बेलकोटगढी नगरपालिकाका भूकम्प पीडितले अब सहजै तेस्रो किस्ता पाउने

विदुर खबर २०७५ भदौ १९ गते ८:४१

बेलकोटगढी नुवाकोट,  भूकम्प पीडितको गुनासो सम्बोधन गर्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिकाले तेस्रो किस्ताको वितरणलाई केही सहज बनाएको छ । भूकम्प पीडितको समस्या समाधानमा वेवास्त गरेको आरोप लाग्न थालेपछि नगरपालिकाले तेस्रो किस्ताको वितरणलाई केही खुकुलो र सहज बनाएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका लागि शहरी विकास तथा भवन डिभिजन कार्यालयले तयार गरेको १९ वटा नक्सा अनुसार तयार भएका घरहरुले नक्सापास बिना नै तेस्रो किस्ता वितरणको बाटो खोलेको बेलकोटगढी नगरपालिकका उपमेयर कविता ढुंगानाले बताउनुभएको छ ।
नगरपालिकाले सुरुमै यस्तो व्यवस्था गर्न खोजे पनि शहरी विकास तथा भवन डिभिजन कार्यालयले नगरपालिका भित्र नक्सापास अनिवार्य गर्नुपर्ने भन्ने शर्त राखेका कारण तेस्रो किस्ता वितरणमा केही ढिलाई र असहजता देखिएको ढुंगानाले बताउनुभएको छ । उहाँले अब भूकम्प पीडितहरुले दोस्रो किस्ता जस्तै गरी सरल प्रक्रियाबाट तेस्रो किस्ताको रकम पाउने जानकारी दिनुभएको छ ।
नगरपालिकाले सहज रुपमा नक्सा पास गराउन पनि नसक्ने र पीडितले राहतका लागि लामो समय कुर्नुपर्न अवस्थाको अन्त्य गर्न यो निर्णय सहयोगी हुने बुझिएको छ । अब भूकम्प पीडितले वडा कार्यालय मार्फत नै एउटा कवुलित नामा भरी हस्ताक्षर गरेर तेस्रो किस्ताको रकम पाउने भएका छ ।

Advertisement

प्रतिक्रिया