नुवाकोटमा मतदानस्थल कर्मचारी र सुरक्षाकर्मीको पहुँचमा

विदुर खबर २०७९ मंसिर ३ गते २१:३५

नुवाकोट । आइतबार हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनको तयारी नुवाकोटमा निरन्तर अघि बढेको छ ।

Advertisement

निर्वाचन आयोगले बनाएको तालिकाअनुसार अहिलेसम्म कुनै समस्या नभई आवश्यक तयारी तीव्र गतिमा अघि बढिरहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार आयोगबाट प्राप्त कार्यदिश बमोजिम शुक्रबारसम्म मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारीहरू पुगिसकेका छन् भने मतदान स्थलमा गर्नुपर्ने तयारीको कामहरू सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

Advertisement

“मतदान केन्द्रमा खटिएका कर्मचारीले चारकिल्ला निर्धारण गर्ने, मतदान केन्द्रको तीन सय मिटर वरपर चुनावी प्रचारका सामग्री हटाउने, मादक पदार्थ निषेधित क्षेत्र भएको सूचित गर्ने, मतदान केन्द्रका लागि छेकाबार निर्माण, लाइन बस्ने डोरी टाँग्ने, एक ढोकाबाट भित्र पसेर मतदान गर्ने र अर्को ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाउनेसहितको आवश्यक काम सम्पन्न भएको छ”, मुख्य निर्वाचन अधिकृत धामीले भन्नुभयो, “भौतिक संरचनाको निर्माणसहित मतदान अधिकृतले गर्नुपर्ने निर्वाचनसँग सम्बन्धित राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिसँगको सर्वदलीय बैठकमार्फत मतदानका क्रममा अपनाइने आचरणका सम्बन्धमा आचारसंहिता तयार गर्ने, बुथमा बस्ने उम्मेदवारको प्रतिनिधिको नामावली सङ्कलन गर्नेलगायतका आवश्यक कामकारबाही सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।”

नुवाकोट जिल्लामा कायम रहेको दुई वटा अस्थायीसहितको १३४ मतदान स्थलमा २९० मतदान केन्द्र निर्वाचनको लागि तयार भएको छ ।

Advertisement

निर्वाचनको लागि खटिएका मतदान अधिकृतले छनोट गरेका स्वयंसेवकमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । वडातहमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकामार्फत आवश्यकताअनुसार मतदाता शिक्षा नपुगेको गुनासो आएकाले केन्द्रबाट मतदाता शिक्षा प्रवाह गर्न भनिएको नुवाकोटका मुख्य निर्वाचन अधिकृत धामीले जानकारी दिए ।

शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन शनिबारदेखि नै कार्यक्षेत्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले मतदानस्थललाई आफ्नो पहुँचमा लिइसकेका छन् ।

प्रतिक्रिया