माओवादीलाई नुवाकोट क्षेत्र नम्बर १ नदिए विद्रोह हुन्छ: तामाङ
नुवाकोट । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतले २७ हजार ९२० मत ल्याए ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादीका तामाङ चौथोपटक दोस्रो जित निकाल्न मैदानमा आउने तयारीमा छन् । गठबन्धन हुँदा पहिले जितेको ठाउँमा पुरानै पार्टीले पाउने नीतिअनुसार उनले दाबी गरिरहेका छन् ।
सो क्षेत्रमा गठबन्धन हुँदा सहज रूपमा जितिने हिसाब बोकेर कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पनि दाबी गरिरहेका छन् । पार्टीभित्र अरुलाई व्यवस्थापन गरेर नुवाकोट १ मा गठबन्धनको तर्फबाट आफू उम्मेदवार बन्न महत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेका थिए ।
नुवाकोट १ मा शिवपुरी, ककनी, पञ्चकन्या, तादी, सूर्यगढी र दुप्चेश्वर गाउँपालिका पर्छन् । शिवपुरी, सूर्यगढी र तादीमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको छ । जनघनत्व बढी रहेको ककनी, पञ्चकन्या, शिवपुरीलगायतका स्थानीय तह माओवादीले अध्यक्ष/उपाध्यक्ष नै जितेको छ । ४५ वडामध्येमा कांग्रेस र माओवादीले बराबरी वडा जितेको छ । माओवादीले १८, कांग्रेसले १८ र बाँकी नौवटा वडामा एमालेले जितेको छ ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार ९ सय ६२ मत प्राप्त गरेका छन् । २३ हजार २ सय मतसहित नेकपा माओवादी केन्द्र दोस्रो स्थानमा छ भने १८ हजार २ सय ६७ मतसहित नेकपा एमाले तेस्रो स्थानमा छ ।
राप्रपाका वडाध्यक्षका उम्मेदवारले ४ हजार ७८ मत प्राप्त गरेका छन् भने गठबन्धनमा आबद्ध दल एकीकृत समाजवादीले जम्मा २ हजार २ सय ४५ मत प्राप्त गरेका थिए ।
कांग्रेसका प्रवक्ता महतले सक्रियता बढाइरहँदा माओवादीका तामाङले भने स्वाभाविक रूपमा माओवादीको भागमा सो क्षेत्र नपरे विद्रोह हुने चेतावनी दिएका छन् ।
निर्वाचन आउँदैछ, आफ्नो तयारी कसरी गरिरहनुभएको छ ?
चुनावको तयारी छैन भनौँ भने छ, छ भनौँ भने छैन । पार्टीको तर्फबाट पालिका निर्वाचन समन्वय समति, जिल्लाहुँदै प्रदेश कार्यालयमा सिफारिस भएर आइपुगेको छ । जिल्लाबाट आएका सिफारिसहरू जाँचबुझको काम गर्दैछौँ । केन्द्रीयस्तरमा निर्वाचन क्षेत्र बाँडफाँट अघि बढेको छ । कार्यदलको प्रतिवेदनअनुसार हाई कमाण्डले निष्कर्ष दिइसकेपछि प्रदेश कार्यालयमा जम्मा भएका नामावलीहरू कुन निर्वाचन क्षेत्रमा कसलाई छान्दा उपयुक्त छ भनेर टुंग्याउँछौँ ।
नुवाकोट १ मा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि दाबेदारी पेस गरिरहनुभएको छ । तपाईं पनि ०७४ को विजेता हुनुहुन्छ । छाड्दिनँ भन्दै आउनुभएको छ । गठबन्धनबाट उम्मेदवार को हो ?
