माओवादीलाई नुवाकोट क्षेत्र नम्बर १ नदिए विद्रोह हुन्छ: तामाङ

विदुर खबर २०७९ भदौ २८ गते १२:१०

नुवाकोट । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतले २७ हजार ९२० मत ल्याए ।

Advertisement

मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादीका तामाङ चौथोपटक दोस्रो जित निकाल्न मैदानमा आउने तयारीमा छन् । गठबन्धन हुँदा पहिले जितेको ठाउँमा पुरानै पार्टीले पाउने नीतिअनुसार उनले दाबी गरिरहेका छन् ।

सो क्षेत्रमा गठबन्धन हुँदा सहज रूपमा जितिने हिसाब बोकेर कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पनि दाबी गरिरहेका छन् । पार्टीभित्र अरुलाई व्यवस्थापन गरेर नुवाकोट १ मा गठबन्धनको तर्फबाट आफू उम्मेदवार बन्न महत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेका थिए ।

Advertisement

नुवाकोट १ मा शिवपुरी, ककनी, पञ्चकन्या, तादी, सूर्यगढी र दुप्चेश्वर गाउँपालिका पर्छन् । शिवपुरी, सूर्यगढी र तादीमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको छ । जनघनत्व बढी रहेको ककनी, पञ्चकन्या, शिवपुरीलगायतका स्थानीय तह माओवादीले अध्यक्ष/उपाध्यक्ष नै जितेको छ । ४५ वडामध्येमा कांग्रेस र माओवादीले बराबरी वडा जितेको छ । माओवादीले १८, कांग्रेसले १८ र बाँकी नौवटा वडामा एमालेले जितेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार ९ सय ६२ मत प्राप्त गरेका छन् । २३ हजार २ सय मतसहित नेकपा माओवादी केन्द्र दोस्रो स्थानमा छ भने १८ हजार २ सय ६७ मतसहित नेकपा एमाले तेस्रो स्थानमा छ ।

Advertisement

राप्रपाका वडाध्यक्षका उम्मेदवारले ४ हजार ७८ मत प्राप्त गरेका छन् भने गठबन्धनमा आबद्ध दल एकीकृत समाजवादीले जम्मा २ हजार २ सय ४५ मत प्राप्त गरेका थिए ।

कांग्रेसका प्रवक्ता महतले सक्रियता बढाइरहँदा माओवादीका तामाङले भने स्वाभाविक रूपमा माओवादीको भागमा सो क्षेत्र नपरे विद्रोह हुने चेतावनी दिएका छन् ।

निर्वाचन आउँदैछ, आफ्नो तयारी कसरी गरिरहनुभएको छ ?

चुनावको तयारी छैन भनौँ भने छ, छ भनौँ भने छैन । पार्टीको तर्फबाट पालिका निर्वाचन समन्वय समति, जिल्लाहुँदै प्रदेश कार्यालयमा सिफारिस भएर आइपुगेको छ । जिल्लाबाट आएका सिफारिसहरू जाँचबुझको काम गर्दैछौँ । केन्द्रीयस्तरमा निर्वाचन क्षेत्र बाँडफाँट अघि बढेको छ । कार्यदलको प्रतिवेदनअनुसार हाई कमाण्डले निष्कर्ष दिइसकेपछि प्रदेश कार्यालयमा जम्मा भएका नामावलीहरू कुन निर्वाचन क्षेत्रमा कसलाई छान्दा उपयुक्त छ भनेर टुंग्याउँछौँ ।

नुवाकोट १ मा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि दाबेदारी पेस गरिरहनुभएको छ । तपाईं पनि ०७४ को विजेता हुनुहुन्छ  । छाड्दिनँ भन्दै आउनुभएको छ । गठबन्धनबाट उम्मेदवार को हो ?

जनतामा पुग्दा के पाउनुभयो भन्ने प्रश्न गर्नुपर्ने अवस्था नै छैन । पहिला पनि जितेको ठाउँ हो । गठबन्धनमा समझदारी पनि जसले जहाँ जितेको हो, त्यही ठाउँमा त्यही दललाई दिने भन्ने कुरा नीतिगत हिसाब स्थापित भइसकेको छ । नुवाकोटमा माओवादी केन्द्रको शक्ति र संगठन बलियो छ । यी दुई कारणले त्यसमा हाम्रो अग्राधिकार कायम हुनुपर्छ । त्योभन्दा दायाँबायाँ केही हुँदैन । दायाँबायाँ हुने स्थिति आयो भने जसरी स्थानीय तहको निर्वाचनमा उहाँहरूको कारणले गर्दा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न बाध्य भएका थियौँ । त्यसको परिणाम उहाँहरूलाई घाटा र हामीलाई फाइदा भएको थियो । आउँदो निर्वाचनमा पनि उहाँहरूले आफ्नो अधिकार नपुग्ने ठाउँमा समेत जर्बजस्ती दाबी गर्ने र आफूले नपाएको स्थितिमा कुरा अघि बढाउनुहुन्छ भने त्यो ठाउँमा हामी मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न बाध्य हुनुपर्ने स्थिति आउँछ । सकभर त्यो अवस्था नआऊला भन्नेमा म विश्वस्त छु ।

कांग्रेस प्रवक्ता महतसँग फोन संवाद र भेट भएको थियो । के के भयो कुराकानी ?

फोनमा उहाँले भेट्न प्रस्ताव राख्नुभयो । भेटमा निर्वाचन क्षेत्रको सन्दर्भमा कुरा राख्नुभयो । अहिलेसम्म चुनावमा उठेर जित्ने अवसर पाएको छैन । अग्राधिकारको हिसाबले तपाईंहरूको हुने कुरा निश्चित हुँदाहुँदै पनि मलाई त्यो क्षेत्र छोडिदिनुपर्‍यो, तपाईंलाई अरु नै तरिकाबाट प्रतिनिधित्व गर्ने सल्लाह गरौँ भन्नुभयो । उहाँले प्रस्ताव गर्नु पनि अस्वाभाविक होइन । छलफल गर्दा नपाउने कुरा पनि पाउन सकिन्छ भने किन कोसिस नगर्ने भनेर नै उहाँले प्रयास गर्नुभएको हो । तर, जिल्लाको वस्तुगत अवस्था हेर्दा जनताको चाहना मतदाताको अभिव्यक्ति र निर्वाचन क्षेत्रमा विगतमा हाम्रो उपस्थिति र लगानी हेर्दा मिल्नेजस्तो देखिँदैन । उहाँले जिल्लामा पार्टीको तर्फबाट पनि धेरै खट्नुभएको ठाउँ होइन । जनताको समस्यासँग जोडिएर उठबस गर्ने हिसाबले पनि उहाँको उपस्थिति पातलो रहेको ठाउँ हो त्यो । त्यसकारण पनि सम्भव रहने कुरा भएन ।

माओवादीबाट यसपालि पनि त्यस ठाउँबाट टिकट पाउन सक्ने अवस्था रहेन भने कुनै न कुनै हिसाबले विद्रोह हुने अवस्था देखिन्छ । माओवादी नेता–कार्यकर्ताहरूले कुनै पनि हिसाबले छोड्ने पक्षमा छैनन् । तपाईंका लागि टिकट दिन्छ पार्टीले भने हामी सहयोग गर्न तयार छौँ । टिकट दिँदैनन् भने गठबन्धनमा रहेका दलहरूले आफैँले बनाएको नीति पालना गरे पनि हाम्रा लागि सैह्य हुँदैन । गठबन्धनमै पहिले जितेकाले नपाउने भन्ने नीति थियो भने हाम्रो जोडबल गर्ने अवस्था हुँदैन । व्यवहारमा हामीले पाउने अवस्था रहेन भने विद्रोह हुने तल्लो तहका साथीहरूको भनाइ रहेकाले त्यो सम्भव छैन । व्यक्तिगत रूपमा तपाईं र मेरो कुनै कटुता छैन । हामी एकै पालिकाका हौँ । उहाँ पञ्चकन्या २ नं वडाको हुनुहुन्छ, म ३ नं वडाको । राजनीतिक सवालमा पार्टीले बनाएको नीतिअनुसार चल्न सकेनौँ भने कसरी सम्भव होला र भनेर मैले कुरा गरेको छु ।

कार्यकर्ता देखाएर छोड्दिनँ भन्नुभयो कि प्रस्ट रूपमा म छोड्दिनँ भन्ने सन्देश दिनुभयो ?

मैले पनि छोड्ने कुरा हुँदैन, पार्टीले पनि छोड्ने कुरा हुँदैन । पार्टी र मैले छोडे पनि कार्यकर्ता तहबाट विद्रोह हुन्छ । कार्यकर्ताले छोड्ने अवस्था हुँदैन ।

साविकको पञ्चकन्या गाविसको बासिन्दा तपाईं र साविकको कविलास गाविसका बासिन्दा डा. महत सँधियार पनि हुुनुुहुन्छ । साथीले पनि गरोस् भन्ने कुरा आऊला नि ? कि राजनीतिक कुरा हो, पछि हट्दिनँ भन्ने कुरा हो ?

राजनीतिलाई भावनात्मक बनाएर हुँदैन । त्यो वस्तुनिष्ठ र सिद्धान्तमा आधारित हुनुपर्छ । नीतिमा टेक्नुपर्छ । व्यावहारिक हिसाब उचित हुनुपर्छ । कुनै पनि हिसाबले भावनाको कुरा गरेर मात्र हुँदैन । भावनाको हिसाबले मैले कुनै महत्त्वाकांक्षा राखेको होइन । हिजो राजनीतिमा प्रवेश गर्दा माओवादीको यो तहको नेता बन्छु, सांसद बन्छु, मन्त्री बन्छु भन्ने उद्देश्य राखेर आएको होइन । पार्टीको इमानदार कार्यकर्ता भएकाले पार्टीसम्बद्ध गठबन्धनले बनाएको नीतिमा आधारित भएर मैले चुनाव लड्नैपर्ने हुन्छ भन्ने कुरामा म प्रस्ट छु । हामी एकले अर्कालाई असहयोग गर्नुपर्ने र टाढा हुनुपर्ने अवस्था होइन ।

महत पार्टी सभापति शेरबहादुर देउवाको विश्वासपात्र हुनुहुन्छ । उहाँले भरमग्दुर प्रयास गरिरहनुभएको छ । देउवा र प्रचण्डबीच सहमति भएर हाई कमाण्डबाट ब्याक हुनुपर्ने अवस्था आयो भने कार्यकर्ताको भनाइ त लागू नहोला ? 

पहिलो कुरा, देउवाजीको मात्र कुरा र कांग्रेसको मात्र सवाल भएन । नेतृत्वको हिसाबले देउवा र प्रचण्डको कुरा पनि हो । पार्टीगत हिसाबले कांग्रेस र माओवादीको कुरा हो । वस्तुगत अवस्था देउवाजीलाई पनि थाहा नभएको भन्ने नहुनुपर्ने हो । विगतमा उहाँको घमण्डले गर्दा पाइसकेका गाउँपालिकाहरू पनि उहाँले गुमाउनुपर्‍यो ।

स्थानीय चुनावमा केन्द्रमा बनेको नीतिका आधारमा लिनेदिने कुरा भएको थियो भने नुवाकोट १ मा माओवादीले भनेको दुईवटा गाउँपालिकाको अध्यक्ष मात्र हो । अध्यक्ष पाउनेले उपाध्यक्ष छोड्ने नीतिमा सातवटा उपाध्यक्ष पाउँथ्यो । तर, उहाँकै कारणले गठबन्धन भएन । मैत्रीपूर्ण प्रतिस्पर्धामा माओवादीले २ वटाबाट ३ वटा पालिका अध्यक्ष बनायो । सातवटामा पाँचवटा उपाध्यक्ष जितेको छ । उहाँहरूले चारवटा गाउँपालिकाको अध्यक्ष र दुईवटा पालिकाको उपाध्यक्ष मात्रै जित्न बाध्य हुनुभएको छ ।

कमरेड प्रचण्डलाई पनि नुवाकोटका बारेमा थाहा नहुने कुरै भएन । जिल्लाका नेतृत्व तहबाटै गएर वस्तुस्थिति तथा कार्यकर्ताको भावना र मतहरू पनि राख्यौँ । प्रचण्ड कमरेडले पनि सजिलैसँग छोड्नुहुन्छ भन्ने मलाई लाग्दैन । उहाँ कांग्रेसको प्रवक्ता म पनि माओवादीको पोलिटब्युरो सदस्य छु । जितेरै आएको छु संगठनमा पनि । त्यही ढंगले काम गरिरहेको छु । परिणाम पनि देखाएर आएको छु । एक जनाको चाहना र प्रेसरले मात्र टिकट पक्का हुने देखिँदैन । प्रचण्ड कमरेडले पनि सजिलै हुन्छ भन्ने अवस्था देखिँदैन ।

देउवाले जे भन्छन्, महतले मान्ने र प्रचण्डले जे भने पनि तपाईंले मान्ने अवस्था रहेको राजनीतिक बुझाइ छ । जे गर्छन्, माथिबाटै गर्छन् भन्ने पनि छ नि ?

कतिपय राजनीतिक नेतृत्व तहमा कुरा भएको पनि मैले बुझेको छु । त्यहाँको वस्तुस्थितिविपरीत निर्णय गर्दा त्यसको परिणाम राम्रो हुँदैन भन्ने पनि सबैले बुझेका छन् । जे हुनुपर्छ, त्यही हुन्छ ।

गठबन्धनको भागमा परेन भने कार्यकर्ता तहबाट विद्रोह हुन्छ भन्नुभयो । तपाईंको तर्फबाट के हुन्छ ?

मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न बाध्य हुनेछौँ । दोस्रो विकल्पै छैन ।

०६४, ०७० मा हार्नुभयो, ७४ मा जित्नुुभयो । तपाईंले लगानी गरेँ भन्नुभएको त्यही होला । विद्रोह गरेपछि जित्न गाह्रो होला नि ?

त्रिपक्षीय प्रतिस्पर्धा गर्दा माओवादीले जित्छ । जनताले कसलाई चाहेका छन् । भूगोलले कसलाई चाहेको छ भन्ने कुरा प्रस्ट भनिसकेँ । अर्को, माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा भएको मत हेर्ने हो भने बराबरजस्तै छ । पालिका उपाध्यक्षले पाएको मतलाई अध्यक्षले पाएको मत मान्ने हो भने खासै फरक छैन । वडा पनि १८–१८ वटा हो । भूगोलको माग मेरै भएकाले उहाँले गणना गर्नुभएको मत उहाँलाई नगई मलाई नै आउँछ । मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दा माओवादीको जित हुने हो । उहाँले दाबी गर्दा पनि त्यही भन्नुहुन्छ होला । उहाँले जित्नुभयो भने मैले उहाँलाई माला लगाइदिऊँला, मैले जिते मलाई माला लगाइदिनुहोला ।

पहिले तपाईंको सक्रियता माओवादी प्रभाव क्षेत्रमा थियो । निर्वाचनको मुखमा सक्रियता अन्य क्षेत्रमा पनि छ । चुनावको मुखमा मतदाता फकाउन दौडधुप छ ?

निर्वाचन केन्द्रित भएर होइन, समय नभएर हो । जहाँ पार्टी कमजोर छ, त्यहाँ संगठन बनाउनुपर्छ । पार्टीलाई बलियो बनाउनुपर्छ भनेर सोच र योजनाका साथ हिजो कमजोर भएको ठाउँमा केन्द्रित छौँ ।

जर्बजस्ती गर्न खोजिए नुवाकोट १ मा विद्रोह हुन्छ भन्ने म्यासेज कांग्रेसलाई दिनुभएको छ । मैत्रीपूर्ण प्रतिस्पर्धा भनेको के हो ? 

जबर्जस्ती गर्न खोजिए विद्रोह नै हो । सकभर विद्रोह गर्नुपर्ने अवस्था नआऊला ।

शिलापत्रको सहयोगमा

प्रतिक्रिया