राष्ट्रपतिमा को–को ‘सेन्टिफ्ल्याट्’ खाने हुन्, थाहा छैन : माधव नेपाल

नुवाकोट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा अहिले चर्चा गरिएजस्तो परिणाम नआउने संकेत गरेका छन्।
राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले कतिपयले ‘सेन्टिफ्ल्याट्’ खाने हुन्, थाहा नभएको बताए।
‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ। प्रत्येक व्यक्ति म राष्ट्रपति हुने भएँ भनेर दंग परेका छन्। दंग पारिएको छ। सबैलाई राष्ट्रपति पद दिइएको छ। भइहालेँ भन्ने परिरहेको छ। को–को ‘सेन्टिफ्ल्याट्’ खाने हुन्, थाहा छैन’, उनले भने।
उनले आफूले संकेतमात्र गरेको हो भन्दै धेरै कुरा नभन्ने बताए। ‘मैले भन्न खोजेको, हामी पनि छौं है राष्ट्रिय राजनीतिमा। हाम्रो पनि भूमिका छ है, देशको राजनीतिलाई प्रभावित गर्ने कुरामा’, उनले भने।
उनले सुदूरपश्चिम प्रदेशको सत्ता परिवर्तनमा पनि आफ्नो भूमिका रहेको बताए। ‘मैले नै गएर कुरा गरेँ, नेपाली कांग्रेससँग। त्यसपछि अरुसँग पनि कुरा गरियो। सुदूरपश्चिमको सन्दर्भमा। कुनै पनि कुरा स्वतः हुन्छ? बिना प्रयासको हुन्छ? केही पनि छैन यिनीहरुको भन्नेहरु भन्दै गर्छन्। जब नट फुक्लिन थाल्छन्, पछारिन्छन्। अनि बल्ल चेत खुल्छ’, उनले भने।
प्रतिक्रिया