जनतामा पुग्दा के पाउनुभयो भन्ने प्रश्न गर्नुपर्ने अवस्था नै छैन । पहिला पनि जितेको ठाउँ हो । गठबन्धनमा समझदारी पनि जसले जहाँ जितेको हो, त्यही ठाउँमा त्यही दललाई दिने भन्ने कुरा नीतिगत हिसाब स्थापित भइसकेको छ । नुवाकोटमा माओवादी केन्द्रको शक्ति र संगठन बलियो छ । यी दुई कारणले त्यसमा हाम्रो अग्राधिकार कायम हुनुपर्छ । त्योभन्दा दायाँबायाँ केही हुँदैन । दायाँबायाँ हुने स्थिति आयो भने जसरी स्थानीय तहको निर्वाचनमा उहाँहरूको कारणले गर्दा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न बाध्य भएका थियौँ । त्यसको परिणाम उहाँहरूलाई घाटा र हामीलाई फाइदा भएको थियो । आउँदो निर्वाचनमा पनि उहाँहरूले आफ्नो अधिकार नपुग्ने ठाउँमा समेत जर्बजस्ती दाबी गर्ने र आफूले नपाएको स्थितिमा कुरा अघि बढाउनुहुन्छ भने त्यो ठाउँमा हामी मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न बाध्य हुनुपर्ने स्थिति आउँछ । सकभर त्यो अवस्था नआऊला भन्नेमा म विश्वस्त छु ।
कांग्रेस प्रवक्ता महतसँग फोन संवाद र भेट भएको थियो । के के भयो कुराकानी ?
फोनमा उहाँले भेट्न प्रस्ताव राख्नुभयो । भेटमा निर्वाचन क्षेत्रको सन्दर्भमा कुरा राख्नुभयो । अहिलेसम्म चुनावमा उठेर जित्ने अवसर पाएको छैन । अग्राधिकारको हिसाबले तपाईंहरूको हुने कुरा निश्चित हुँदाहुँदै पनि मलाई त्यो क्षेत्र छोडिदिनुपर्यो, तपाईंलाई अरु नै तरिकाबाट प्रतिनिधित्व गर्ने सल्लाह गरौँ भन्नुभयो । उहाँले प्रस्ताव गर्नु पनि अस्वाभाविक होइन । छलफल गर्दा नपाउने कुरा पनि पाउन सकिन्छ भने किन कोसिस नगर्ने भनेर नै उहाँले प्रयास गर्नुभएको हो । तर, जिल्लाको वस्तुगत अवस्था हेर्दा जनताको चाहना मतदाताको अभिव्यक्ति र निर्वाचन क्षेत्रमा विगतमा हाम्रो उपस्थिति र लगानी हेर्दा मिल्नेजस्तो देखिँदैन । उहाँले जिल्लामा पार्टीको तर्फबाट पनि धेरै खट्नुभएको ठाउँ होइन । जनताको समस्यासँग जोडिएर उठबस गर्ने हिसाबले पनि उहाँको उपस्थिति पातलो रहेको ठाउँ हो त्यो । त्यसकारण पनि सम्भव रहने कुरा भएन ।
माओवादीबाट यसपालि पनि त्यस ठाउँबाट टिकट पाउन सक्ने अवस्था रहेन भने कुनै न कुनै हिसाबले विद्रोह हुने अवस्था देखिन्छ । माओवादी नेता–कार्यकर्ताहरूले कुनै पनि हिसाबले छोड्ने पक्षमा छैनन् । तपाईंका लागि टिकट दिन्छ पार्टीले भने हामी सहयोग गर्न तयार छौँ । टिकट दिँदैनन् भने गठबन्धनमा रहेका दलहरूले आफैँले बनाएको नीति पालना गरे पनि हाम्रा लागि सैह्य हुँदैन । गठबन्धनमै पहिले जितेकाले नपाउने भन्ने नीति थियो भने हाम्रो जोडबल गर्ने अवस्था हुँदैन । व्यवहारमा हामीले पाउने अवस्था रहेन भने विद्रोह हुने तल्लो तहका साथीहरूको भनाइ रहेकाले त्यो सम्भव छैन । व्यक्तिगत रूपमा तपाईं र मेरो कुनै कटुता छैन । हामी एकै पालिकाका हौँ । उहाँ पञ्चकन्या २ नं वडाको हुनुहुन्छ, म ३ नं वडाको । राजनीतिक सवालमा पार्टीले बनाएको नीतिअनुसार चल्न सकेनौँ भने कसरी सम्भव होला र भनेर मैले कुरा गरेको छु ।
कार्यकर्ता देखाएर छोड्दिनँ भन्नुभयो कि प्रस्ट रूपमा म छोड्दिनँ भन्ने सन्देश दिनुभयो ?
मैले पनि छोड्ने कुरा हुँदैन, पार्टीले पनि छोड्ने कुरा हुँदैन । पार्टी र मैले छोडे पनि कार्यकर्ता तहबाट विद्रोह हुन्छ । कार्यकर्ताले छोड्ने अवस्था हुँदैन ।
साविकको पञ्चकन्या गाविसको बासिन्दा तपाईं र साविकको कविलास गाविसका बासिन्दा डा. महत सँधियार पनि हुुनुुहुन्छ । साथीले पनि गरोस् भन्ने कुरा आऊला नि ? कि राजनीतिक कुरा हो, पछि हट्दिनँ भन्ने कुरा हो ?
राजनीतिलाई भावनात्मक बनाएर हुँदैन । त्यो वस्तुनिष्ठ र सिद्धान्तमा आधारित हुनुपर्छ । नीतिमा टेक्नुपर्छ । व्यावहारिक हिसाब उचित हुनुपर्छ । कुनै पनि हिसाबले भावनाको कुरा गरेर मात्र हुँदैन । भावनाको हिसाबले मैले कुनै महत्त्वाकांक्षा राखेको होइन । हिजो राजनीतिमा प्रवेश गर्दा माओवादीको यो तहको नेता बन्छु, सांसद बन्छु, मन्त्री बन्छु भन्ने उद्देश्य राखेर आएको होइन । पार्टीको इमानदार कार्यकर्ता भएकाले पार्टीसम्बद्ध गठबन्धनले बनाएको नीतिमा आधारित भएर मैले चुनाव लड्नैपर्ने हुन्छ भन्ने कुरामा म प्रस्ट छु । हामी एकले अर्कालाई असहयोग गर्नुपर्ने र टाढा हुनुपर्ने अवस्था होइन ।
महत पार्टी सभापति शेरबहादुर देउवाको विश्वासपात्र हुनुहुन्छ । उहाँले भरमग्दुर प्रयास गरिरहनुभएको छ । देउवा र प्रचण्डबीच सहमति भएर हाई कमाण्डबाट ब्याक हुनुपर्ने अवस्था आयो भने कार्यकर्ताको भनाइ त लागू नहोला ?
पहिलो कुरा, देउवाजीको मात्र कुरा र कांग्रेसको मात्र सवाल भएन । नेतृत्वको हिसाबले देउवा र प्रचण्डको कुरा पनि हो । पार्टीगत हिसाबले कांग्रेस र माओवादीको कुरा हो । वस्तुगत अवस्था देउवाजीलाई पनि थाहा नभएको भन्ने नहुनुपर्ने हो । विगतमा उहाँको घमण्डले गर्दा पाइसकेका गाउँपालिकाहरू पनि उहाँले गुमाउनुपर्यो ।
स्थानीय चुनावमा केन्द्रमा बनेको नीतिका आधारमा लिनेदिने कुरा भएको थियो भने नुवाकोट १ मा माओवादीले भनेको दुईवटा गाउँपालिकाको अध्यक्ष मात्र हो । अध्यक्ष पाउनेले उपाध्यक्ष छोड्ने नीतिमा सातवटा उपाध्यक्ष पाउँथ्यो । तर, उहाँकै कारणले गठबन्धन भएन । मैत्रीपूर्ण प्रतिस्पर्धामा माओवादीले २ वटाबाट ३ वटा पालिका अध्यक्ष बनायो । सातवटामा पाँचवटा उपाध्यक्ष जितेको छ । उहाँहरूले चारवटा गाउँपालिकाको अध्यक्ष र दुईवटा पालिकाको उपाध्यक्ष मात्रै जित्न बाध्य हुनुभएको छ ।
कमरेड प्रचण्डलाई पनि नुवाकोटका बारेमा थाहा नहुने कुरै भएन । जिल्लाका नेतृत्व तहबाटै गएर वस्तुस्थिति तथा कार्यकर्ताको भावना र मतहरू पनि राख्यौँ । प्रचण्ड कमरेडले पनि सजिलैसँग छोड्नुहुन्छ भन्ने मलाई लाग्दैन । उहाँ कांग्रेसको प्रवक्ता म पनि माओवादीको पोलिटब्युरो सदस्य छु । जितेरै आएको छु संगठनमा पनि । त्यही ढंगले काम गरिरहेको छु । परिणाम पनि देखाएर आएको छु । एक जनाको चाहना र प्रेसरले मात्र टिकट पक्का हुने देखिँदैन । प्रचण्ड कमरेडले पनि सजिलै हुन्छ भन्ने अवस्था देखिँदैन ।
देउवाले जे भन्छन्, महतले मान्ने र प्रचण्डले जे भने पनि तपाईंले मान्ने अवस्था रहेको राजनीतिक बुझाइ छ । जे गर्छन्, माथिबाटै गर्छन् भन्ने पनि छ नि ?
कतिपय राजनीतिक नेतृत्व तहमा कुरा भएको पनि मैले बुझेको छु । त्यहाँको वस्तुस्थितिविपरीत निर्णय गर्दा त्यसको परिणाम राम्रो हुँदैन भन्ने पनि सबैले बुझेका छन् । जे हुनुपर्छ, त्यही हुन्छ ।
गठबन्धनको भागमा परेन भने कार्यकर्ता तहबाट विद्रोह हुन्छ भन्नुभयो । तपाईंको तर्फबाट के हुन्छ ?
मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न बाध्य हुनेछौँ । दोस्रो विकल्पै छैन ।
०६४, ०७० मा हार्नुभयो, ७४ मा जित्नुुभयो । तपाईंले लगानी गरेँ भन्नुभएको त्यही होला । विद्रोह गरेपछि जित्न गाह्रो होला नि ?
त्रिपक्षीय प्रतिस्पर्धा गर्दा माओवादीले जित्छ । जनताले कसलाई चाहेका छन् । भूगोलले कसलाई चाहेको छ भन्ने कुरा प्रस्ट भनिसकेँ । अर्को, माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा भएको मत हेर्ने हो भने बराबरजस्तै छ । पालिका उपाध्यक्षले पाएको मतलाई अध्यक्षले पाएको मत मान्ने हो भने खासै फरक छैन । वडा पनि १८–१८ वटा हो । भूगोलको माग मेरै भएकाले उहाँले गणना गर्नुभएको मत उहाँलाई नगई मलाई नै आउँछ । मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दा माओवादीको जित हुने हो । उहाँले दाबी गर्दा पनि त्यही भन्नुहुन्छ होला । उहाँले जित्नुभयो भने मैले उहाँलाई माला लगाइदिऊँला, मैले जिते मलाई माला लगाइदिनुहोला ।
पहिले तपाईंको सक्रियता माओवादी प्रभाव क्षेत्रमा थियो । निर्वाचनको मुखमा सक्रियता अन्य क्षेत्रमा पनि छ । चुनावको मुखमा मतदाता फकाउन दौडधुप छ ?
निर्वाचन केन्द्रित भएर होइन, समय नभएर हो । जहाँ पार्टी कमजोर छ, त्यहाँ संगठन बनाउनुपर्छ । पार्टीलाई बलियो बनाउनुपर्छ भनेर सोच र योजनाका साथ हिजो कमजोर भएको ठाउँमा केन्द्रित छौँ ।
जर्बजस्ती गर्न खोजिए नुवाकोट १ मा विद्रोह हुन्छ भन्ने म्यासेज कांग्रेसलाई दिनुभएको छ । मैत्रीपूर्ण प्रतिस्पर्धा भनेको के हो ?
जबर्जस्ती गर्न खोजिए विद्रोह नै हो । सकभर विद्रोह गर्नुपर्ने अवस्था नआऊला ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया