‘म चोर दूलोबाट छिरेर राजनीतिमा आएको होइन : राधिका तामाङ

विदुर खबर २०७९ कार्तिक २१ गते ११:२०

नुवाकोट ।  नुवाकोट निर्वाचन क्षेत्र १ (१) का वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राधिका तामाङले नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री मैनालीले छोटो समय राज्यमन्त्री बन्दा पदको दुरुपयोग गरेको भन्नुहुँदै फेरि जिताएमा के गर्लान् भन्ने प्रश्‍न गर्नुभएको छ ।

Advertisement

नुवाकोट क्षेत्र नं २ का संघीय उमेदवार अर्जुननरसिंह केसीको जन्मघरको आँगनीबाट आइतबार आयोजित चुनावी कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तामाङले आफूहरुमाथि लगाइएको जातिवादको आरोपको खण्डन गर्नुहुँदै मैनालीप्रति कडा टिप्पणी गर्नुभएको हो । नुवाकोट १ मा एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार मैनाली र १ (१) का सुशील खड्का ज्वाइँ-जेठान रहेकोले जातिवादसँगै परिवारवादमा फसेको आरोप लगाउनुभयो ।

‘भन्ने नै हो भने वास्तविक जातिवाद त उहाँहरु हो । वास्तविक परिवारवाद उहाँहरु हो । उहाँहरु ज्वाइँ-जेठान कम्पनी,’ नेता तामाङले भन्नुभयो, ‘राधिका तामाङ र हितबहादुर तामाङबीच कहीं साइनो देख्नुहुन्छ । खोज्नुहोस् । थोरै समय पद पाउँदा त बद्री मैनालीले कोल्डस्टोर दुरुपयोग गर्नुभयो । सुशीलजीले गर्न पाउनुभएको छैन । उहाँको बारेमा म धेरै भन्दिनँ । एउटै घरको ज्वाइँ-जेठानलाई जिताउने हो भने भोलि के गर्लान् । उहाँहरुसँग केही भिजन छ ?’

Advertisement

२०७४ को निर्वाचनमा एमाले-माओवादी गठबन्धनबाट जितेको स्मरण गराउनुहुँदै निवर्तमान प्रदेश उपसभामुख तामाङले सहकार्य गर्दा मैनाली अराजनीतिक व्यक्ति भएको चाल पाएको बताउनुभयो । उहाँले आफू कलिलो उमेरमै राजनीतिमा लागेको र लामो समयकालसम्म राजनीति नै गर्नु पर्ने भएकोले इमान्दार ढंगले अघि बढ्ने धारणा राख्नुभयो ।

‘कपीकलम एकातिर थन्काएर राजनीति सुरु गरेको हुँ । एसएलसी शान्ति प्रक्रियापछि दिएँ । आइए पास गरेको पनि पछि हो । यसरी संघर्ष गरेको मान्छे हुँ । म चोर दूलोबाट छिरेर राजनीतिमा आएको होइन । मलाई लामो समय राजनीति गर्नुछ । इमान्दाररुपमा राजनीति गर्नुछ,’ उहाँको भनाइ थियो ।

Advertisement

एमालेका उम्मेदवारले गठबन्धनका नेता, कार्यकर्तालाई काठमाडौंका होटल रेस्टुरेन्टमा बोलाएर आन्तरिक रुपमा खेल्न खोजेकोसमेत उहाँको आरोप थियो । ‘उहाँहरुले पैसाको धाक देखाएर केही माओवादी कार्यकर्तालाई काठमाडौं बोलाउने रेस्टुरेन्टतिर राख्ने । केही कांग्रेसका कार्यकर्तालाई बोलाउने, कांग्रेसका कुन-कुन खेमालाई कसरी कुस्ती खेलाउने, जुधाउन तिम्रा उम्मेदवार छैनन् भनेर भ्रमण फिजाइरहेको रिपोर्ट मलाई आएको छ,’ उहाँले भन्नुभयो ।

उहाँले आफू माओवादी, कांग्रेस, एकीकृत समाजवादीको मात्रै नभई एमालेका इमान्दार कार्यकर्ताको पनि उम्मेदवार भएको बताउनुभयो । निर्वाचन जितिसकेपछि समृद्ध नेपालको सपना पूरा गर्ने र नुवाकोटको मुहार फेर्नमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

कांग्रेस नेता डा केदारनरसिंह केसीले स्वच्छ र इमान्दार छविका उम्मेदवार हितबहादुर तामाङ, राधिका तामाङलाई जिताउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया