प्रधानमन्त्रीद्वारा विजेता क्रिकेट खेलाडीलाई पुरस्कारको घोषणा

विदुर खबर २०७९ चैत ३ गते ११:४२

नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

Advertisement

विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उहाँले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

“मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईँहरूले जसरी खेल प्रदर्शन गर्नुभयो, तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईँहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु”, खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले भने– “विश्वकप छनोटका लागि तपाईँहरूलाई थप सफलता मिलोस् । म तपाईँहरूको सुख, दुःखमा साथमै हुनेछ ।”

Advertisement

प्रधानमन्त्री दाहालले यसअघि पनि सरकारले जनही दुई लाख रुपैयाँले पुरस्कृत गरिसकिएको उल्लेख गरे । प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपलाई निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स युएईलाई नौ रनले पराजित गरेको थियो ।

Advertisement

प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीको मेहनतलाई सरकारको तर्फबाट सम्मान गर्ने र आगामी दिनमा थप भौतिक पूर्वाधारको विकास तथा खेलाडीका लागि थप सुविधाको प्रबन्ध गर्ने विश्वाससमेत दिलाए ।

प्रधानमन्त्री निवासमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ र अन्य पदाधिकारीको समेत सहभागिता थियो ।

बिहीबार प्रधानमन्त्री दाहाल आफैँ कीर्तिपुर क्रिमेट मैदान पुगेर खेलाडीलाई प्रोत्साहन गरेका थिए ।

प्रतिक्रिया