नुवाकोटमा ३ जनाले लिए उम्मेदवारी फिर्ता

नुवाकोट । निर्वाचन क्षेत्र नं. २ को २ बाट नेकपा (माओवादी केन्द्र)की राममाया बोगटीले उम्मेदवारी फिर्ता लिएकी छन् । उनको उम्मेदवारी फिर्ता भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षरसहित वाग्मती प्रदेश कमिटी सदस्य राममाया बोगटीको उम्मेदवारी फिर्ता लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेस गरेकोले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २५ को उपदफा ४ बमोजिम उम्मेदवारको सूचीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
माओवादी नेता स्व. पोष्टबहादुर बोगटीकी श्रीमती तथा वाग्मती प्रदेश कमिटी सदस्य बोगटीले आइतबार निर्वाचन क्षेत्र नं. २ को २ मा मनोनयन दर्ता गराएकी थिइन् । उनले पार्टी निर्णयअनुसार उम्मेदवारी फिर्ता लिएको बताइन् । ‘पार्टीको निर्णय हो,’ उनले भनिन्,‘पार्टीको निर्णय मान्नुपर्यो ।’ उनी संविधानसभा सदस्य पनि हुन् ।
तर निर्वाचन क्षेत्र नं. २ को १ की उम्मेदवार गीता अमात्य र निर्वाचन क्षेत्र नं. २ को २ का उम्मेदवार सिंहराज लामाले समयसीमाभन्दा ढिला नाम फिर्ताको निवेदन ल्याएकाले उनीहरुको नाम फिर्ता गर्न नमिलेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अमात्यले कांग्रेसबाट र लामाले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
गठबन्धनको भागबन्डाअनुसार २ (१) मा नेकपा एकीकृत समाजवादीका राजेन्द्र लोहनीले उम्मेदवारी दिएका थिए । तर, बुधबारको सहमतिबमोजिम लोहनीले उम्मेदवारी फिर्ता लिने भनिए पनि त्यो सहमति कार्यान्वयन नभएको माओवादी केन्द्रका नेता हिरानाथ खतिवडाले जानकारी दिए । लोहनीले सामाजिक सञ्जालमा भने आफूले उम्मेदवारी फिर्ता लिएको स्टाटस् लेखेका छन् ।
माओवादी नेता खतिवडाले गठबन्धनभित्रका अमात्य र लोहनीको उम्मेदवारी फिर्ता नभएकोले गठबन्धनमा इमानदारिता र विश्वसनीयता रहने प्रतिबद्धता ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन् ।
‘आजको सत्ता गठबन्धनको पछिल्लो सहमतिअनुसार नुवाकोट प्रदेशसभा २ बाट राममाया बोगटीले उम्मेदवारी फिर्ता लिनुभएको छ । त्यसैगरी नेकाका १ नम्बर प्रदेशका उम्मेदवार गीता अमात्य र समाजवादीका राजेन्द्र लोहनीजीको उम्मेदवारी फिर्ता गर्नुपर्नेमा त्यसो नभएको देखियो,’ उनले भने, ‘सम्बन्धित दलले तत्काल उहाँहरूको उम्मेदवारी फिर्ताको नोटिस गर्दै गठबन्धनमा इमानदारिता र विश्वसनीयता रहने प्रतिबद्धताको ग्यारेन्टी गरियोस् ।’
निर्वाचन क्षेत्र नं. १ मा दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन क्षेत्र १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका सरोज गिरी र निर्वाचन क्षेत्र १ को २ बाट नरहरि भेटवालले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत टेकराज भुसालले बताए ।
निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा १७ कायम भएका छन् भने प्रदेशसभा क्षेत्र नं. १ को १ मा ७ जना र २ को २ मा ९ जना कायम भएका छन् । निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा र प्रदेशसभा गरी २८ जना कायम भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया