कांग्रेसमा संसदीय दलको नेता चुन्ने तयारी सुरू

विदुर खबर २०७९ पुष ३ गते ७:३४

नुवाकोट ।  नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्नेबारे छलफल सुरू भएको छ ।

Advertisement

प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले शनिबार पार्टीबाट निर्वाचित सांसदहरूलाई सरकारी निवास बालुवाटारमा बधाई ज्ञापन र चियापानको कार्यक्रम राखेका थिए । त्यसक्रममा संसदीय दलको चुनाव र भावी सरकार गठनबारे समेत नेताहरूबीच कुराकानी भएको थियो ।

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम बुझाइसकेको भए पनि समानुपातिकबाट निर्वाचित सांसदहरूले प्रमाण पत्र पाइसकेका छैनन् । सांसद्हरूको शपथग्रहण समेत भइसकेको छैन । कांग्रेस प्रवक्ता प्रकाशसरण महतले सांसद्हरूले प्रमाणपत्र बुझेलगत्तै संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढ्ने बताए ।

Advertisement

‘प्रमाण पत्र र शपथ ग्रहणको कार्यक्रम हुनै बाँकी छ । हामी सरकार गठनभन्दा पहिल्यै संसदीय दलको नेता चुनेर जाने पक्षमा छौँ,’ उनले भने, ‘केही दिनभित्रै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बस्दैछ, बैठकले संसदीय दलको नेता चयन गर्ने विषयमा निर्णय लिन्छ ।’

निर्वाचन आयोगले चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलिसकेको छ । कांग्रेस नेताहरूले भने संसदीय दलको नेता चयन भएपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढ्ने दाबी गरेका छन् ।

Advertisement

देउवानिकट केन्द्रीय सदस्य रामहरि खतिवडा सभापति देउवाले संसदीय दलको नेता बनेपछि मात्रै सरकारको नेतृत्व गर्ने बताउँछन् । ‘सांसद्हरूको सपथ पहिले कि सरकार पहिले ? यसबारे अहिले निर्क्योल भइसकेको छैन, तर कांग्रेसमा यसबारे अलमल छैन,’ खतिवडाले भने, ‘हामी पहिले संसदीय दलको नेता छान्छौँ, अनिमात्रै सरकारको नेतृत्व गर्ने हुन्छ ।’

कांग्रेस संसदीय दलको विधानबमोजिम संसदीय दलको नेता चयन गर्ने विषयमा सर्वसम्मत नभए निर्वाचन हुने र त्यस्तो निर्वाचनको कार्यक्रम पार्टीले तय गर्ने उल्लेख छ । यसपटकसंसदीय दलको नेतामा सहमति हुने सम्भावना कम छ । प्रवक्ता महतले सहमति नभए दलको नेता चयन गर्नकालागि चुनाव हुने बताए ।

‘हाम्रो प्रयास सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन गर्ने पक्षमा हुन्छ । तर, संसद्का हरेक सदस्यले संसदीय दलको नेतामा दाबी गर्न सक्छन्,’ उनले भने, ‘धेरै जनाले इच्छा गर्दा चुनावी प्रक्रियाबाट दलको नेता छान्नुपर्ने हुन्छ ।’

यसपटक सभापति देउवा आफैँ संसदीय दलको नेताका आकांक्षी छन् । उनी आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार छन् । तर, इत्तर पक्षबाट भने आकांक्षीको लर्को छ । को–को उम्मेदवार हुने भन्ने निश्चित छैन ।

चुनाव अगावै संसदीय दलको नेतामा चुनाव लड्ने घोषणा गरेका महामन्त्री गगन थापाले आफू कुनै पनि शर्तमा पछाडि नहट्ने बताएका छन् भने नेता शेखर कोइराला र रामचन्द्र पौडेलले पनि संसदीय दलको नेतामा आकांक्षा राखेका छन् । कोइराला आफैँले संसदीय दलको नेतामा चुनाव लड्नेबारे बोलेका छैनन् भने पौडेलसँग बलियो गुट छैन ।

कांग्रेस संसदीय दलको विधानमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट एक जनालाई दलको नेता चयन गर्ने व्यवस्था छ । यस्तो दलको नेताका लागि एकभन्दा बढीले दाबी गरेको अवस्थामा निर्वाचन प्रक्रियाबाट छान्नुपर्ने भए निर्वाचित हुन कम्तिमा ५१ प्रतिशत मत प्राप्त गर्नैपर्ने व्यवस्था छ ।

कांग्रेसबाट यसपटक प्रतिनिधिसभामा ८९ जना सांसद् छन् ।

प्रतिक्रिया