सक्ने भय देउवामा छ । आरजु राणाप्रतिको आशंकालाई बल पुर्याउने खालका गतिविधि नहोस् भनेर उनले सजगता अपनाइरहेका छन् । ‘आफैंले नेतृत्व गरेको सरकारको गृहमन्त्री पक्राउ परेको बेला लहरो कहाँसम्म पुग्छ भन्ने भेउ अझै देउवालाई छैन,’ ती केन्द्रीय सदस्यले भने । निलम्बनका विषयमा देउवा मौन बस्नुको अर्को कारण संस्थापन समूहभित्र खाणको बलियो धार पनि हो । खाणलाई विश्वासमा नलिँदा आफ्नै समूह कमजोर हुने र यही मौकामा आफूमाथि प्रहार हुन सक्ने उनको बुझाइ देखिन्छ ।
निकटस्थ नेताहरूका अनुसार देउवा र खाणबीचको सम्बन्ध त्यति बिग्रेको छैन, जति यी दुवै नेताका पत्नीहरूबीच छ । आरजु र मञ्जुबीचको सम्बन्धमा दरार छ । हालै दुईवटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आरजुले मञ्जुसँग चार/पाँच वर्षदेखि बोलचाल नै नभएको, टेलिफोन नम्बरसमेत ‘ब्ल्याक लिस्ट’ मा राखेको बताइएकी थिइन् । मञ्जुले पनि आरजुसँग सम्बन्ध बिग्रेको जनाउँदै आएकी छन् । देउवा र खाणबीच भने त्यस्तो मतभिन्नता सार्वजनिक रूपमा प्रकट भएको छैन । गृहमन्त्री भएका बेला बालुवाटारको हस्तक्षेप हुने गरेको गुनासो भने खाणले पदमुक्त भएदेखि नै सुनाउने गर्थे । तरुण दल र नेविसंघ दुवैका अध्यक्ष भइसकेका खाणको पार्टीमा देशभर सञ्जाल छ । त्यही शक्तिलाई आफूविरुद्ध प्रयोग हुन नदिन जतिसुकै दबाब आए पनि देउवा खाणलाई निलम्बन गर्न चाहँदैनन् ।
महामन्त्री थापाले शरणार्थी प्रकरणलाई लिएर पार्टीभित्र ध्रुवीकरणको बीउ रोप्न चाहेका छन् । यस मुद्दामा संस्थापनइतर पक्ष एकै ठाउँमा उभिने सम्भावना छ । थापाले पदाधिकारी बैठकमा प्रस्ताव गरेलगत्तै नेता शेखर कोइरालाले पनि खाणलाई निलम्बन गर्नुपर्ने विषय उठाएका थिए । आम जनमत भ्रष्टाचार र कुशासनको विरोधमा रहेकाले पनि खाणको निलम्बन अनिवार्य रहेको तर्क महामन्त्री थापा र संस्थापनइतरपक्षीय नेताहरूको छ । एमालेले पार्टीबाट निलम्बन गरेका बेला कांग्रेस चुपचाप बसे राम्रो सन्देश प्रवाह नहुने उनीहरू बताउँछन् ।
पार्टी सचिव टोपबहादुर रायमाझीलाई शरणार्थी प्रकरणमा फरार रहेकै अवस्थामा एमालेले निलम्बन गरेको थियो । ‘पार्टीमा बहुमत होल्ड गरेर बसेको नेतृत्व आफूले जे गरे पनि हुन्छ भन्ने मानसिकतामा छ, तर त्यसले पार्टीको प्रतिष्ठा र जनमत कमजोर बनाइसकेको छ,’ कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया