चुनावी मैदानमा दुई गठबन्धनको टक्कर

विदुर खबर २०७९ असोज १२ गते १०:११

नुवाकोट । आगामी मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुईवटा गठबन्धबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले नेतृत्व गरिरहेको सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेतृत्व गर्ने सात दलीय गठबन्धनबीच चुनावी भिडन्त हुने भएको हो ।

Advertisement

राष्ट्रिय रूपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमालेले स्थानीय आवश्यकताका आधारमा विभिन्न साना राजनीतिक दलसँग ‘चुनावी तालमेल’ गर्ने भएपछि चुनावी मैदानमा दुईवटा गठबन्धन देखिने पक्का भएको छ । सत्तामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा नेपाल एक समूहमा आबद्ध छ । त्यस्तै नेकपा एमालेको नेतृत्वमा बन्न लागेको अर्को गठबन्धनमा महन्थ ठाकुरले नेतृत्व गरेको लोसपा, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी र नेपाली कांग्रेस (बीपी) मिल्ने भएका हुन् ।

पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध भएबाहेकका केही साना राजनीतिक पार्टीहरू चुनावी तालमेल गर्न तयार भएपछि एमाले पनि त्यसमा सकारात्मक भएको एमाले नेताहरूको भनाइ छ । एमाले नेता विशाल भट्टराईका अनुसार गठबन्धनका लागि साना दलहरूसँगको छलफल जारी छ । ‘अरू दलका त नाम मात्रै हो’, भट्टराईले भन्नुभयो– ‘खास गरी लोकतान्त्रिक समाजवादी र राप्रपासँगको चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ, निष्कर्षमा पुगेका छैनौं ।’ नेपाली कांग्रेस बीपीलागायत दलहरूका उम्मेदवाहरूसँग अवस्था र आवश्यकताअनुसार सहयोग लेनदेन हुने उहाँको भनाइ छ । ‘राप्रपा र लोसपासँग चुनावी एकता गरेरै जाने मनस्थितिमा हामी छौं’, भट्टराईले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘तालमेलका मापदण्डका विषयमा छलफल चलिहरेको छ । बाँकी दल भनेका नाम मात्रैका दल हुन, तर कहीँ कतै सहयोग आदानप्रदान गर्दा परिणाम आउने ठाउँहरूमा सँगै हुन सकिन्छ भन्ने सम्मको छलफल भएको छ ।’

Advertisement

एमालेसँग चुनावी तालमेल गर्न आफूहरू तयार भएको कुरा राप्रपा र लोसपाका नेताहरूले सार्वजनिक गरिसकेका छन् । उक्त प्रस्तावलाई एमालेले पनि ‘ग्रिन सिग्नल’ दिएर उनीहरूको शक्ति अध्ययन गरिरहेको छ । ती पार्टीसँग एमाले अध्यक्ष केपी ओलीले आफूले दाबी गर्ने क्षेत्र र एमालेलाई सघाउन सक्ने क्षेत्रको शक्तिसहितको प्रस्ताव माग भएको एमालेका नेताहरूले बताए । राप्रपा, लोसपा र सिके राउतले सिट, क्षेत्र र चुनाव जित्ने आधारसमेतको मागसहित ओलीलाई प्रस्ताव बुझाइसकेको लोसपाका एक नेताले बताए । चुनावी सहकार्य गर्ने भन्ने कुरा लगभग टुंगिइसकेको लोसपाका नेता राजेन्द्र महतोले बताउनुभयो ।

लोसपा र राप्रपाले चुनावी तालमेल गरौं भनेर प्रस्ताव राखेपछि एमाले सकारात्मक भएको नेताहरूले बताएका छन् । ठाकुर नेतृत्वको लोसपाले त गत शुक्रबार मात्रै एमालेसँग चुनावी तालमेलका लागि ६ सदस्यीय वार्ता समिति नै गठन गरिसकेको छ । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेर अघि बढेको हो । वार्ता समितिमा वरिष्ठ नेता शरत्सिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल रहेका छन् ।

Advertisement

लोसपाको वार्ता समिति र एमाले नेतृत्वबीच मंगलबार वार्ता गरेर कहाँ कहाँ तालमेल गर्ने भन्नेबारे छलफल गरिने भनिए पनि अहिलेसम्म समय निश्चित नभएको नेताहरूले बताएका छन् । एमालेसँगको चुनावी तालमेलका सम्बन्धमा भएको छलफल निष्कर्ष उन्मुख रहेको राप्रपाले जनाएको छ । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले चुनावी तालमेल हुने भन्ने करिब पक्का भएको तर कहाँ र के कसरी जाने भन्ने निर्णय भइनसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘एक दुई दिनमै गठबन्धन कसरी गर्ने भन्ने विषय टुंगिन्छ अहिले अध्यक्षस्तरीय छलफल चलिरहेको छ ।’
एमालेले क्षेत्रगत रूपमा फरकफरक पार्टीसँग चुनावी तालमेल गर्ने रणनीतिमा छ । लोसपा र जनमत पार्टीसँगको तालमेल मधेस प्रदेशमा केन्द्रित हुनेछ । त्यस्तै, राप्रपासँगको तालमेल झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौं, सिन्धुपाल्चोकलगायतका जिल्लामा हुनेछ । त्यस्तै कमल थापा नेतृत्वको राप्रपा नेपालसँग मकवानपुर, काठमाडौं र हृदयेश त्रिपाठी नेतृत्वको पार्टीसँग नवलपरासी र कपिलवस्तुमा हुने गरी एमालेले रणनीति तय गर्दै गरेको एमालेका एक पदाधिकारीले बताए ।

त्यस्तै, कांग्रेससँग असन्तुष्ट नेता गोविन्दराज जोशी पक्षसँग समेत एमालेले चुनावी तालमेल गर्ने तयारीमा छ । जोशीसँग तनहुँ र बीपी कांग्रेससँग डडेलधुरालगायतका जिल्लामा तालमेल गर्ने विषयमा एमाले सकारात्मक देखिएकाले साना दलहरूलाई पनि चुनावमा राहत हुने देखिन्छ । कांग्रेससहितको पाँच दलीय गठबन्धनले धेरै स्थानमा चुनाव जित्न सकिने बताए पनि पछिल्लो आन्तरिक कलहले उनीहरूको दाबीअनुसारको परिणाम आउने देखिँदैन । सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको संरक्षण, कार्यान्वयन र देशको विकास तथा समृद्धिका लागि आवश्यकता रहेकाले गठबन्धनका उम्मेदवारहरूलाई सहयोग गरेर जिताउनुपर्ने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

गठबन्धनभित्र सिट बाँडफाँटको सकस कायमै रहिरहेका बेला नेपाली कांग्रेसमा संस्थापनइतर समूहले समान अवसर र न्यायका लागि भन्दै पार्टी नेतृत्वविरुद्ध आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेर दबाब दिइरहेको छ । यो विषयलाई एमालेले पर्ख र हेरको रणनीति बनाउने जनाएको छ । समानुपातिक बन्दसूचीदेखि नै असन्तुष्ट बनेको कांग्रेसको कोइराला समूहले विद्रोह गर्ने चेतवानी दिएपछि एमालेले यसलाई अवसरका रूपमा लिएको छ । सत्ता गठबन्धन दलहरूबीचको तिकडमले एमालेलाई निकै फाइदा पुग्ने नेताहरूको आँकलन छ । प्रत्यक्षतर्फका उम्मेदवारको उम्मेदवारी दर्ता असोज २३ गतेलाई तोकिएको छ । सो समयलाई मध्यनजर गर्दै सबै राजनीतिक दलहरू आफ्ना उम्मेदवार तय गर्न आन्तरिक गृहकार्यमा लागेका छन् ।

सत्ता गठबन्धनमा महिनौँदेखि सिट बाँडफाँटका लागि गृहकार्य भए पनि सहमति जुट्न सकेको छैन । गठबन्धनभित्रको असन्तुष्टिलाई समेत मध्यनजर गरेर एमालेले प्रत्यक्षतर्फका आफ्ना उम्मेदवार मनोनयनको अन्तिम समयसम्ममा टुंगो लगाउने केन्द्रीय सदस्य विशाल भट्टराईले बताउनुभयो । एमालेका एक पदाधिकारीका अनुसार गठबन्धनले सिट बाँडफाँट गरेपछि मात्रै एमालेले उम्मेदवार टुंग्याउने अवस्थामा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया