नयाँ सरकार नबनेसम्म पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना देखिएन

विदुर खबर २०७९ मंसिर १९ गते २१:४२

नुवाकोट । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गरेको अवस्था छ । रसिया युक्रेन युद्धका कारण कोभिड संक्रमण कम भएपछि द्रुत गतिमा बढेको मूल्य अहिले प्रति ब्यारेल झन्डै ८० को हाराहारीमा कारोबार भइरहेको छ ।

Advertisement

हरेक १५ दिनमा अन्तर्राष्ट्रिय मूल्य अनुसार घटबढ भइरहेको मूल्य प्राप्त गरे पनि निगमले भने गत ६ महिनादेखि पेट्रोलियम पदार्थको मूल्यमा हेरेफेर गरेको छैन ।

निगमकै भनाईलाई आधार मान्ने हो भने डिसेम्बर १ को नयाँ मूल्य सूची अनुसार १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ नाफा छ । निगमका अनुसार डिसेम्बर १ को मूल्यसूची अनुसार पेट्रोल २ रुपैयाँ ३८ पैसा, डिजेल ११ रुपैयाँ २६ पैसा घटेर आएको छ भने ग्यासमा प्रति सिलिन्डर ४५ रुपैयाँ बढेर आएको छ । नयाँ सुचीअनुसार अहिलेकै मूल्यमा बेच्दा निगमलाई पेट्रोलमा १३ रुपैयाँ र डिजेलमा ५३ पैसा नाफा छ । नाफा हुँदा हुँदै पनि निगमका अधिकारीहरु निगमको दायित्वलाई देखाएर मूल्य घटाउनबाट पन्छिने गरेका छन् ।

Advertisement

वित्तीय अवस्था एकदमै दयनीय रहेको बेला आफ्नो केन्द्रीय कार्यालयको जग्गा धितो राखेर निगमले राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब रुपैयाँ ऋण लिएको थियो । निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार सो ऋण अहिले चुक्ता भइसकेको छ । अब सरकारले ७ प्रतिशत व्याजमा ऋणस्वरुप दिएको रकम भने निगमले सरकारलाई तिर्न बाँकी छ । त्यस्तै निगमले भारतीय आयल निगमलाई तिर्न बाँकी २० अर्ब बक्यौता रहेको छ । अहिलेको अवस्थामा निगमको कुल बक्यौता भनेको २७ अर्ब रुपैयाँ मात्रै हो । भारतीय आयल निगमलाई तिर्न बाँकी बक्यौतामा ९ प्रतिशत र सरकारको ऋणमा निमगले ७ प्रतिशत व्याजसमेत तिर्दै आएको छ ।

नेपालको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार छ ?
कोभिड संक्रमण फैलिंदै जाँदा विश्वभरकै ट्राफिक मुभमेन्ट ठप्पजस्तै भए । कोभिडको सन्त्रास फैलिएको समयमा सबै देशले लकडाउन लगायतका उपायहरु अपनाए भने सवारी साधन चल्ने मुख्य उर्जा पेट्रोलियम पदार्थको मूल्य एकदमै न्यून मूल्यमा आयो । आयल प्राइस डटकमका अनुसार २७ अप्रिल २०२० मा बुन्ट क्रुड आयलको मूल्य प्रति ब्यारेल २३ रुपैयाँसम्म झ¥यो । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ऐतिहासिक रुपमा तल्लो विन्दुमा रहँदा नेपालमा भने पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेल ८५ रुपैयाँ प्रति लिटर एवम् एलपीजी ग्याँस प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ थियो ।

Advertisement

कोभिडको संक्रमण विस्तारै कम हुँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य विस्तारै लयमा फर्किन थाल्यो तर रसिया युक्रेन युद्धपछि भने कच्चा तेलको मूल्य पुनः ऐतिहासिक उच्च विन्दुमा पुग्यो । क्रुड आयल प्राइस डटकमका अनुसार बे्रन्ट क्रुड आयलको मूल्य प्रति ब्यारेल १२८ डलरसम्म पुग्यो । २०२२ मार्चमा नेपालमा आयल निगमले भने पेट्रोल प्रति लिटर १५५ रुपैया, डिजेल र मट्टितेल १३८ रुपैयाँ प्रति लिटर र एलपीजी ग्याँस प्रति सिलिडन्र १५ सय ७५ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सन् २०२२ को मार्चपछि भने विस्तारै कच्चा तेलको मूल्यमा गिरावट आइरहेको छ । २०२२ को सेप्टेम्बरपछि प्रति ब्यारेल कच्चा तेलको मूल्यले १ सय डलर नाघ्न सकेको छैन ।

अन्तर्राष्ट्रिय बजारमा मार्चपछि विस्तारै कच्चा तेलको मूल्य घट्दै गएपनि नेपालमा भने अप्रिल, मे र जुनसम्ममा क्रमशः बढाएर जुलाईसम्म पुग्दा पेट्रोलको मूल्य १८१, डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ र एलपीजी ग्याँसको मूल्य १८ सय रुपैयाँ पुगेको छ । यही मूल्य गत ४ महिनादेखि स्थिर रहेको छ ।

निगमले किन घटाउँदैन मूल्य ?
निगम अधिकारीहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बेला बढेको मूल्य अनुसार सरकारले मूल्य बढाउन दिएन । निगम पूर्ण सरकारी स्वामित्वको कम्पनी हुँदा राजनीतिक नेतृत्वको दबाब थेग्नुपर्छ । सरकारमा रहेको राजनीतिक पार्टीहरुले सकेसम्म जनजीविकासँग सम्बन्धित रहेको पेट्रोलियम पदार्थको मूल्य घटाएरै राख्न दबाब दिने गर्दछ । राजनीतिक दबाबका कारण गएको ८ महिनाको दौरान देशमा स्थानीय चुनाव र प्रतिनिधि सभा चुनाव गरी दुई वटा ठूला चुनाव भयो । चुनावका दौरान सरकारमा रहेको पार्टी अलोकप्रिय हुने डरले सम्बन्धित मन्त्रीले मूल्य घटाएरै राख्न दबाब दिएका कारण अन्तर्राष्ट्रिय मूल्य अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्न सकेन । विदेशमा मूल्य बढेको बेला पनि नेपालमा सस्तोमा पेट्रोलियम पदार्थ बेच्नु पर्दा निगमको घाटा एकदमै चुलियो । घाटा चुलिएपछि निगमले खरिद गरेको पेट्रोलियम पदार्थको भारतलाई भुक्तानी दिन सकेन । पेट्रोलियम पदार्थको आपूर्ति सुचारु गर्न सरकारले केही समयको लागि पूर्वाधार कर छुट दिने घोषणा समेत ग¥यो । तर यो चुनावी स्टन्टको रुपमा मात्रै रह्यो । चालु आर्थिक वर्ष शुरु भएपछि भने सरकारले लिने करका दरहरु यथावत नै रहे ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बेला बढेको मूल्यमा पेट्रोलियम पदार्थ बेच्न दिएन । सरकारी दबाबका कारण उल्टो घटाएर बेच्दा निगमलाई घाटा भयो ।’–निगमका एक अधिकारीले भने । निगमको सञ्चित घाटा बढ्दै गएका कारण सो घाटा पूर्ति नहुञ्जेल निगम पेट्रोलियम पदार्थको मूल्य घटाउने पक्षमा छैन । हालै सम्पन्न चुनावको नतिजा समेत आइसकेको हुँदा नयाँ सरकारले कस्तो निर्देशन दिन्छ, त्यसलाई हेरेर मात्रै पेट्रोलको नयाँ मूल्य तय गर्ने पक्षमा रहेको निगम स्रोत बताउँछ ।

निगमले कति तिर्छ सरकारलाई राजस्व ?
नोभेम्बर १ को मूल्यमा सरकारले ८८ रुपैयाँ ९२ पैसामा पाउने पेट्रोलमा २५.२३ पैसा सरकारी भनसार तथा प्रज्ञापन शुल्क÷कर, प्रति लिटर ४ रुपैयाँ सडक मर्मत सम्भार कर, १ रुपैयाँ ५० पैसा प्रदुषण कर, प्रति लिटर १० रुपैयाँ पूर्वाधार कर, मूल्य अभिवृद्धि कर २० रुपैयाँ ८२ पैसा, मूल्य स्थिरीकरण कोष शुल्क बिक्री मूल्यको १ प्रतिशतको दरले १ रुपैयाँ ८१ पैसा गरी कुल ६३ रुपैयाँ ८८ पैसा सरकारलाई राजस्व बुझाउने रहेछ । त्यसमा पुनः ढुवानी भाडा ६ रुपैयाँ ३३ प्रतिशत, निगमको प्रशासनिक खर्च प्रति लिटर ६० पैसा, बीमा खर्च ५ पैसा र निगमनको प्राविधिक नोक्सानी बापत् १ रुपैयाँ १३ पैसा जोडिने रहेछ भने पेट्रोलियम बिक्रेता एवम् ग्याँस कम्पनीको खर्च एवम् मुनाफाबापत् ६ रुपैयाँ १४ पैसा जोडिदो रहेछ ।

निगमको नोभेम्बर १ को परल मूल्य १६७.०५ मा सरकारी राजस्व र अन्य खर्च जोडेर ७८ रुपैयाँ १३ पैसा जोडिदो रहेछ । निगमबाट सरकारलाई राजस्व मात्रै प्रति लिटर ६३ रुपैयाँ ८८ पैसा तिर्नुपर्ने रहेछ ।

प्रतिक्रिया