नुवाकोटको साततले दरबारको पुनर्निर्माण माघदेखि सुरु हुने

विदुर खबर २०७९ कार्तिक २३ गते १६:१९

नुवाकोट ।  २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त नुवाकोटका साततले दरबारलगायत पुरातात्त्विक सम्पदाको पुनर्निर्माण आगामी माघदेखि सुरु हुने भएको छ ।

Advertisement

चीन सरकारको सहयोगमा पुनर्निर्माण हुने भनिए पनि भूकम्प गएको झन्डै साढे ७ वर्ष भइसक्दा यहाँ काम सुरु हुन सकेको छैन । चीनले कोरोना महामारीका कारण ढिलाइ हुँदै आएको बताउँदै आएको छ । एक महिनायता चिनियाँ प्राविधिक टोलीले दरबारको विस्तृत अध्ययन गरिरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय नुवाकोटले जनाएको छ ।

‘३–१० जनासम्मको प्राविधिक टोलीले दरबारका इँटालगायतको अध्ययन गरिरहेको छ,’ कार्यालय प्रमुख अर्जुन फुँयालले भने, ‘चिनियाँ नयाँ वर्ष आउन लागेकाले उक्त पर्व मनाएर फर्किएपछि आउँदो माघबाट काम गर्ने चिनियाँ पक्षले बताएको छ ।’ उनका अनुसार काठमाडौंस्थित हनुमानढोका, वसन्तपुर दरबार पुनर्निर्माण गर्ने कालीगडले नै साततलेलगायत यहाँका सम्पदा पुनर्निर्माण गर्नेछन् ।

Advertisement

बाह्य तथा आन्तरिक पर्यटक आउने मुख्य सिजन भए पनि खण्डहरजस्तै बनेका सम्पदास्थल बेलैमा पुनर्निर्माण नहुँदा सुनसानजस्तै छन् । ‘भूकम्पले ढलेका घरहरू नयाँ बनिसके । बल्ल दरबार र मठमन्दिर पनि ठडिने आस जागेको छ,’ स्थानीय शिव मल्लले भने, ‘यत्रो समयसम्म नबन्दा यहाँको व्यापार–व्यवसाय त चौपटै भएको छ ।’

विदुर नगरपालिका–२ मा रहेका साततले दरबारलगायत लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तलेजु भवानी मन्दिरलगायतको पुनर्निर्माण हुने कार्यालयले जनाएको छ । अहिले यी सम्पदालाई फलामे टेको लगाई जस्तापाताले छोपेर राखिएको छ ।

Advertisement

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वसन्तपुर दरबार पुनर्निर्माण सकिएपछि मात्रै नुवाकोटका सम्पदा पुनर्निर्माण थाल्ने भनेको थियो । साततले दरबार १९९० सालको भूकम्पअघि ९ तला थियो । त्यसबेला २ तला भत्किएको थियो ।

यो दरबार पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट एकीकरणपछि १८१७–१९ सालसम्ममा बनाउन लगाएका थिए । जसका लागि ललितपुरबाट कालीगड झिकाइएको इतिहास छ ।

प्रतिक्रिया