अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद लिने सहमति भएको प्रचण्डको खुलासा

विदुर खबर २०७५ भदौ २५ गते ११:१२

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई वर्षभित्र अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुनै एक पद आफूले लिने सर्तमा पार्टी एकीकरण गरिएको खुलासा गरेका छन्।

भारतीय सञ्चार संस्था ‘हिन्दुस्तान टाइम्स’का लागि प्रशान्त झासँगको अन्तर्वार्ताका क्रममा उनले उक्त कुरा खुलाएका हुन्।

चारदिने भारत भ्रमणका क्रममा उनले भारतीय राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गरेका थिए। सो क्रममा उनले उक्त कुरा बताएका हुन्। भारत भ्रमण सकेर प्रचण्ड आइतबार स्वदेश फर्किएका छन्।

‘यदि यी दुईमध्ये कुनै पद नदिइए के हुन्छ’ भनेर झाले गरेको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘त्यसपछि के हुन्छ, हामी हेर्दै जानेछौं। अहिले हामी पूर्ण इमानदार भएर अगाडि बढिरहेका छौं। म त्यही रुपमा नै अघि बढिरहेको छु। भारतीय नेतालाई पनि मैले यही भनेँ।’

स्थानीय तहको निर्वाचनका बेला नेपाली कांग्रेससँग पनि गठबन्धन गरी निर्वाचनमा जाने विषयमा छलफल भएको उनले उल्लेख गरे। ‘५०/५० प्रतिशत हिस्सा लिएर चुनावमा गइएला भन्ने हामीले सोचेका थियौं तर कांग्रेसले १५ देखि २० प्रतिशतभन्दा बढी हिस्सा दिन चाहेको थिएन,’ उनले बताए। उक्त समयमै एमालेले ४० प्रतिशत दिने अफर गरेपछि एमालेसँग चुनावी गठबन्धन गरेको प्रचण्डले बताएका छन्। ‘संसदीय राजनीति र चुनावका क्रममा यस्तो भइरहन्छ,’ उनले थपे।

‘फेरि पनि हामी गठबन्धन, अस्थिरता र निरंकुशततर्फ नै त धकेलिने हैनौं’ भन्ने विषयमा आफूलाई चिन्ता लागेकाले स्थायित्वका लागि एकता गरिएको उनले उल्लेख गरे। ‘चुनावी फाइदा र स्थायित्वका लागि पार्टी एकता गर्ने उद्देश्यले नै वामगठबन्धन भएको प्रचण्डले उक्त अन्तर्वार्ताका क्रममा बताएका छन्।

Advertisement

प्रतिक्रिया